संगीतको स्वर्णयुगको साक्षी हुन्, संगीतकार रञ्जित गजमेर

सन् १९६० को दशकमा दार्जिलिङ आजको जस्तो हुन्थ्यो भने नेपालीहरू त्यहाँ पुग्थे होलान्। रोजगार खोज्थे हाेलान्। कामकाजी भएर पैसा कमाउँथे र स्थापित हुन्थे होलान्, तर आजको जस्तो थिएन त्यो बेलाकाे दार्जिलिङ।

त्यो समयको दार्जिलिङमा शिक्षा राम्रो फस्टाए पनि अवसरहरू न्यून थिए। पढालेखाहरू रोजगारका लागि कलकत्ता, बम्बई कि त नेपाल पस्थे। काठमाडौँमा संघर्ष गर्थे। नेपाली भाषी भारतीयहरू नेपालमै आएर केही गर्न पाए हुन्थ्यो भन्थे। अनि दार्जिलिङबाट हिँडेकाहरू वीरगञ्ज हुँदै काठमाडौँ पस्थे। यस्तै एउटा टोली नेपाल आइपुगेको थियो साठीको दशकतिर। राष्ट्रगानका संगीतकार अम्बर गुरुङ, माइती नेपालकी अध्यक्ष अनुराधा काेइराला, लेखक पिटर जे कार्थकलगायतको टोलीमा थिए ८६ वर्षीय संगीतकार रञ्जित गजमेर पनि।

‘मान्छेलाई अपनत्व बनाइराख्ने भाषाले रहेछ। आफूले बोलेको लवज अर्को देशको मान्छेले बोल्यो भने पनि अपन्त्वको बोध हुँदोरहेछ। त्यसैले यो नेपाली भाषा रहुन्जेल दार्जिलिङबासीको मनमा नेपाल रहिरहन्छ।’

‘त्यो बेला काठमाडौँमा रेडियो नेपाल खुलेको छ। बस्ने ठूल्ठूला होटलहरू खुलेका छन्। काम पाइन्छ। अझ संगीतमा लागेकाले काम पाउँछन् भन्ने हल्ला हाम्रो समूहमा पनि चल्यो’, उनी पहिलोपटक नेपाल आउँदाको दिन सम्झिन्छन्, ‘अर्को संयोग के जुर्‍याे भने राजा महेन्द्रको जन्म-जयन्तीको अवसर पारेर अम्बर गुरुङलाई नेपाल बोलाइएको थियो। त्यो समूहमा म पनि परेँ।’

तर, गजमेर दार्जिलिङबासीहरू काठमाडौँमा अवसर मात्रै खोजेर आउँदैनन् भन्छन्। उनका अनुसार नेपाली भाषी दार्जिलिङबासी आफ्नो पूर्खाको देश सम्झिएर आउँछन्। भाषा सम्झिएर आउँछन् । बाजेबज्यैको जन्मथलो सम्झिएर आउँछन्।

‘यो त हाम्रो बाजे-बज्यैको जन्मथलो हो। उनीहरूले जब नेपालको बारेमा कुरा गर्थे, हाम्रो मन कटक्क हुन्थ्यो। हामीलाई छुन्थ्यो’, गजमेरले धमिलो सम्झना सुनाए, ‘नेपाल फर्किन मन कहिले पो लागेन र? तर धेरै कुराले रोक्थ्यो । मेरा बाउबाजेहरू फर्किन नसके पनि धन्न बाजा बजाउने भएर म नेपाल आएँ । नेपालमा काम गर्न पाएँ। आजसम्म नेपाली बोल्न पाएको छु।’

उनका अनुसार अहिले पनि दार्जिलिङबासीलाई नेपाल प्रिय लाग्नु भाषा हो। पुर्खाको थलो हो। उनी भन्छन्, ‘मान्छेलाई अपनत्व बनाइराख्ने भाषाले रहेछ। आफूले बोलेको लवज अर्को देशको मान्छेले बोल्यो भने पनि अपन्त्वको बोध हुँदोरहेछ। त्यसैले यो नेपाली भाषा रहुन्जेल दार्जिलिङबासीको मनमा नेपाल रहिरहन्छ।’

