इन्धनको रकम नदिएपछि उठेन पोखराको फोहोर

पोखरा – पोखरा महानगरपालिकाको सडकमा फोहोर थुप्रिन थालेको छ। शुक्रबारदेखि महानगरको बजार क्षेत्रमा फोहोर उठिरहेको छैन। चोक चोकमा थुप्रिएको फोहोरको दुर्गन्ध फैलन थालेको छ।

पुस दोस्रो सातादेखि पोखरा महानगरपालिका–३२ लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा फोहोरमैला व्यवस्थापन हुदैं आइरहेको छ। ल्यान्डफिल साइटमा फोहोर पुर्न महानगरले भाडामा लिएको एक्साभेटरको इन्धन मूल्य नपाएपछि फोहोर नउठेको सरसफाइ शाखा प्रमुख कल्पना बरालले बताइन्।

लामेआहालका बुद्धिमान गुरुङको एक्साभेटर भाडामा लिएर महानगरले फोहोर पुर्दै आइरहेको थियो। फागुन १५ देखि वैशाख १५ सम्मको रकम भुक्तानी गर्न बाँकी रहेको बरालले जानकारी दिइन्। ‘दिनुपर्ने पहिला नै हो। आकस्मिक हिसाबमा काम गर्न पर्छ। खरिदको सिस्टम मिल्दैन्। लेखाले दिन गाह्रो मान्छ। नदिइहँुदैन’, उनले भनिन्।

महानगरले एक्साभेटरको मासिक ४ लाख रुपैयाँ भाडा तिर्ने उनले बताइन्। इन्धन घण्टाको आधारमा दिने सम्झौता रहेको उनको भनाइ छ।
३ महिनाको इन्धन बापतको रकम १० लाख रुपैयाँ बढी पाउनुपर्ने बुद्धिमान गुरुङले बताए। उनका अनुसार इन्धन महानगरले नै हाल्नुपर्ने हो। तर, महानगरले पैसा दिने शर्तमा आफैंले उधारोमा हालेको गुरुङ बताउँछन्।

‘मैले भाडामा एक्साभेटर दिएको हो। महानगरले त्यहीं एडजस्ट गर्नु तेल हामी तिर्छौं भनेपछि मैले जुपिटरबाट उधारोमा ल्याए’, उनले भने, ‘मैले पाउनुपर्ने रकम नपाएपछि बन्द गर्छु भनेर हिजोबाट बन्द गरे।’

बिल बनाएर दिए पनि लेखाले भुक्तानी गर्न आनाकानी गरेको उनको भनाइ छ। ‘बिल बनाएर लेखामा लगें। लेखाले यत्रो ३÷३ महिनाको के हेरेको हो अहिलेसम्म ? यो महिनापिच्छे लान पर्ने के को ३ महिनामा ल्याएको ? नगरपरिषद्मा लान पर्छ भनेर अस्ति नगरपरिषद्को बैठक बस्यो। बैठक बसेर दिने भनेर पास गर्दिएपछि त लेखाले यत्रो तेल खान्न भन्यो’, बुद्धिमानले सुनाए।

वैशाख अन्तिम साता पनि इन्धनको मूल्य नपाएकै कारण पोखराको फोहोर उठेको थिएन।
पोखरा महानगरपालिकाको टाउको दुखाइको विषय नै ल्यान्डफिल साइट बनेको छ। पैसा तिरेर हेर्न लायक ल्यान्डफिल साइट बनाउने घोषणा गरेका पोखराका मेयर धनराज आचार्यले बल्लतल्ल ६ महिनाका लागि लामेआहालमा अस्थायी ल्यान्डफिल साइट बनाएका थिए। पुसदेखि लामेआहालमा फोहोर फ्याँक्न थालेको महानगरलाई अब नदिने सुरुमा स्थानीय छन्।

पोखरा–३३ मा स्थायी ल्यान्डफिल साइट बनाउने मेयर आचार्यले घोषणा गरेका छन्। स्थायी ल्यान्डफिल साइट बनाउन गत पुस २५ गते बसेको महानगरपालिकाको कार्यपालिका बैठकले व्यक्तिको जग्गा किन्ने निर्णय गर्‍यो।

महानगरपालिकाले पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको व्यक्तिगत बैंक खातामा जग्गा किन्न पेस्की स्वरूप ५५ लाख रुपैयाँ रकमसमेत पठाएको थियो। तर, न जग्गा खरिद प्रक्रिया अगाडि बढेको न पैसा नै महानगरमा फिर्ता आएको छ।

पोखराका मेयर आचार्य भने यतिबेला फिलिपिन्सको मनिला सहरको भ्रमणमा छन्। पोखराको मेयरमा निर्वाचित भएपछि आचार्यको पाँचौ विदेश भ्रमण हो। आचार्य यो भन्दा पहिले म २ पटक भारत गएका थिए। उनले मलेसिया र जापानसमेत घुमेका छन्।

जेठ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्