नक्साल भगवती अद्भूत शिल्पकारको चौंथो तथा अन्तिम कलाकारिता

पलाञ्चोक भगवतीको कलात्मक आकर्षक मूर्ति बनेपछि फेरि त्यस्तै सुन्दर मूर्ति नबनोस् भत्रे हेतुले तत्कालीन लिच्छवी महारानी राज्यवती (नवसागर) को आदेशअनुसार दरबारिया भारदारहरूबाट कलाकारको दायाँ हातको बुढी औँला र चोरी औँला काटिदिए। ती कलाकारले औँला काटिए पनि आफ्नो कर्म गर्न  भने छाडेनन्। उनले नालामा उग्रचण्डी भगवतीको मूर्ति बनाए। त्यसपश्चात उनकाे दायाँ हात पूरै काटियाे। कलाकारले बायाँ हात र खुट्टाहरूबाट निर्मल तीर्थ (कर्णद्वीप) भचाखुसी (भद्रमती) को किनारामा अष्ठभुजाको शौभाग्यवतीको मूर्ति बनाए। उक्त मूर्ति बनेपछि कलाकारको बायाँ हात पनि काटियो।

पितृसत्तात्मक समाजमा महिलाले शासन गर्नुपर्दा नवसागरले आफू पुरु वंशीय (राजा भरतका खलक), लक्ष्मीको अंश भएको र आफू भगवतीसमेत भएको जानकारी दिन आफूलाई ‘नवसागर भगवती’ को नाममा परिचय दिँदै राज्यमा राम्रो शासन कायम गरेकी थिइन्। शाक्त सम्प्रदायी रानी राज्यवतीका इष्ट देवता भगवती भएको हुँदा उनले स्त्री शक्तिमा बढावा दिन आफ्नै अनुहार आउनेगरी ‘नवसागर भगवती’ मूर्ति बालुवाटार दरबारभित्र बनाउन आदेश दिइन्। बगलाको अनुकम्पा प्राप्त कलाकारले महारानीको आदेशअनुसार सोह्र भुजा (हात) सहितको नवसागर भगवतीको मूर्ति बनाए। मूर्ति बनिसकेपछि महारानीको आदेशअनुसार कलाकारको दुबै खुट्टा पनि काटिए र उनले जीवनबाट मूक्ति पाए।

मूर्तिमा चञ्चल, उग्र र घमण्डीपना देखियो। महारानीले इच्छ्याएअनुसार मूर्ति सुन्दर नभएको हुँदा भण्डार कोठाभित्र सुरक्षित राख्न लगाइयाे। ठकुरीकाल (अंशुवर्मा) को राजकाजमा बेला बखत अवरोध र व्यावधानहरू देखापर्न थाले। भण्डारमा रहेको भगवतीको शक्तिबाट ठकुरी प्रशासकहरूलाई दरवारमा कामकाज साथै बस्न गाह्रो भयो। तान्त्रिकहरूबाट दरबारमा भएको अवरोध, अशान्ति, अस्थिरता, असफलता, आपसी वैमनष्यता आदिको कारण खोजी भयो। उनीहरूले यसकाे कारण भण्डार कोठाभित्र भएको भगवतीको मूर्ति भत्रे पत्ता लगाए।

तान्त्रिकहरूको सल्लाहबमोजिम उक्त ढुंगाको मूर्तिलाई विधिपूर्वक रातको समय दरबारबाट केही पर दोबाटोमा खाल्टो खनी पुरिदिए। केही समयपश्चातबाट भगवतीको मूर्ति पुरिएको स्थान वरपर जाँदा तर्साउने, अवरोध हुने र जानै नहुने हुन थाल्यो। राजस्थानमा मुस्लिमहरूको आक्रमणबाट भागेर नुवाकोटमा राज गरिबसेका ठकुरी वंश नुवाकोटका अन्तिम राजा शंकर देवले सन्  ६६४ मा नक्सालमा सन्तानेश्वर महादेव स्थापना गर्ने क्रममा खाडलभित्र पुरिएको ढुंगाको मूर्ति निकाले।

मूर्ति सुन्दर थियो, उग्र पनि देखिन्थ्यो। शंकर देवले ढुंगाको मूर्तिलाई बाहिर निकाली नवसागर भगवती नामसहित खुल्ला स्थानमा स्थापना गरे। नक्साल भगवतीको किंवदन्ती भगवानसँग नभएर रानीसँग जोडिएको छ। तापनि मानिसहरू नक्साल भगवतीको पूजा आराधनामा जुट्न थाले। नवसागर भगवतीको नाम अपभ्रंस भएर नक्साल भगवती भनी पुकारिन थालियो र उक्त क्षेत्रको नाम नै नक्साल रहन गयो। यो मन्दिरलाई सुन्दरता, सुन्दरताले निम्त्याउने घमण्ड र घमण्डले निम्त्याउने परिणामको पाठ सिकाउन स्थापित मन्दिरको रूपमा पनि व्याख्या गरिएको पाइन्छ।

