दोस्रो अभ्यास खेलमा पनि नेपाल नेदरल्यान्ड्ससँग पराजित

फाइल तस्बिर

काठमाडौं- एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा नेदरल्यान्डसँगपनि हार भोगेको छ। पछिल्ला दुई अभ्यासमानै कमजोर ब्याटिङको सिकार भएको नेपाल अब विश्वकप छनोट खेलका लागि जिम्बाब्वे प्रस्थान गर्ने छ।

दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भएको नेपालले यसअघि स्कटल्यान्डसँगको खेलमा पनि पराजित भएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १ सय ५७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा नेदरल्यान्ड्सले ३६.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

नेदरल्यान्ड्सको जितमा वेस्ली ब्यारेसी ६३ रनमा अविजित रहँदा कप्तान स्कट एडवार्ड २२ रनमा आउट भए। ओपनर विक्रमजित सिंहले २१ रन बनाउँदा नेपालका गुलशन झा र ललित नारायण राजवंशीले समान दुई विकेट लिएका थिए। प्रतिश जि.सीको नाममा  समान एक विकेट रह्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै १ सय ५६ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलाले ४१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३० रन बनाउँदा अलराउन्डर गुलशन झाले २४ रन बनाए। नेदरल्यान्ड्सका लागि एल भि भान बीकले ५ तथा शरिज अहमदले १ विकेट लिए।

 

 

जेठ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्