बाहुबाली प्रभासहरूलाई बालेनहरूको चुनौती: हामीलाई अर्को आँखाले नहेर

गत जेठ ३२ गते काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादलाई नसच्याएसम्म काठमाडौँ महानगरपालिकाको कुनै पनि हलमा हिन्दी फिल्म चल्न नदिने र तीन दिनभित्र सच्याउन भनिएको स्टाटसले यतिखेर फिल्मनगरी बहसमा उत्रियो। मानिसहरू दुई कित्तामा उभिए।

१६ जुन अर्थात् हिजो शुक्रबारबाट विश्वभरि एकसाथ प्रदर्शनमा आएको चलचित्र आदिपुरुष नेपालको सेन्सर बोर्डले प्रदर्शनका लागि अनुमति दिइसकेको छ। शुक्रबारदेखि राजधानीका हलहरूमा लाग्ने उक्त सिनेमाले बिहीबार साँझ ८ बजे मात्र प्रदर्शनको अनुमति पाएको थियो।

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने (संवाद) वाक्यांश हटाएपछि बल्ल ‘आदिपुरुष’ले प्रदर्शन अनुमति पाएको हो। यद्यपि बालेनकाे अडानबमोजिम आदिपुरुष विश्वभरिका कपीहरूबाट उक्त संवाद हटाइएको होइन। नेपालमा प्रदर्शन गरिने कपीमा मात्र उक्त संवाद हटाइएको छ।

यता चलचित्र संघ नेपालले बालेनले सामाजिक सञ्जालमार्फत् दिएको चेतावनी उल्लंघन गरेको छ। चलचित्र संघको शुक्रबार बिहान बसेको बैठकले यसबारेमा कुनै पनि आधिकारिक पत्र प्राप्त नआएकाले फिल्म निर्वाध रूपमा हलहरूमा प्रदर्शन गर्ने निर्णय गरेको चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले बताए। उनकाअनुसार बिहान केएल टावरस्थित फिल्म हलबाहेक अन्त फिल्म रिलिज भएको छैन।

मेयर शाहले ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगाउने बताएपछि नेपाल चलचित्र संघले आकस्मिक बैठक बोलाएको थियो। चलचित्र संघको शुक्रबार बिहान बसेको बैठकले यसबारेमा कुनै पनि आधिकारिक पत्र प्राप्त नआएकाले फिल्म निर्वाधरूपमा हलहरूमा प्रदर्शन गर्ने निर्णय गरेको चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले बताए।

उनका अनुसार बिहान केएल टावरस्थित फिल्महलबाहेक अन्त फिल्म रिलिज भएकाे छैन। तर संघमा छलफल गरिएलगत्तै महानगरभित्रका सबै हलमा ‘आदिपुरुष’सहितका हिन्दी फिल्म सञ्चालनमा आइसकेको बताए। उनले आदिपुरुषमा उल्लेखित आपत्तिजनक संवाद हटाएर सेन्सर पास गरिएको पनि बताए।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत् बालेनले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्दमाथि आपत्ति जनाएका थिए। उनले जबसम्म नेपालमा मात्र नभइ भारतमा पनि सो शब्द सच्चिँदैन तबसम्म काठमाडौँ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए । त्यसका लागि ३ दिनको समय दिइएको उनको भनाइ थियो ।

आठ दिन अघि टी-सिरिजको आधिकारिक युट्युब च्यानलमा आदिपुरुष चलचित्रको अन्तिम ट्रेलर रिलिज गरिएको थियो। उक्त ट्रेलरमा रामको भूमिकामा रहेका प्रभासले आफ्नो वानर सेनालाई सीतालाई हरण गरेर लगेका रावणसँगको युद्धका लागि प्रेरित गर्दै भनेका छन्, ‘आज मेरो लागि नलड्नू, त्यो दिनको लागि लड्नू जब भारतको कुनै छोरीमाथि हात हाल्नुभन्दा पहिले दुराचारी तिम्रो पौरुष याद गरेर काँप्नेछन्।लड्छौ?’

बाहुुबली स्टार प्रभास र कृति सेननको प्रमुख भूमिका रहेको ‘आदिपुरुष’ रामायणको कथामा आधारित रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। तर नेपालको सन्दर्भमा भने सीता नेपालको विभूति रहेका नकार्न सकिँदैन। तीन करोड नेपालीले सदियौँदेखि पढ्दै र पढाउँदै आएको पनि हो।

एक चलचित्रकर्मीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा पटकपटक दोहोर्‍याइरहने वाक्यलाई सम्झिँदै भने-  रोटी र बेटीको सम्बन्ध छ। र यो कहावत सीता र रामको विवाह भएको हुनुपर्छ। रामायण पनि लेखिएको छ कि सीता पनि जनकपुरकी हुन्। त्यो जनकपुर नेपालमा पर्छ। त्यसैले सीता भारतको बुहारी हो। यति कुरा त निर्देशक ओम राउतले बुझ्नु पर्थ्याे कि बुझेर पनि बुझ पचाए?’

