
दाङ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृत शिक्षालाई खोज अनुसन्धानमा केन्द्रित गर्नुपर्ने बताएका छन्।
नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा विद्यार्थीलाई दीक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा स्थापना भएका अन्य विश्वविद्यालयका तुलनामा नेपाल संस्कृत विश्वविद्यालयको स्थापना फरक उद्देश्यले स्थापना भएको बताए।
विश्वविद्यालयका कुलपतिसमेत रहेका उनले नैतिकवान्, चरित्रवान् जनशक्ति उत्पादन गर्दै वसुधैव कुटुम्बकमको विचारलाई विश्वसामु पुर्याउनुपर्ने बताए। उनले संस्कृत शिक्षाको आधुनिकीकरण गर्दै यसलाई समयानुकूल ढंगले पाठ्यक्रम परिमार्जन गर्दै लैजाने बताए ।
प्रधानमन्त्री प्रचण्डले नेपालकै दोस्रो ठूलो विश्वविद्यालयले पौरस्त्य मूल्यमान्यता, संस्कार, संस्कृति र आदर्शको सम्बर्धन एवं विकासमा दिएको योगदान प्रशंसनीय रहेको बताए। उनले संस्कृत भाषा प्राचीन भाषा मात्र नभई प्राच्य दर्शन र चिन्तनको अपार ज्ञानभण्डार रहेको बताए ।
दीक्षान्त समारोहमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विविध कारणले १२ वर्षसम्म विगतका वर्षमा दीक्षान्त समारोह आयोजना गर्न नसके पनि आगामी वर्षमा नियमित दीक्षान्त समारोह आयोजना गरिने बताए।
विश्वविद्यालयका सहउपकुलपति समेत रहेका राईले संस्कृत वाङ्मयभित्र रहेको ज्ञानलाई आुधुनिक विधि र प्रविधिकामाध्यमबाट युगसापेक्षा,समाजउपयोगी र जीविकामुखी बनाउँदै लैजानुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका कुलपति प्राडा हरेराम त्रिपाठीले नेपाल र भारतको आपसी सम्बन्ध परापूर्व कालदेखि नै सुमधुर रहँदै आएको बताए ।
उनले ऋषिमुनिहरुको तपोभूमि, ज्ञानभूमिका रूपमा नेपाल रहेको बताए । कार्यक्रममा उनले संस्कृत वाङ्मयको विकास विस्तार,अध्ययन अनुसन्धानका लागि दुई देशमा रहेका विश्वविद्यालयबीच पारस्परिक सम्बन्ध कायम राख्नुपर्ने बताए ।
संस्कृत विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको अध्यक्षता एवम् सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका कुलपति प्राडा हरेराम त्रिपाठीको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो।
समारोहमा विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछानेले शास्त्री तहको पाठ्यक्रम २२ वर्षपछि परिमार्जन गरी कार्यान्वयनमा ल्याएको बताए ।
आयुर्वेद स्नातक तह कक्षा विएएमएस सञ्चालनमा ल्याएको र स्थापत्य शास्त्र अध्यापनका लागि पाठ्यक्रम तयारी अवस्थामा रहेको बताए ।
उपकुलपति लामिछानेले एकिकृत प्राकृतिक चिकित्सा अस्पताल र आयुर्वेद जडिबुटी उद्यान निर्माणका लागि प्रक्रिया अघि बढाइएको बताए ।
दीक्षान्त समारोहमा २०६७ सालदेखि २०७६ सालसम्म शास्त्री, एक वर्षे शिक्षा शास्त्री, आयुर्वेद स्नातक तह९विएएमएस०, आचार्य र विद्यावारिधि उत्तीर्ण गरेका चार हजार सात सय ७३ जनामध्ये दीक्षितका लागि आवेदन दिएका पाँच सय ७५ जना विद्यार्थी दीक्षित गरिएको हो।
कार्यक्रममा २०६७देखि २०७६ ्सालसम्म विश्वविद्यालयमा सर्वोत्कृष्ट नतिजा ल्याउन विद्यार्थीलाई प्रधानमन्त्री एवम उपकुलपति पुष्पकमल दाहाल ‘प्रचण्डले सम्मान गरे।