स्वास्थ्य-सेवाको दुरावस्था देखाउने हुम्लाकी रूप्सी सुनार

अकुपञ्चर विधिबाट रूप्सी सुनारको उपचार गर्दै डाक्टर स्कन्द डाँगी। तस्बिर: बर्षा शाह/देश सञ्चार

नीलो रंगको धोती, फुलबुट्टे चोली, रातो स्विटर र टाउकोमा फेटा बाँधेकी एक महिला हुम्लाको सदरमुकाम सिमकोटस्थित स्वास्थ्य सेवा कार्यालयको परिसरमा जेठ २६ गते साँझपख मलिनो अनुहारसहित पुगेकी थिइन्। त्यहाँ प्रारम्भ सामाजिक संस्था र सिंगापुर रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा, सिमकोट, नाम्खा,  खार्पुनाथ गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयले शिविर आयोजना गरेका थिए। साेही शिविरमा परीक्षण गर्न उनी आएकी हुन्।

सहकार्य आधार विकास नेपाल र अठोट नेपालको पनि सहकार्यमा त्यहाँ जेठ २५ गते देखि ३ दिनसम्मको लागि वृहत् एकीकृत स्वास्थ्य शिविर सञ्चालन भएको थियो। त्यही शिविरको दोस्रो दिन साँझ आएकी थिइन्- २६ वर्षीय रूप्सी सुनार।

खार्पुनाथकी २६ वर्षीया रूप्सी सुनार ।

खार्पुनाथ गाउँपालिकाकी सुनार करिब पाँच घण्टा बच्चासहित हिँडेर शिविरमा आएकी हुन्। शिविर त्यस दिनका लागि बन्द हुने तरखरमा थियो। कसलाई आफ्नो कुरा भन्ने उनलाई थाहा थिएन। ‘५ घण्टा लगाएर बच्चासँग आएकी छु, मलाई पनि हेर्न भन्दिनूस् न डाक्टरसाबलाई। मैले सुनेको यहाँ शरीर दुखेकालाई सुइ पनि लगाइ दिनुहुन्छ रे!’, उनले भनिन्।

उपचारपश्चात् घर फर्किँदै गरेकी रूप्सी सुनार आफ्ना बच्चासँग ।

रूप्सीले कुरा गरेको सुइ अकुपन्चर विधिबाट उपचार गर्ने कुराकाे थियो। ललितपुरको अन्नपूर्ण प्राकृतिक अस्पतालबाट सेवाका लागि त्यहाँ पुगेका चिकित्सक स्कन्द डाँगीसहित खटिएका टोली बासस्थानतिर फर्किने तरखरमा थियाे। प्रारम्भ सामाजिक संस्थाकी अध्यक्ष र सिंगापुर रेडक्रस नेपालकी प्रतिनिधि कल्पना क्षेत्रीसम्म सुनार आएको कुरा पुग्यो।  त्यसपश्चात् चिकित्सक स्कन्द डाँगीलाई जानकारी गराइयाे। समस्याबारे सोधेपछि चिकित्सक डाँगीले अकुपन्चर विधिबाट उनले भनेको सुइ अर्थात् निडल्स लगाइ दिए। त्यसपछि उनको मलिलो अनुहार केही उज्यालो भयो।

रूप्सी सुनारको अकुपञ्चर विधिबाट उपचार गरिँदै। तस्बिर: बर्षा शाह/देश सञ्चार

रूप्सीका ३ छोरी र १ छोरा छन्। उनले खेतीपाती तथा ज्याला-मजदुरी गरेर जीवन चलाइरहेको बताइन्। उनी ढिलागरी स्कुल पढ्न गएकी थिइन्। रूप्सीले ८ वर्षको हुँदा १ कक्षामा भर्ना भइ कक्षा ३ सम्म पढेकी रहेछिन्। यद्यपि अगाडिको पढाइ भने हुन सकेन। १४ वर्षमा महिनावारी भएकी रूप्सीकाे १६ वर्षमा विवाह भयो। विवाह भएकै वर्ष उनले पहिलो सन्तान जन्माइन्। उनका अहिले १० ,८ ,२  र १ वर्षका सन्तान छन्।

दुई सन्तान जन्मिएपछि रूप्सीकाे स्वास्थ्यमा समस्या आयाे। स्थानीय जिल्ला अस्पतालमा परीक्षणका लागि पनि पुगिन्। जिल्ला अस्पतालका डाक्टरले उनलाई पाठेघर तथा पिसाब थैलीमा समस्या रहेको भन्दै आराम गर्ने र भारी सामान नउठाउन सुझाव दिएको उनी बताउँछिन्। ‘तर के गर्नु? काम नगरी खान पुग्दैन’, उनले भनिन्।

आफ्नो स्वास्थ्यमा समस्या छ भन्ने थाहा भए पनि रूप्सीले थप दुई सन्तान जन्माइन्। छोरो पाउनका लागि आफूले फेरि बच्चा जन्माएको उनकाे भनाइ छ।

रूप्सीले चौथो सन्तानका रूपमा छोरालाई जन्म दिइन्। स्कुल जाने उमेर भएका छोरी सरकारी स्कूलमा जाने गरेको उनले बताइन्। आफू नपढे पनि छोराछोरीलाई पढाउने इच्छा रहेकाे उनले सुनाइन्। उनलाई डर छ कि कतै आर्थिक स्थितिका कारण पढाउन सकिँदैन कि भनेर।  ‘पढाउन त चाहन्छु। तर पाँचसम्म मात्र रहेको स्थानीय विद्यालय पछि सक्छु कि सक्दिनँ हेरौँ’, उनले भनिन्।

खार्पुनाथ ५ अङ्चुमा रूप्सीको घर र माइत छ। उनका २ सन्तान स्थानीय स्वास्थ्य चौकीमा जन्मेका हुन् भने दुइटा बच्चा घरमै जन्मेका हुन्।

रूप्सी शिविरको अन्तिम दिन फेरि आइन्। हिजोभन्दा उनी आज अलि उज्यालो अनि अलि फुर्तिलो देखिइकी थिएन्। एक छोरी र सानो छोराका साथमा त्यहाँ आएकी उनी हुम्लाकी एक महिला पात्र हुन्- जसले स्वास्थ्य सेवामा सहज पहुँच पाएका छैनन्। शिविरमा पाएको सेवाबाट खुसी लागेको बताउने सुनारले आउँदा दिनमा यस्तै सेवा गाउँमा पुगे आफूजस्ता महिलालाई सहज हुने बताइन्।

शिविरको तेस्रो दिन पुन: उपचार गर्न आएकी रूप्सी सुनार ।
जेठ ३०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्