वरिष्ठ चलचित्रकर्मी नीर शाह भने आदिपुरुषमा रहेको यो संवाद कहाँ र कुन सन्दर्भमा राखिएको हो, त्यसको छानबिन हुनुपर्ने बताउँछन्। शाहका अनुसार सीतालाई भारतको छोरी भन्नु कि त निर्देशक ओम राउतले अज्ञानवंश गरे, यदि जानीजानी गरेका हुन् भने यो गलत हो।

‘आदिपुरुषको निर्देशक ओम राउतसँग यताबाट कुरा गर्नुपर्‍यो। चलचित्र क्षेत्रका मान्छेहरूले त्यहाँको चलचित्र क्षेत्रसँग सोधपुछ गर्नुपर्‍याे। अझ दक्षिण भारतको फिल्मकर्मीसँग सोधपुछ गर्नुपर्‍याे। सञ्चार मन्त्रालयले भारतको सञ्चारमन्त्रालयसँग, चलचित्रकर्मीको संघसंस्थाहरूले भारतको चलचित्रकर्मीका संघसंस्थासँग कुरा गर्नुपर्‍याे। विकास बोर्डले पनि कुरा गर्नुपर्‍याे। परराष्ट्रले दिल्लीमा कुरा गर्नुपर्‍याे। दूतावासले पनि कुरा गर्नुपर्‍याे । यो गम्भीर विषय हो’, शाहले भने,  ‘यो कुरालाई नजरअन्दाज गरेर सामान्य घटना हो भनेर बस्नु भएन। सामान्य सिनेकर्मीको दृष्टिकोणबाट यो गल्ती हो, सुधार्नै पर्छ।’

राजर्षी जनककी छोरी एवं नेपालभूमिकी गरिमामयी पुत्री सीता हुन्। र प्राचीन मिथिलाको केन्द्रसमेत मानिएको जनकपुरसहित देशभरिका रामजानकी मन्दिरहरूमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन माता सीताको पूजा-अर्चना गरी सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ। त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञको प्रतिष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन रामायण र पुराणहरूमा गरिएको छ।

‘हरेक वर्ष अयोध्याबाट आजको समय पनि जन्ती आउँछ जनकपुरमा। सीतारामको विवाहलाई महोत्सवको रूपमा मनाउने गरिन्छ। त्यसो हुँदा सीता नेपालको हुन भन्ने त स्पष्ट छ। त्यो कुरा रामायणमा पनि छ। फेरि पनि भारतीय फिल्मकर्मीले अर्काको देशको विभूतिलाई भारतको छोरी भन्नु गलत हो। सच्चिनु पर्छ’, शाहले भने।

कुनै एक जेन्युको विद्यार्थीले सीता मिथ भइसकिन् र मिथका पात्र त विश्वको सम्पत्ति हुन सक्छन् भन्ने भाव लेखेका थिए सामाजिक सञ्जालमा। तर शाहलाई यो राष्ट्रियताको सवाल हो भन्ने लाग्छ। यो देशमा बोल्न स्वतन्त्र छ। कसैले जे पायो त्यही गर्न पाउने छुट छैन। किनकि जनताले प्रश्न गर्ने समय आयो। यो देशका लागि सुन्दर अवस्था हो। अहिले नेपाली जनताहरू राष्ट्रियताको बारेमा, देशको सीमाको बारेमा, विदेशी हस्तक्षेपका बारेमा, राजनीतिक कमिकमजोरीका बारेमा आवाज उठाउने र सहीलाई सही र गलतलाई गलत छुट्याउन सक्ने भएका छन्। अब जनता मौन बस्दैनन्। देशको महत्त्व र माया अहिलेका जनताले राम्ररी बुझ्न सक्ने भएका छन्।

चलचित्र निर्देशक मनोज पण्डितकाअनुसार बालेन साह एउटा जनप्रतिनिधिको हिसाबले भए पनि प्रश्न उठाए। आवाज उठाए। केही समय अगाडि ग्रेटर नेपालको नक्सा र अहिले सीता नेपालको हो भन्ने पक्षमा उनले आवाज उठाउँदै फिल्म हलमा चलाउन रोक्ने बताइरहँदा बहस उठ्यो।

‘नेपालको लागि गज्जबको कुरा के हो भने बाहुबालीका प्रभासहरूले कमसे कम नेपालमा बालेनहरू जस्ता मानिस पनि छन् है भन्ने समय आयो। यो बाहुबलीलाई बालेनको चुनौती पनि हो’, पण्डितले भने,  ‘कस्तो भने बाहुबालीलाई बालेनको चुनौती मात्रै नभएर रामलाई पुज्नेलाई सीताको प्रश्न पनि हो।’

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान छ। नेपालका विभूति राष्ट्रका गहना हुन्, पहिचान हुन्। त्यसैले कुनै पनि देशले नेपालालाई अर्को आँखाबाट नहेरिदिएको भए हुन्थ्यो भन्ने तर्क गर्छन् पण्डित। उनी भन्छन्,  ‘बालेनले यो कुरा उठाउँदा कुनचाहिं नेपालीलाई आत्मसम्मानमा ठेस पुग्छ के? राष्ट्रियताको नाममा केपी शर्मा ओलीले चितवनको ठोरीमा राम नेपालको हुन् भनेर कति जनताले पत्याए। तर सीता नेपालकी हुन् भन्ने त विश्वलाई थाहा छ। रामायणमा पनि यो कुरा छ। मिथले पनि सत्य भन्ने हो। मिथकाे पनि इतिहास हुन्छ, लिपि हुन्छ। तथ्यमा टेकेर फिल्म मेकरले काम गर्नुपर्थ्याे। र सीता नेपालकी हुन् भन्ने स्वीकार्नु पर्छ।’

असार २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्