दक्षिण अफ्रिकामा नेदरल्यान्ड्ससँग दोस्रो अभ्यास खेल खेल्दै नेपाल

फाइल तस्बिर

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले शनिबार दक्षिण अफ्रिकामा नेदरल्यान्ड्ससँग दोस्रो अभ्यास खेल खेल्दै छ।

यसअघि पहिलो अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको नेपाल दोस्रो खेलमा टेस्ट राष्ट्रको समेत अनुभव बटुलेको नेदरल्यान्डविरुद्ध जित निकाल्दै आत्मविश्वासी बन्ने प्रयासमा हुने छ।

नेपाल एक सातापछि जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटमा सहभागितानका लागि दक्षिण अफ्रिकाबाट जिम्बाब्वे पुग्ने कार्यतालिका रहेको छ। नेपाल, ओमान, नेदरल्यान्ड्स र स्कटल्यान्डले दक्षिण अफ्रिकामा आफ्नो अन्तिम तयारी गरेका छन्।

नेपाल पहिलो अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो।

पहिलो अभ्यास खेलका दौरान प्रशिक्षक मोन्टी देशाई टिमसँग नरहे पनि आजको खेलमा भने उनी टिमसँगै रहने छन्। नेपाल आइसिसी विश्वकप लिग २ मा शीर्ष तीनमा रहँदै विश्वकप छनोटमा स्थान बनाएको थियो।

नेदरल्यान्ड्स १२ टेस्ट टोलीसँगै आइसिसी विश्वकप सुपर लिगमा शीर्ष आठमा पर्न नसकेपछि विश्वकप छनोट खेल्न लागेको हो। नेदरल्यान्ड्स आफ्ना प्रमुख केही खेलाडीबिना मैदानमा उत्रिँदा नेपाल बलियो आत्मविश्वाससहित मैदानमा फर्किने सोचमा रहेको छ।

नेपालको यो दक्षिण अफ्रिकामा अन्तिम अभ्यास खेल हो। त्यसपछि नेपाल जिम्बावे प्रस्थान गर्ने छ। नेपालले जेठ ३० गते युएई र जेठ ३२ गते ओमानसँग वार्मअप खेल खेल्ने कार्यतालिका रहेको छ।

प्रतियोगिता समूह ‘ए’ मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन्। समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन्। शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन्। सुपर सिक्सबाट शीर्ष २ मा रहने टिमले एकदिवसीय विश्वकपमा स्थान पक्का गर्ने छन्।

जेठ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्