तन्नेरी उमेर सपना बोकेर हिँड्ने हो। आइपरेको दुःखलाई पनि सहजले स्वीकार्ने भनेको तन्नेरीमा नै रहेछ। वीरगञ्जबाट नेपाल पसेर संघर्ष गरेको स्मरण धमिलो रहेको बताउने गजमेरका अनुसार गीत-संगीत र कला-साहित्यको उर्वर समय थियो। साधना र संघर्षले मान्छेलाई चिनाउन/सघाउने बुझाइ छ उनको। त्यसैले त ती दिनमा प्रख्यात लेखक कलाकारसँग काम गरे उनले। यस्तै, एउटा पात्र लैनसिंह वाङ्देल सम्झिन्छन् उनी।

गजमेरले वाङदेललाई प्रज्ञा-प्रतिष्ठानमा धेरैपटक भेट्न पाएको धमिलो सम्झना उनले सुनाए । ‘उहाँ र मेरो भेट प्रज्ञा प्रतिष्ठानमा हुन्थ्यो। उहाँको चित्र किताब खोजेर हामी दार्जिलिङ लैजान्थ्यौँ’, उनले भने।

अम्बर गुरुङ र अगमसिंह गिरीको समूहमा बसेर मादल बजाउने गजमेरले मादल बजाएरै जीवन चलाउँछु सोचेका थिएनन् तर मादल यस्तो साथी बनिदियो कि संसारले उनलाई वाद्ययवादकका रूपमा चिन्दछ। सबै बाजा बजाउन सक्ने भए पनि बलिउडले उनलाई मादलको पहिचान दियो।

साथै लेखक बालकृष्ण सम, कवि सिद्धिचरण श्रेष्ठ र महाकवि लक्ष्मीप्रसाद देवकोटासँग भेट भइरहेको कुरा स्मरण गरे उनले।

‘कुन मन्दिरमा जान्छौ यात्री’

यो कालजयी गीतका कम्पोजर गजमेर अहिले सम्झिँदा अत्यास मान्छन्। कसरी कम्पोज भयो त्यो भन्ने स्मरण गर्न पनि टोलाउँछन्। भन्छन्, ‘मेरो जीवनमा एज अ कम्पोजर लागि ठूलो च्यालेन्जिङ थियो। मैले काम गरेँ। त्यो अवसर दिनु भएको चाहिं नीर शाहले हो। वासुदेव भन्ने फिल्ममा यस्तो गीत चाहिएको छ भन्नु भएपछि मैले कम्पोज गरेँ। सौभाग्य त्यही गीत अहिले धेरै दर्शकको रोजाइमा पर्छ।’

गायक रवीन शर्माले गाएको यो गीतलाई कुनै समय रेडियो नेपालबाट गजल कि भजन भनेर प्रशारण गरेको किस्साहरू अहिले पनि बजारमा सुन्न पाइन्छ। जति सुन्दै गयो उति प्रिय बन्दै गयो- कुन मन्दिरमा जान्छौ यात्री।

०००

जीवनको यात्रा र संगीतको यात्रा एकै लयमा हिँडेको लाग्छ गजमेरलाई। त्यसैले भन्छन्, ‘मेरा लागि जीवन नै संगीत र संगीत नै जीवन हो।’

जीवनबाट संगीत अलग गराए आफू नरहने गजमेरकाे भनाइ छ। कालजयी गीत-संगीतका स्रष्टाहरूसँग काम गरेका गजमेर दार्जिलिङबाट कलकत्ता नौ लाख तार गीत रेकर्ड गर्न गएको स्मरण गर्छन्।

‘नौ लाख तार उदाए…’ बोल्दाबोल्दै उनले गुनगुनाए। गुनगुनाउँदै गीतको अन्तरा सुनाए। भन्छन्, ‘यो भर्सले एकदमै छाेएको मलाई लाग्छ- नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको। काडाँकै माझ पहाडी फूल छैन र कहाँ हाँसेको।’

काठमाडौं आउनुअघि नौ लाख तारा गीत रेकर्ड गर्न गीतकार अगमसिंह गिरी संगीतकार गुरुङसँग मादल बजाउन उनी पनि गएका थिए।

‘तीन दिन लगाएर कलकत्ता पुगिएको थियो। अम्बर दाइसँग गिटार सिक्ने एकजना (नाम बिर्सिएँ) कलकत्तामा भेटनरी डाक्टर पढ्न कलकत्तामा बस्नुहुन्थ्यो। उहाँले नै रेल स्टेसनमा लिन आउनु भयो। लगेर आफू बसेको होस्टलमा राख्नु भयो। क्यान्टिनमा खाना खुवाउनु भयो। केही दिन लगाएर गीत रेकर्ड गरियो। भुइँमा सुतियो’, गजमेरले सुनाए ।