किरातकालदेखि नै पुरुष वर्गमा तान्त्रिक विद्याको सुरुवात भएको किंवदन्ती भए पनि लिच्छवीकालमा यसले व्यापकता पाएको र किंवदन्तीअनुसार यी अधिष्ठात्री देवीहरूको स्थापना रानी राज्यवती  ‘नवसागर’ ले देशमा तत्कालीन महिला सशक्तिकरणको लागि स्थापना गरेको हुन सक्दछ। यी चारै भगवतीहरूलाई विद्याकी शक्ति, भक्तका पालनकर्ताको रूपमा पुज्ने गरिन्छ। विद्या आर्जनका लागि महिला र पुरुष दुवै थरी यी चारै भगवतीहरूमा आराधना गर्दछन्। तान्त्रिक विद्या आर्जन तथा निपूर्णतामा पुरुष वर्ग खास गरी गुभाजु (बज्राचार्य) हरू पलाञ्चोक र शोभा भगवतीको आरधना गर्दथे भने बसिभूत/सम्मोहन विद्याका लागि नाला भगवती र नक्साल भगवतीको आराधनाले मल्लकालमा व्यापकता पाएको थियो। राजनैतिक निर्देशन वा प्रभाव जेजस्तै भएपनि यी चारवटै भगवती दुर्गालाई भक्तालुहरू असामान्य माताका रूपमा विषेश प्रेमपूर्वक श्रद्धा अर्पण गरिरहेका छन्।

लिच्छवीकालमा यो मन्दिरको दैनिक पूजारी को थिए भत्रे थाहा भएन। मल्लकालदेखि यस मन्दिरको पूजारी आचाजु (कर्माचार्य जातका नेवारहरू) ले तान्त्रिक विधि अपनाएर पूजा गर्दै आएका छन्। दिनमा तीन पटक नित्य पूजा गर्ने चलन छ। पूजारीले सबेरै ढोका खोलेर मन्दिर भित्र-बाहिर सफा सुग्घर गर्नुको साथै भगवतीलाई स्नान गराइ श्रृगांरपश्चात् प्रातकालीन नित्यपूजा सुरु गर्दछन् र नित्यपूजा सकिएपछि सर्वसाधारणलाई दर्शन तथा पूजाको लागि ढोका खुल्ला गरिन्छ। दोस्राे नित्यपूजा मध्यान्ह  १२ः०० बजे गरिन्छ र पूजा सकिएपछि दिउँसो २ बजेसम्म सर्वसाधारणलाई दर्शन तथा पूजाको लागि खुल्ला गरिन्छ।

यस्तै, सन्ध्याकालीन नित्यपूजा सूर्यास्त भएपछि ५-६ बजेतिर गरिन्छ र नित्यपूजा सकिएपछि सर्वसाधारणलाई दर्शन तथा पूजाको लागि ढोका खुल्ला गरिन्छ। ऋतुअनुसार सन्ध्याकालीन नित्यपूजा सकिएपछि बेलुका ७-८ बजेतिर मन्दिरको ढोका बन्द गरिन्छ। भक्तजनहरू साधारण पूजाको अलावा भाकल र इच्छासिद्धिको लागि विशेष तथा विभित्र किसिमको पशुवलीसहितको पूजा गर्दछन्। यस्ता पूजाहरू साधनाको प्रकारअनुसार बिहान, दिउँसो, सन्ध्या र मध्यरातमा पनि गरिन्छ। मध्यरातमा गरिने पूजालाई चा: पूजा भनिन्छ। आचाजुले पूजाको प्रकारअनुसार पशुवली गर्दा पशुलाई भगवतीसँग साक्षी राखेर विभित्र मन्त्र उच्चारण र कथा श्रवण गराउँदै इच्छा मरणको स्वीकाराेक्ति लिएर पूजा गर्नेलाइ संकल्प गराएर मात्र पशुलाई मोक्षदान दिने गर्दछ।

यसरी पशुको स्वीकारोक्ति लिएर दिएको बलिले मात्र पूजा सफल भएको मानिन्छ। दैनिकी नित्यपूजाको अलावा पूजारीले मेला पर्वहरूमा विशेष पूजा गर्ने गर्दछन्। नक्साल भगवतीलाई काठमाडौँबासीहरू दैनिकी पूजाबाहेक दशमीको नवरात्रि मेलामा एक शक्तिपीठको रूपमा पुज्दै आएका छन्।  काठमाडौँको प्रमुख शक्तिपीठहरूमध्ये एक शक्तिपीठ मानिने यस मन्दिरमा हरेक वर्ष दशैको अष्ठमीको दिन राजपरिवारबाट राजकीय पूजा दिइ दर्शन गर्न आउने चलनलाई मल्लकालमा यसलाई महत्त्वका साथ चलाइएको थियो। शाहवंशीय राजाहरूले पनि निरन्तरता दिएका थिए भने राजतन्त्रको अन्त्यपछि गणतन्त्रको उदयदेखि राष्ट्रपतिले उक्त परम्परालाई निरन्तरता दिइआइएको छ।

