संस्मरण

हिमाललाई रिसाउने कसले बनायो?

–‘ह्या, छ्याङ (रक्सी) खाँदा त केही नि हुँदैन हौ आई (स्थानीय भाषामा दाइ), जाने त गइहाल्यो।’

एक युवाले बोल्दै काँध र निधारमा रहेको भारी बाटोको भित्तामा अडेस लगाए।

–स्थानीय भाषा बोलेका हुन् क्यारे आईले। बुझिनँ तर उनको हाउभाउबाट अनुमान लगाउन सकिन्थ्यो कि उनको सहमति छ भरियासँग। उनले लामो खुइँ काढेर पारिसम्म हेरिरहे। शायद कोही गएकैतिर।

–‘न जन्मिने ठाउँ रोज्न पाउनु। न चिट्ठा तानेर छनोट गर्न पाउनु। के गरौँ। हामी सबैबाट ठगिनेमा पर्‍यौँ भाइ।’

भरिया भारी बोकेर अघि लागे। निकै परसम्म उनीहरूको गाइँगुइँ सुनिन्थ्यो। विस्तारै दृश्य र आवाज विलीन भयो।

०००

मैले कसको आवाज सुनेँ। उनीहरूसँग भेट होला कि नहोला। उनीहरू पुनः उही बाटो फर्केलान् कि नाइँ?

मनमा अनेक तर्कना खेलाउँदै, मैले आफ्नो यात्रा अगाडि बढाएँ।

०००

मंसिर महिना थियो। म कर्णाली नदीको किनारै किनार हिँडिरहेको थिएँ। चिसो सिरेटोले आफ्नो साम्राज्य जमाएकै थियो। तर, हिँड्दा खासै चिसो हुँदैनथ्यो। बुढापाका भन्थे– हिँडेपछि ज्यान तात्छ। सिरेटोसँग जुध्दै तातेको ज्यान अगाडि बढिरहेको थियो।

मुगु जिल्लाको सदरमुकाम गमगढी बजारदेखि मुगुम कार्मारोङतर्फ करिब २० किमी ग्रामीण मोटरबाटो बनेको छ। जसले गर्दा ४/५ घन्टाको हिँडाइ छोटिएको छ। तर, कार्मारोङ गाउँपालिका प्रवेश गरेपछि पैदल यात्रा सुरु हुन्छ। खच्चड घोडा सँगै हिँड्न थाल्छन्। कठिन भूभाग र कर्णाली नदीलाई दायाँ–बायाँ पारेर हिँड्नुपर्छ।

यो संस्मरण मुगु जिल्लाको उत्तरी भागमा रहेको कार्मारोङ यात्राको हो।

यात्रा जोखिमयुक्त थियो। कारण, भिरालो जमिनबाट ढुंगा खस्न सक्छ। खुट्टा चिप्लियो भने कर्णाली नदी पुगिन्छ। वर्षेनि त्यहाँका मान्छेहरू पहराबाट ढुंगा खसेर, भिरालो जमिनका कारण चिप्लेर चोटपटक लागेको या मृत्यु भएको २/४ घटनाको साक्षी भइसकेको थिएँ। यात्रा रोमाञ्चकभन्दा ज्यादा त्रासदीपूर्ण अनुभूति हुन्छ। अप्ठ्यारो भिर, खोंच, चिप्लो बाटो र निरन्तर बगिरहने कर्णाली नदी।

कर्णाली किनारको बाटो हिँड्दै गर्दा त जोकोहीलाई राज्यका मूल शासकहरूसँग रिस उठ्छ। ती शासकहरू पापी नै हुनजस्तो लाग्छ। पापीहरूलाई किरा परोस्। नर्कमा जाओस्। मनमनै बर्बराउन मन लाग्छ। मलाई भने अझै पनि त्यहाँका जनताको शिक्षा र चेतनाको ढोका नखुलेको विषयमा चिन्ता लाग्छ।