गीत-संगीतकै लागि जन्मिएका गजमेर केवल बाजा बजाउन मात्रै निपूण थिएनन्। उनले सयौँको संख्यामा नेपाली गीतमा कम्पोज गरेका छन्। ४० र ५० को दशकमा त नेपाली चलचित्रमा एकछत्र संगीत गर्ने गजमेरै थिए। तुलसी घिमिरेका सबै चलचित्रमा उनैले संगीत गरेका छन्।

अम्बर गुरुङ र अगमसिंह गिरीको समूहमा बसेर मादल बजाउने गजमेरले मादल बजाएरै जीवन चलाउँछु सोचेका थिएनन् तर मादल यस्तो साथी बनिदियो कि संसारले उनलाई वाद्ययवादकका रूपमा चिन्दछ। सबै बाजा बजाउन सक्ने भए पनि बलिउडले उनलाई मादलको पहिचान दियो।

सन् ६० को दशक संगीतको उत्कर्षको समय थियो। दार्जिलङ, काठमाडौँ र बम्बैमा उम्दा गीत-संगीत बाहिर आएका थिए। गजमेर भन्छन्, ‘मेरा लागि तीनवटै ठाउँ फलिफाप भएका ठाउँ हुन्। म दार्जिलिङमा हुन्थिनँ भने सायद मादल बजाउन सक्थिनँ हुँला। अम्बर दाइ, अगमसिंह दाइहरूसँग संगत गर्थिन थिएँ भने गीत-संगीतको पछाडि लाग्थिनँ हुँला।’

कोही मानिस बन्न कसै न कसैको हात जरुर हुन्छ। काठमाडौँमा आउन अम्बर दाइको सहयोग मिलेको थियो उनलाई। तर यहाँ पनि उनले सोचेजस्तो अवसरहरू पाएनन् र बम्बई लागे। अझ ठूलो प्लेटफर्म पाए। सौभाग्यले भनौँ आरडी बर्मनको अर्केस्ट्राको सदस्य हुन पुगे।

भारतका प्रख्यात संगीतकार आरडी बर्मनका अर्केस्ट्रा वाद्यवादनका रूपमा जोडिएका गजमेरले जीवनको आधा शताब्दी बलिउडका लागि खर्चिए। सन् ७० को दशकमा मुम्बई पुगेका गजमेर बलिउड फिल्मका गीतमा मादल मात्रै बजाएनन्। नेपाली मादलको ताललाई स्थापित नै गरिदिए। उनले बजाएको मादलको ताललाई आरडीले आफ्ना गीतमा ‘सिग्नेचर’ बनाएका पनि थिए।

बलिउडमा वाद्यवादकका रूपमा चिनिए पनि नेपाली गीत-संगीतलाई पनि उत्तिकै समय दिए गजमेरले। माया गरे। यसो गर्नुका कारण गजेमरको आधार नेपाली गीत नै थियाे।

गजमेरले नेपाली सुगम संगीत र सिनेमाका गीत कम्पोज गर्दा मौलिकता देखिन्छ। लोकलय नै पक्रिएका छन्। लोक-भाका, लोकलय, लोक मुर्छाना राखेर नेपाली गीतमा संगीत गरेका छन्।

कयौँ त्यस्ता गायक-गायिका जससँग आफ्ना कम्पोजमा गीत गाउन लगाउन मन थियो, त्यो काठमाडौँमा पूरा नभए पनि बम्बई गएपछि पूरा भएको बताउँछन् उनी। नारायण गोपालसँग गीत गाउन मन थियो उनलाई तर संयोगले उनलाई पत्याइदिएनन् नारायण गोपालले। पत्याउन पनि कसरी एक वाद्यवादकलाई? उनी त नातिकाजी, गोपाल योञ्जन, अम्बर गुरुङको गीतमा पृष्ठभूमिमा बसेर मादल बजाउँथे।

‘काठमाडौँमा भर्खर-भर्खर संघर्षका दिनमा नारायण दाइसँग गीत गाउन मन थियो तर जुरेन। पछि बम्बई गएपछि निर्देशक तुलसी घिमिरेमार्फत् उहाँले मेरो कम्पोजिसनमा गीत गाउनु भयो। मेरो घरमै बस्नु भयो। उहाँले पकाएको पकवान खाइन्थ्यो। पछि त बिस्तारै घुलमिल बढ्यो’, उनले भने।