अष्ठमीका दिन काठमाडौँबासीहरू शक्तिपीठहरूमा भव्यताकासाथ पूजा तथा दर्शनमा सरिक हुन्छन्। साथै राजतन्त्रको अन्त्यपश्चात पनि शाह वंशीय राजपरिवार पनि दर्शन गर्न आउने गर्दछन्। दशैँ नवरात्र अवसरमा भक्तजनहरू पूजापाठका लागि नक्साल भगवती दर्शन गर्न आउँछन्।

चन्द्रमासमा आधारित पात्रो नेवाः समुदायले धेरै पहिलेदेखि प्रयोग गर्दै आएका छन्। त्यसको सातौँ महिना ‘चिल्ला’ हो। चिल्ला महिनालाई विरही, उदासी, उदेकलाग्दो महिनाको रूपमा लिइने गरिन्छ। सायद त्यसैले यो महिनामा नेवाः समुदायले त्यति धेरै पर्व, जात्रा, नःख-चख मनाउने गर्दैनन्। उदेकलाग्दो महिना भएको हुँदा समाज चलायमान गराउन यो महिनामा विरहको ‘घातु म्ये’ गाउँछन्। समाजलाई रौनकता र चलायमान दिन चिल्ला महिनाको अन्ततिर आफन्त र मित्रजन आदिलाई पाँहा बोलाएर भोजन गराइ पाँह चःह्रे नःख मनाउने चलन छ।

काठमाडौँकाे विभित्र जात्रा, पर्व, चाडमध्ये पाँह चःह्रे एक महत्त्व बोकेको जात्रा हो। पाहँ अर्थात् पाहुना र चःह्रे पर्व, हिँउदे खेतीबाली लगाइसकेपछि फुर्सदको समयमा अनिवार्य रूपमा दिएर पठाएका चेलीबेटी, उनका सन्तानहरू र आफन्तहरूमाझ सँगै बसेर भलाकुसारी गरिन्छ। किंवदन्तीअनुसार यो पर्वको सुरुवात मातृका बछाला अजिमा (भुवनेश्वरी) आफ्ना बहिनी र उनका सन्तानहरूलाई भोज दाकेर सुरु गरेको बताइन्छ।

अर्को किंवदन्तीअनुसार पार्वतीले महादेवलाई आफूले अनेकरूप धारण गरी बेला-बेलामा मद्यपान, माँस तथा विभित्र मीठा-मीठा परिकार ग्रहण गर्ने गरेको तर तपाईंले यस्तो खाना ग्रहण नगरेको बिन्ति गरिन्। अर्धाङ्गिनीको अनुरोधलाई स्वीकार्दै कसैले नदेख्नेगरी लुकेर महादेवले माँस, मदिरा, लावाजन्य खानेुकुरा खाएर देखाउनु भयो। त्यसैगरी ‘महाकाल तन्त्र शिव वचन’ शास्त्रअनुसार यस दिन लुकुमहाद्यो (लुकेर बसेको माहादेव) लाई मासु, लाभा, ऐला, थ्व, लुँबु, वह बुँ आदि चढाइ बत्तीबाट बनाइएको गाजल लगाएर अष्टमातृका (अजिमा) हरूको दर्शन गर्नाले सर्वसिद्धि प्राप्त हुन्छ भनिएकाे छ।

अर्को किंवदन्तीअनुसार लिच्छवी राजा गुणकाम देवले काठमाडौँ खड्ग आकारमा निर्माण गर्दा ७ जना अजिमाहरू स्थापित गरेका र तिनै अजिमाहरूको भेटघाटको रूपमा विभित्र स्थानमा खट जुधाउने संस्कृति बनाएका थिए। पाँह चःह्रेको आठ दिन अगाडि ‘दुःदु: च्याँ च्याँ’ भनेर पशुपति क्षेत्रमा रहेको अजिमाहरूका ठूली दिदी बछला माजु (भुवनेश्वरी) को खटजात्रा विभित्र स्थानमा घुमाइन्छ। त्यसलाई बछला माजुले पाँह चःह्रेको निम्तो दिन आएको भनिन्छ।

