लेखनाथ हाफ म्याराथनको उपाधि रामजी बस्नेतलाई

पोखरा – लेखनाथ हाफ म्याराथनको उपाधि रामजी बस्नेतले जितेका छन्। शनिबार भएको हाफ म्याराथनको निर्धारित २१ किलोमिटर दूरी १ घण्टा १३ मिनेट ३३ सेकेण्डमा पूरा गर्दै बस्नेत च्याम्पियन बनेका हुन्।

पोखरा महानगरपालिका खेलकुद विकास समितिले कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा गरेको म्याराथनमा मोहनदेव जोशी १ घण्टा १४ मिनेट २ सेकेन्डमा दूरी पार गरेर दोस्रो भए। १ घण्टा १८ मिनेट ८ सेकेन्डमा दूरी पूरा गरेका अनिष गुरुङ तेस्रो भए।

महिला खुल्ला १० किमि दौडतर्फ पूर्णलक्ष्मी न्यौपाने पहिलो, आशा राउत दोस्रो र सुमित्रा चौधरी तेस्रो भए।  म्याराथन र महिला १० किमि दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रूपैयाँको साथमा मेडल र प्रमाणपत्र पाएका छन्।

२१ किलोमिटरको म्याराथनमा पहिलो, दोस्रो र तेस्रो भएकालाई लेखनाथ उद्योग वाणिज्य संघले पुरस्कारमा १०÷ १० हजार रूपैयाँ प्रोत्साहनबापत थप दिएको खेलकुद विकास समिति पोखराका सदस्य सचिव सुवास खड्काले जानकारी दिए।
पाँच किलोमिटर छात्रा विधामा नारायणी भण्डारी पहिलो भइन्। मेनुका अधिकारीले दोस्रो र एञ्जल अधिकारीले तेस्रो स्थान हासिल गरे।
छात्रतर्फ तेन्जोन रोका पहिलो हुँदा विवेक परियार दोस्रो र सुनिल विकले तेस्रो स्थान हासिल गरे। ५ किलोमिटर दौडमा पहिलो दोस्रो र तेस्रो हुने छात्र छात्राले १५ हजार, १० हजार र ५ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाएका छन्।

चेतनाथ पोखरा च्याम्पियन

धावक चेतनाथ चालिसे पोखरा च्याम्पियन घोषित भए। उनले १० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए।

म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दूरी पूरा गरेका चालिसेले पोखरा च्याम्पियन उपाधि हात पारेका हुन्। चालिसेले २१ किलोमिटर दौड १ घण्टा ३१ मिनेट ४५ सेकेण्डमा पूरा गरेका थिए। उक्त समयमा निर्धारित दूरी पार गर्दा उनी १३ औं भएका थिए।

जेठ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्