गीत-संगीतकै लागि जन्मिएका गजमेर केवल बाजा बजाउन मात्रै निपूण थिएनन्। उनले सयौँको संख्यामा नेपाली गीतमा कम्पोज गरेका छन्। ४० र ५० को दशकमा त नेपाली चलचित्रमा एकछत्र संगीत गर्ने गजमेरै थिए। तुलसी घिमिरेका सबै चलचित्रमा उनैले संगीत गरेका छन्।

सन् १९८१ मा ‘बाँसुरी’बाट नेपाली चलचित्रमा समाहित गजमेरले सयौँ गीतमा संगीत भरेका छन्। सम्झना, कुसुमे रुमाल, वासुदेव, साइनो, लाहुरे, चिनो, दुई थोपा आँसु, कोसेली, दर्पण छायाजस्ता चलचित्रका गीतमा उनी एकछत्र छाए।

अहिले पनि शास्त्रीय संगीत निकाल्दा बलिउडको आश्रय लिनुपर्ने देखिएको प्रति निराश हुन्छन् गजमेर। भन्छन्, ‘अहिले पनि क्लासिकल संगीतका लागि बलिउडबाट प्रभावित हुनुपर्छ। अहिले निकालेका ट्युन त आरडी बर्मनले पचास वर्ष पहिले निकालिसकेका थिए । केही नयाँ गरौँ।’

गजमेरको संगीतमा स्वरसम्राट नारायण गोपालदेखि साधना सरगम, आशा भुसले उदितनारायण झासम्मले गाएका चर्चित गीतलाई गायक रामभक्त जोजिजु, कर्ण दास, विनोद बानियादेखि आशा स्वरूपसम्मले गाए।

यतिखेर उनी नेपाल छन्। महाराजगञ्जस्थित भेनस स्टुडियोमा काम गरिरहेको भेटिन्छन्। आफूले संगत गरेका चर्चित गायक बच्चु कैलाश सम्झिन्छन्। भन्छन्, ‘कैलाश जी भेट्न मन थियो। जुरेको छैन। ती दिनहरूमा हामीलाई घरमै लैजानु हुन्थ्यो। पोर्कको चाना सेकुवा बनाएर खुवाउनु हुन्थ्यो। मदिरा पनि पिइन्थ्यो। अहिलेजस्तो लाग्छ। उहाँसँग भेट्न पाए हुन्थ्यो।’

१९६७ मा गजमेर काठमाडौँ आएर रेडियो नेपालमा स्टुडियो संगीतकार पनि बनेका थिए। पछि उनी बम्बईमा सांगीतिक करिअर बनाउन आरडी बर्मनसँग सहकार्य गर्न पुगेका थिए। उनले थुप्रै भारतीय फिल्ममा संगीत भरेका छन्, नेपाली मादल घन्काएका छन्। सन् १९८२ मा उनले आशा भोसलेका लागि नेपाली संगीतको व्यवस्था मिलाइदिएका थिए। उनी एक किस्सा सुनाउँछन्।

बाँसुरी फिल्मको गीत गाउन निर्देशक तुलसी घिमिरेले तारादेवी र अरुणा लामालाई ल्याउन खोजेका थिए। तर खर्च बढी हुने भएपछि आशा भाेसलेलाई अनुरोध गरेको सम्झिन्छन्,  ‘पहिला त अरुण लामा या तारादेवी ल्याउने कुरा थियो। बम्बई आउने जाने भाडा र बस्ने खर्च हिसाब गरेर हेर्दा आशा दिदीलाई अनुरोध गरौँ भनेर सल्लाह भयो। यो सल्लाह माग्ने कुसुमको थियो। अनुरोध गरेँ। अरे क्यु नहीं मे गाउंगी भन्दै खुसी हुनु भयो। गीत पनि हिट भयो।’

