संसद अवरोध जारी राख्दै एमालेले भन्योः छानबिन समिति बनाउने माग कायमै छ

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिले आफ्नो माग सम्बोधन नभएको भन्दै संसद अवरोध जारी राखेको छ।

गृहमन्त्रीले सुन काण्डबारे छानबिन गर्न सिआइवी नै पर्याप्त रहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको जवाफ दिए। त्यसप्रत असहमति जनाउँदै एमालेले माग कायम रहेको भन्दै संसद अवरोध जारी राखेको हो।

एमाले सचेतक महेश बर्तौलाले गृहमन्त्रीले उठेका प्रसंगभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।

उनले भने, ‘राजश्व अनुसन्धानले सुन समाउँदा, विभाग प्रमुखले भने दश दिन पहिले थाहा थियो। प्रधानमन्त्री थाहा हुने कुरा गृहमन्त्री र अर्थलाई किन भएन? सरकारले सिआइवीलाई राख्न खोजेको छ। हामीलाई गृह र अर्थमन्त्रीमाथि नै शंका छ। उहाँहरुलाई सिआइवीले अनुसन्धान गर्न सक्दैन। जाँचबुझ ऐन २०२६ अन्तरगत उच्चस्तरीय छानबिन समिति बनाउने माग कायम छ।’

बर्तौलाले संसद अवरोधको दोष एमालेमाथि लगाउन खोजिएको भन्दै आपत्ति जनाए। सरकारको बेवास्ताका कारण आफूहरु संसद अवरोध गर्न बाध्य भएको उनको भनाइ थियो।

सचेतक बर्तौलाले भने, ‘गृहमन्त्री ज्यूले उठेका विषयभन्दा बढी राजनीतिक प्रवचन दिनुभयो। विपक्षीहरुले उठाएका विषयहरुमा सरकार गम्भीर हुन सकेन।

गृहमन्त्रीबाट आउनुपर्ने कुरा भयो। सरकारले संसदमार्फत भ्रम सिर्जना गर्ने काम भयो। उहाँले सदन नचलेको कुरा प्रतिपक्षीमाथि दोषरोपण गर्नुभयो। सरकारको नाजायज अडानका कारण आजसम्म अवरोध भएको हो। १५ गते हामीले संसद चलाऔँ, भनौँ तर सत्ता पक्षका प्रमुख सचेतकहरुले नै मान्नु भएन? माओवादीको केन्द्रीय समितिको बैठकका कारण पनि बैठक रोकिएको हो। कुटिल रुपमा दोषी एमालेलाई दिने?’

एमालेको अवरोधका कारण संसद बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

साउन २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्