सरसरफाइकाे कमीले हुम्लाका अधिकांश महिलामा रोगको संक्रमण (फाेटाे फिचर)

सिमकोट – हुम्लाका ग्रामीण महिला सरसफाइको कमीले गर्दा रोगको सिकार भएको पाइएको छ। उनीहरू सरसफाइ नगर्दा स्त्रीरोगको सिकार भएका हुन्।

जिल्ला अस्पतालमा सञ्चालन भएको शिविरमा उपचार गर्न आएकी खार्पुनाथ गाउँपालिका- ५ की धनकली कामीले तल्लो पेट दुख्ने समस्याले पीडित हुँदै आएको बताइन्। बेला-बेला सेतो पानी बगिरहने समस्याबाट पीडित हुँदै आएकी उनलाई दैनिक पेट दुख्ने गर्छ।

शिविरमा उनी गाइनो वार्डमा गएर उपचारसमेत गर्न भ्याएकी छन्। उनलाई डाक्टरले चेकपछि औषधिसमेत दिन सिफारिस गरेबमोजिम औषधि पनि पाएकी छन्। अब उनलाई रोग निको हुन्छ भन्ने आशासमेत पलाएको छ।

शिविरमा महिलासम्बन्धी रोगको उपचारमा संलग्न रहेकी डाक्टर रस्मी बास्कोटाले उपचारका लागि आएका महिलामा सरसफाइको कमीका कारण रोगको सिकार भएको बताइन्।

उनले यो समस्या एक जना महिलामा मात्र नभएर अधिकांशमा उस्तै रहेको बताइन्। महिना दिनसम्म सरसफाइ नगरेको बताउने बिरामी महिलासमेत भेटिएको भन्दै उनले सरसफाइ मात्र गर्न सके धेरै बिराम सन्चो हुने बताइन्।

फोहोरकै कारण इम्फेक्सन भएर महिलालाई बिरामले बढी सताएको समेत उनले बताइन्। अहिले पनि महिनावारी हुँदा पेन्टी नलगाउने र सेनिटरी प्याडको प्रयोग नगर्ने महिला उपचारका क्रममा धेरै भेटिएको उनले बताएकी छन्। महिनावारी भएका बेला मात्र नुहाउने गरेका महिला उपचारका क्रममा भेटिएका थिए। अर्को कुरा पानी कम प्रयोग गर्ने भएका कारण पनि पिसाबमा समस्या आउने गरेको पाइएको छ।

शिविरमा चार सयभन्दा बढी महिला यस किसिमको रोगको उपचारमा आएका थिए। उनले महिलालाई सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गर्नु आवश्यक रहेको बताउँदै कलिलै उमेरका महिला बढी पीडित भएको बताइन्।

जेठ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्