मुगु यात्रा जोखिमसँगै अनौठो पनि थियो। त्यहाँका बाटोमा भेटिने स–साना पसलका चिया–नास्ता, बटुवा र भरियाहरूसँगको गफगाफ, यार्सागुम्बा र हिमाली पर्यटनका कुराकानी। चिया पसलमा सुनिने तिब्बत जाँदा तिब्बती मैयाहरुसँगको रमाइलो किस्सा। गाउँ–ठाउँ छिचोल्दा देखिने नाचगान र धनुषबाँण खेल। यात्रीहरूका जडीबुटी खोज्दाको दुःख र रमाइला कहानी। समय थितिमा गरिने शिकारका किस्सा। गुम्बाको पूजा। लोसारको रमाइलो, नाच र खान्की। हिमाली भेकका अप्रत्यासित घटना र अनुभवहरू सुन्दा बाटो काटेको पत्तो नै नहुने।

०००

दिनभरि कर्णालीको तिरैतिर हिँडेकाले शरीरमा थकान थियो। साँझमा गाउँमा बास बसियो।

पहिला चिया (कफी)। कफीलाई चिया नै भन्छन्, त्यता। अनि नुन चिया र जौको सातु र नास्तामा आलु। त्यसपछि रक्सी पिउन आदरपूर्वक गरिने कर। लोकल रक्सी (छ्याङ) त सारै मीठो। मिसावट कुरै छैन। थकाइ राम्रोसँग मेट्नलाई एक गिलास लोकल रक्सी या छ्याङ। आलुको तरकारी, सिमीको दाल र भात। खाने र सुत्ने। मुगु यात्रामा एक हिसाबले सांसारिक दुःख भुलेको थिएँ।

हरियो तरकारी भनेको– सिस्नु। खानासँग दाल। कोदोको रोटीसँग तरकारी। चिनो कागुनोजस्ता रैथाने खानेकुरा खान छोडिसकेको परिवार पनि भेटिएका थिए। कर गरेर पकाउनुस् भन्नुपर्ने। ओखलमा कुट्नु पर्ने। चिनो कागुनो कुट्ने मिल बनेका थिएनन्। खाना र स्वस्थलाई त राम्रो हो तर विस्तारै स्थानीयको जिब्रोमा सहरिया चामलको स्वाद बसिसकेको छ।

कर्णाली किनारको बाटो हिँड्दै गर्दा त जोकोहीलाई राज्यका मूल शासकहरूसँग रिस उठ्छ। ती शासकहरू पापी नै हुनजस्तो लाग्छ। पापीहरूलाई किरा परोस्। नर्कमा जाओस्। मनमनै बर्बराउन मन लाग्छ। मलाई भने अझै पनि त्यहाँका जनताको शिक्षा र चेतनाको ढोका नखुलेको विषयमा चिन्ता लाग्छ। स्थानीयहरूको मूर्च्छित सपना नब्यूँझेकोमा चिन्ता लाग्छ। सुषुप्त अवस्थामा रहेको चेतनाको ढोका नखोलिएकोमा चिन्ता लाग्छ।

मुगु जिल्लाको उत्तरी क्षेत्रको मुगुम कार्मारोङ गाउँपालिकाका अधिकांश गाउँहरू हिमालसँग जोडिएका छन्। मुगु, डोल्फु, कार्ती, किम्रीलगायत गाउँहरू चीन र डोल्पा जिल्लासँग जोडिएका छन्। हिमालको बेसीमा रहेका लेक र पाटनहरूमा प्रशस्त जडीबुटी पाइन्छन्। ती जडीबुटी हिमाली भेकका बासिन्दाहरूको हातमुख जोर्ने माध्यम हो। तर, त्यहाँ पनि दलाल व्यापारीहरूको कमी छैन। तिनीहरूले सोझा गाउँलेलाई ठग्ने गर्छन् नै। ज्यानको बाजी लगाएर भिरपाखाबाट जडीबुटी खोजी ल्याउने युवा व्यापारीहरूबाट ठगिएको कुरामा जानकार छन्। तैपनि हातमुख जोर्न सहज भएकोमा मक्ख छन्।

०००

गत मंसिर महिनामा मुगुम कार्मारोङ वडा नं ४, कार्ती गाउँमा खानेपानीको योजना अनुगमनका लागि पुगेको थिएँ। वडा सदस्य (छुल्डिम लामा) को घरमा खाना खाएर सुत्ने तर्खर गर्दै थिएँ। एक्कासि रोदन र बिलौनासहितको भाव विह्वल आवाज सुनपछि घटनाबारे बास बसेको घरको नुमो (बहिनी)लाई सोधेको थिएँ।

