फिल्म ‘गदर-२’ मा अभिनय गर्न डराएका थिए सनी देओल

भारतीय कलाकार सनी देओलले ‘गदर-२’ मा अभिनय गर्नुअघि आफू निकै डराएको बताएका छन्।

फिल्म समीक्षक कोमल नाहटासँग कुरा गर्दै देओलले यस्ताे बताएका हुन्।

उनले भने, ‘म गदर-२ को लागि सुरुदेखि नै नर्भस थिएँ। याे यस्ताे फिल्म थियाे जसकाे म स्वाद बिगार्न चाहन्नथिएँ। मैले सुरुमा अस्वीकार गर्दै आएँ। उनले कथा  सुनाएपछि मलाई राम्रो लाग्यो। हामी यो गर्न सक्छौं भन्ने भयाे अनि यसमा लाग्यौं।’

अभिनेता सनी देओलले लामो समयपछि फिल्म गदर-२ बाट पर्दामा शानदार कमब्याक गरेका छन्।

गदर–२ फिल्म ११ अगस्टमा रिलिज भएकाे हाे। रिलिज भएदेखि नै फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।

सामाजिक सञ्जालमा शेयर भइरहेको भिडियोमा गदर-२ हेर्न हलमा दर्शकको भीड लागेको देख्न सकिन्छ।

फिल्म समीक्षक तरण आदर्शले ट्विट गर्दै फिल्मले पहिलो तीन दिनमा करिब १३४ करोड रुपैयाँ कमाएको बताएका छन्।

फिल्मले शुक्रबार ४० करोड, शनिबार ४३ र आइतबार करिब ५१ करोड कमाएको छ।

गदर फिल्म सन् २००१ मा रिलिज भएको थियो र फिल्मले त्यतिबेला पनि राम्रो व्यापार गरेको थियो।

गदर-२ फिल्मका निर्देशक अनिल शर्मा हुन् र फिल्ममा सन्नी देवलकाे साथमा अमिषा पटेल, उत्कर्ष शर्मा मुख्य भूमिकामा छन्।

साउन ३०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्