पहाडमा बेपत्ता भएकी १० वर्षीया अफगान बालिका फेला परिन्

अमेरिकाको सियाटलमा बेपत्ता भएकी १० वर्षीया अफगान शरणार्थी बालिकाको उद्धार गरिएको छ।

गत आइतबार परिवारसँग पहाड गएको बेला ती बालिका परिवारबाट अलग भएकी थिइन्। वासिङ्टन राज्यको उद्धार टोलीले उद्धार अभियान सुरु गरेपछि उनी फेला परेकी हुन्।

अधिकारीहरूका अनुसार बालिका तीन डिग्रीसम्मको चिसो मौसममा आफूलाई न्यानो राख्न दुई रुखको बीचमा सुतेकी थिइन्। उनी दुई वर्षअघि मात्र अफगानिस्तानबाट अमेरिका आएकी थिइन्।

प्रहरी अधिकारीले ती बालिका स्मार्ट र साहसी रहेको बताएका छन्। उनको टाउकोमा सामान्य घाउबाहेक अरु कुनै चोटपटक देखिएको छैन।

उद्धार कार्यमा १०० जनाभन्दा बढी थिए। अभियानमा दुईवटा हेलिकप्टर र ग्राउण्ड म्यापिङ प्रविधिको प्रयोग गरिएको थियो।

सोमबार दिउँसो ३ बजे दुई खोज टोलीले बालिकालाई फेला पारेको हो।

जेठ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्