घटनाक्रम यस्तो रहेछ–

कात्तिक महिनामा सोही गाउँका युवाहरू कटुके (जडीबुटी) टिप्न हिमाली लेकतिर गएका रहेछन्। जसरी वर्षेनि युवायुवती, बालबालिका तथा अर्धबैँसेहरू जंगल, लेक र हिमालतर्फ जान्छन्। कात्तिक महिनामा लेकमा कटुके (जडीबुटी) टिप्न गएका युवालाई बेमौसमी हिमपातले अस्तव्यस्त बनाएछ। पूर्वानुमान नै नगरिएको हिमपहिरो गएछ र एकजना युवा (कार्मा छिरिङ, ३३) लाई हिमपहिरोले पुरेछ। मृतकको घाइते दाइलाई भने अन्य साथीहरूले बचाएका रहेछन्।

तिनै मृतक कार्मा छिरिङको धार्मिक कर्मकाण्डका लागि सदरमुकामबाट घाइते दाइ र आफन्तहरू आएका थिए। ती घाइते दाइ र आफन्तहरू घर फर्किदा सँगै लेक गएकामध्ये पति नफर्किएको वियोगमा, श्रीमती भाव विह्वल भएर रोएकी रहिछन्। सधैँका लागि श्रीमान् गुमाउनु परेको पीडा छ भने एकातिर दूधे बालकसहित तीन लालबाला हुर्काउने एकल जिम्मेवारी उनकै काँधमा थपिएको छ।

उनको गाउँठाउँमा जीविकोपार्जन र अन्य अर्थ उपार्जनका अवसर छैनन्। कृषि तथा अन्य उत्पादन न्यून छ। भौतिक पूर्वाधार राम्रो छैन। खानेपानी लिन टाढा जानुपर्छ। चामल तथा नुनतेल लिन टाढा जानुपर्छ। लेक जानुपर्छ। जंगल जानुपर्छ। उनले अब एक्लो ज्यानले सबै काम र व्यवहार भ्याउनु पर्नेछ।

वर्तमान अवस्था


उल्लिखित घटनाजस्तै प्रत्येक वर्ष हिमाली भेगमामा ज्यान गुमाउनेहरूको संख्या उल्लेख्य छ। मृतककै वडाको तथ्य र तथ्यांक केलाउने हो भने २०७७ साल साउन महिनामा किम्री गाउँका सोना आङ्डाक (४०), कटुके भन्ने जडीबुटी खोज्ने क्रममा भिरबाट चिप्लिएर लडे। परिवारको जिम्मेवारी बोक्दै गर्दा उनको अवसान भयो। उनको अवसानपछि परिवारमा पीडा र दुःख झन् थपियो।

मानिसलाई कहिलेकाहीँ आफ्नै सपना र रहरले दुःख दिन्छ। तर, हिमालका बासिन्दालाई रहर र सपनाभन्दा पनि बाध्यता र विवशताले दुःख दिने गर्छ। हिमालमा कृषि उत्पादनको मात्रा कम भए पनि अन्य धेरै आयआर्जन तथा जनजीविकाको प्रचुर सम्भावना छन्। अझैसम्म त्यहाँका सर्वसाधारणले दुःखको निकास पत्ता लगाउन सकेका छैनन्।

२०७६ साल साउनमा कटुके (हिमाली जडीबुटी) खोजेर फर्किँदै गर्दा पेमा पुटिक (१९) भिरबाट चिप्लिएर लडिन्। उनले भिरमै अन्तिम सास फेरिन्। केही वर्षयता कटुके खोज्ने हरेक सिजनमा २/३ जना लास बनेर फर्किने गरेका हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २०८० साल वैशाख १ देखि जेठ १३ गतेसम्मको तथ्यांकअनुसार हिमपहिरोबाट १२ जनाको मृत्यु र २ जना घाइते भएका छन्।

अहिले यार्चागुम्बा खोज्ने सिजन सुरु भइसकेको छ। मुगुम कार्मारोङ गाउँपालिकाको महिना दिनको खाद्यान्न जोहो गरी १४ गाउँका स्थानीय हिमाली पाटनतर्फ गइसकेको अवस्था छ। यार्चागुम्बालाई स्थानीय किरा भन्छन्। किराबाट प्रत्येक परिवारले वार्षिक १ देखि ३ लाखसम्म आम्दानी गर्छन्। उक्त किराले हिमाली जनजीविकामा महत्वपूर्ण भूमिका निभाउँछ। यार्चागुम्बाका अलावा विभिन्न जडीबुटीहरू कटुके, वन लसुन, पाँचऔले, जिम्बु आय आर्जनका स्रोत हुन्। यार्चागुम्बा खोज्न अन्य जिल्लाबाट पनि मानिसहरू हिमालतिर जान्छन्।