०००
गजमेर मादलकै पर्यायजस्तो भए। उनी मादललाई नै आधार बनाएर चिनिए। जसरी गोर्खालीले खुकुरी विश्वमाझ चिनाए, संगीतमा गजमेरले मादल चिनाए। बलिउडका चर्चित गुलजार, किशोर कुमार, आनन्द बक्सीका आनीबानी र स्वभावसँग पनि गजमेरले परिचित गराइदिएका छन्। बलिउड संगीतमा ‘कान्छा’ नाम कसरी रहन गयो र आरडी बर्मनले कुन प्रसंगमा गजमेरलाई यो नाम दिए भन्ने कथा पनि रमाइलो छ।

अहिले पनि गजमेरले मादल बजाएको गीतमा कहाँ नेपाली मादल घन्कियो भन्ने खुट्याउन सकिन्छ। गजमेर अझै पनि बाजा बजाउँछन् र नेपाली गीत कम्पोज गरिरहेका छन्। दीप श्रेष्ठका लागि अहिले नयाँ गीत-संगीत गरिरहेका छन्। पूरानादेखि नयाँ गायक-गायिकाजस्तै रियालिटी सोबाट आएकाहरूले पनि गजमेरसँग काम गरिरहेका छन्। गजमेरले पोखरामा जारी ‘नेपाल लिट्रेचर फेस्टिबल’मा मादल घन्काएर नयाँ पुस्तालाई अझै हौसला र प्रोत्साहन दिएका छन्।

‘विदेश बसेका भाइबहिनीले सम्झिन्छन्। काम गर्न ऊर्जा आइहाल्छ’, गजमेर भने। नयाँ पुस्तालाई अझ बढी मेहनत गर्नु पर्ने बताउँछन् उनी। अहिलेको प्रविधिलाई प्रयोग गरेर अत्यन्तै राम्रा सिर्जना ल्याउन सकिने उनकाे भनाइ छ। भन्छन्, ‘ नयाँ भाइबहिनीहरू मेहनती पनि छन्। प्रविधिसँग पनि जानकार छन्। अलिकति साधाना गरे भने राम्रो सिर्जना बाहिर ल्याउन सकिन्छ।’

अहिले पनि शास्त्रीय संगीत निकाल्दा बलिउडको आश्रय लिनुपर्ने देखिएको प्रति निराश हुन्छन् गजमेर। भन्छन्, ‘अहिले पनि क्लासिकल संगीतका लागि बलिउडबाट प्रभावित हुनुपर्छ। अहिले निकालेका ट्युन त आरडी बर्मनले पचास वर्ष पहिले निकालिसकेका थिए । केही नयाँ गरौँ।’

त्यस्तो नयाँ किन हुन सकेको छैन भन्ने प्रश्नमा उनी भन्छन्, ‘हामीले आफ्नो मौलिकतालाई ख्याल नगर्नाले नै कमजोर गीत जन्मिएका छन्। आफ्नो भाषा, कला र मौलिक टोनलाई बिर्सिनु भएन नि।’

गजमेरको आत्मकथा लेखेका लेखक शेखर खरेलकाअनुसार गजमेरको दार्जिलिङ, काठमाडौँ र बम्बईको संगीतमा ठूलो योगदान छ। तीनवटै भूमिले जन्माएको गीत-संगीतमा उनले काम गरेकाले पनि स्वर्णकाल युग भनिन्छ सन् ६० को दशकलाई। खरेल भन्छन्, ‘उहाँ दार्जिलिङ-काठमाडौँ र बम्बईसहित तीनवटै ठाउँको संगीतको स्वर्णयुगको साक्षी हो।’

८६ वसन्तमा हिँडेका गमजेरलाई उमेर सोध्यो भने १८ वर्ष भएको सुनाउँछन्। अहिले पनि तन्नेरीका लागि गीत कम्पोज गर्छन्। नेपाल र नेपाल बाहिर बसेका नेपाली तन्नेरीले काम दिएकोले नेपाल -भारत गरिरहेको सुनाउँछन्। भन्छन्,  ‘काम गर्न नसक्नेलाई बुढो भन्ने हो, म त अझै काम गरिरहेको छु। कमाइरहेको छु । म कसरी बुढो हुन सक्छु?’

बुढ्यौली उमेरमा पनि सक्रिय जीवन बाँचेका गजमेर भन्छन्, ‘माथि यमराज साह्रै बिजी रहेछन्। कोरोनाका कारण पो बिजी भयो कि, मेरो समय अझै आएको छैन भन्छन्। अब समय नआउन्जेल त काम गर्नै पर्‍यो नि हैन र भाइ।’

हेर्नूहोस् भिडियो:

असार १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्