नक्साल क्षेत्रमा पाँह चःह्रेको तीन दिनअगाडिदेखि जात्रा पर्व सुरु हुन्छ। पहिलो दिन श्री गोमा गणेश, श्री लाल गणेश र श्री नक्साल भगवतीलाई द्योछेँहरूबाट निकालेर नगर परिक्रमा गराइन्छ। घर घरको झ्याल, बार्दली तथा कौसीहरूबाट फूल तथा लावाहरू चढाउनु (बर्साउनु) साथमा प्रत्येक घरहरूबाट पूजाको थाली लिएर आ-आफ्नो घर अगाडि भगवानसहितको खटलाई पर्खेर बस्ने र दैलाअगाडि खट आएपछि रोकेर भगवानलाई भक्तिपूर्वक पूजा गर्ने चलन थियो। बढ्दो जनघनत्व र घरहरूको संख्याले भक्तजनहरूको हरेक घरहरूको पूजा र समयलाई मध्यनजर राख्दै भगवानसहितको खटलाई बजारको चोकहरू तथा निश्चित स्थानहरूमा रोकेर पूजा गराउने चलन बसालेका छन्। त्यो दिनको अन्तमा भगवानसहितको खटलाई सम्बन्धित भगवानको मन्दिर क्षेत्र भित्र लगेर राखिन्छ। दिउँसो नगर परिक्रममा छुटेकाहरू दर्शन गर्न तथा नगरबासीहरू साँझको बत्ती दिइ दर्शन गर्न आउँछन्।

दोस्राे दिन मन्दिर क्षेत्रभित्र कुमार पूजा गरेर भगवानसहितको खटहरूलाई नगर परिक्रमा गराउँदै श्री लाल गणेशको प्राङ्गणमा लगेर सिन्दुर जात्रा गर्दै विश्राम गराइन्छ। त्यसपछि जात्रा पर्वका मुख्य व्यक्तिहरूको समूह नन्दी केशर माहादेव र संकटा देवीमा पाँह चःह्रेको पूजा तथा भोजनसहित पुगेर पूजा र भोजन गराइ अन्तमा महादेवलाई सेतो फेटा बाँधी टीका लगाइ त्यो दिनको जात्रा समापन गरिन्छ। तेस्राे दिन अर्थात् पाँह चःह्रेको दिन तीनवटै खटहरूलाई श्री लाल गणेशको प्रांगणबाट बिहानै उठाएर नक्सालको चारढुंगेमा दिनभर राखिन्छ।

दिनभर स्थानीय भक्तजनहरू उनीहरूका पाहुनाहरू तथा बाहिरबाट आउने आगन्तुकहरूको भगवानमा दर्शनपछि दुई गणेशहरूको सम्बन्धित द्योछेहरूमा भित्राइन्छ भने नक्साल भगवतीको खटलाई बछला माजु तर्फ लगिन्छ। स्थानीयहरू माजुहरूलाई पार्वतीको विभित्र रूपमा लिने गर्दछन्। सोहीअनुसार नक्साल भगवतीको खटलाई जय बागेश्वरीस्थित बछला माजुको मन्दिरमा तीन पटक ठोक्काइ बैनीले दिदीलाई ढोगेको भनिन्छ। त्यसपछि नक्साल भगवतीको खटलाई पशुपतिको मूलढोकामा तीन पटक ठोक्याइ पार्वतीले महादेवलाई ढोग गरेको भनिन्छ। पशुपतिबाट नक्साल भगवतीको खटलाई द्योछेमा लगेर भगवतीको जात्रा गर्ने मूर्तिलाई भित्राइ जात्रा विसर्जन गरिन्छ।

सन् ६६४ मा राजा शंकर देवले नक्साल भगवतीको मन्दिर बनाए पनि कस्तो मन्दिर बनाएका थिए भत्रे केही पाइएको छैन।मल्लकालमा देवदेवीहरूको मन्दिर बनाउने लहड चलेको थियो। मल्लकालमा नक्साल भगवतीलाई शक्तिपीठमा आराधना गरिएको हुँदा लिच्छवीकालपश्चात मन्दिरको मर्मत, जीर्णोद्वार र पुन:निर्माण भएको थियो।

राणा प्रधानमन्त्री जुद्धशमशेर र राजा महेन्द्र शाहको पालामा पनि भएको थियो। विसं २०४३ सालमा जीर्णोद्वार हुँदा सातौँ पटक भएको भन्ने उल्लेख छ। यो जीर्णोद्वार कति वर्ष बीचको हो भत्रे स्पष्ट छैन। विसं २०६७ सालमा पनि जीर्णोद्वार भएको थियो। विसं २०७२ को भूकम्पबाट यो मन्दिरमा पनि क्षति पुग्यो। भूकम्पबाट क्षति भएका संरचनाहरूको पुन:निर्माणको क्रममा यो मन्दिर पनि पुन:निर्माण भएको छ।

जेठ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्