मानिसलाई कहिलेकाहीँ आफ्नै सपना र रहरले दुःख दिन्छ। तर, हिमालका बासिन्दालाई रहर र सपनाभन्दा पनि बाध्यता र विवशताले दुःख दिने गर्छ। हिमालमा कृषि उत्पादनको मात्रा कम भए पनि अन्य धेरै आयआर्जन तथा जनजीविकाको प्रचुर सम्भावना छन्। अझैसम्म त्यहाँका सर्वसाधारणले दुःखको निकास पत्ता लगाउन सकेका छैनन्।

पछिल्लो समयमा हिमाली दुर्घटना बढेका छन्। झट्ट हेर्दा हिमाली दुर्घटना साधारण र स्वाभाविक देखिए पनि स्वाभाविक होइनन्। सहज स्थानमा पाइने यार्चागुम्बा, कटुके, जिम्बु , वन लसुन अप्ठ्यारो भिर र खोचहरूमा सीमित हुँदै गएको छ। हिमालीहरू हातमुख जोड्न गर या मरको अवस्थामा छन्। तिनीहरूले एकबारको जीवन खोसिदिने भिर तथा खोचहरू नदेखेका होइनन् तर सास भएसम्म आश हुन्छ। आशाको त्यान्द्रो हेर्दाहेर्दै जीवन नामको सिंगो डोरी चुँडिएको भेउ पाएका छैनन्।

स्थानीय युवाहरु नेपालको विकसित सहरहरूबारे सोध्थे। हामी दुर्गम मुगुम कार्मारोङलाई पोखरा र काठमाडौँजस्ता सहरहरूसँग तुलना गर्थ्यौँ। हामीमा पीडा र आक्रोश बढेर आउँथ्यो।

दुर्गम कर्णालीलाई राज्यले ठगेकै हो। हेपेकै हो र कर्णालीलाई राज्यले अपहेलना गरेको छ। अन्याय गरेको छ। यसो भनिरहँदा फेरि स्थानीय साथीहरू भाग्यवादी पनि बन्छन्। सम्झन्छु त्यस दिनको विलीन दृश्य र विलीन आवाज, ‘न जन्मिने ठाउँ रोज्न पाउनु। चिट्ठा तानेर जन्मिने ठाउँ रोज्न नपाइने। के गरौँ। हामी सबैबाट ठगिनेमा पर्‍यौँ, भाइ।’

साँचो यो हो कि ती हिमालीहरूको राज्यसँग आशा र भरोशा ज्यादै न्यून छ।

दुर्गम कर्णालीको राज्यसँगभन्दा भरोसा र आशा हिमालसँग छ। तथापि, हिमाल चिसो छ। हिमालका आँगन र पिँढीहरू भिरालो र अप्ठ्यारा छन्। हिमाली जीवन कठिन छ। हिमाल अटल भएर पनि कठोर छ। कहिलेकाहीँ त लाग्छ, हिमाल निर्दयी पनि छ।

होइन, त्यस्तो कहाँ हुन्छ? हिमाल त हिमाल नै हो। हिमाल कसरी कठोर हुनसक्छ? हिमाल कसरी निर्दयी हुनसक्छ? जहाँ बहुमूल्य जडीबुटीहरू सृष्टि हुन्छन्। हिमालीहरूको जनजीविका धानेको छ। हात र मुख जोड्न दिएको छ।

वर्षभरि पुग्ने खाद्यान्न जोहो गर्न गएकाहरूमध्ये केही हिमाल मै अस्ताउँछन्। यार्सागुम्बा र अन्य जडीबुटीहरू खोज्न हिमाल गएकाहरू भारी मन र आफन्तको लास बोकी गाउँ फर्किने क्रम बढ्दो छ। जसले एउटा गम्भीर प्रश्न उब्जिएको छ– हिमाल रिसाएको हो त? यदि यसो हो भने हिमाललाई रिसाउने कसले बनायो?

जेठ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्