अध्यायोपाकर्म, जनैपूर्णिमा र रक्षाबन्धन

विषयप्रवेश

नेपाली समाजमा आजभोलि श्रावण-शुक्ल-पूर्णिमा जनैपूर्णिमाका रूपमा प्रसिद्ध रहेको छ । श्रावणको पूर्णिमा भएकाले यस दिनलाई श्रावणी पनि भन्ने गरिन्छ । यस दिन द्विजातिले विधिपूर्वक मन्त्रेर नयाँ यज्ञोपवीत (जनै) लगाउने प्रचलन भएकाले यस दिनलाई जनैपूर्णिमा भन्ने गरिएको बुझिन्छ । यसै दिन आफ्नो रक्षा होस् भनेर मन्त्रेको डोरो पुरोहितका वा सामान्य ब्राह्मणका हातबाट बाँध्ने चलन पनि छ । अतः यसै दिनलाई रक्षाबन्धन पनि भन्ने गरिन्छ । यसरी अचेल नेपालमा श्रावण-शुक्ल-पूर्णिमालाई जनैपूर्णिमा र रक्षाबन्धनका रूपमा मात्र लिइएको पाइन्छ । किन्तु शास्त्रीय आधारमा विवेचना गर्दा त्यसभन्दा अतिरिक्त यस पूर्णिमाको छुट्टै स्वरूप र महत्त्व पनि छ । यसै दिन अध्यायोपाकर्म  (उपाकर्म) भन्ने विशिष्ट वैदिक कर्म गर्ने विधान छ । यो कर्म वैदिक-सनातन-वर्णाश्रम-धर्ममा साह्रै महत्त्वपूर्ण हुँदाहुँदै पनि अहिले समाजमा त्यति प्रसिद्ध नभएकाले वैदिक धर्मानुयायी आस्तिक जनहरूमा शास्त्रीय वस्तुस्थितिको ज्ञान दिन यहाँ यस विषयमा केही विस्तारमा चर्चा गर्न लागिएको छ ।

अध्यायोपाकर्म, उपाकर्म वा वेदारम्भ

अध्यायोपाकर्म वा उपाकर्म भन्ने शब्द नेपाली समाजमा त्यति प्रचलित नभएकाले यसको अर्थ पनि प्रसिद्ध भएको देखिँदैन । तसर्थ यसको शाब्दिक तथा लाक्षणिक अर्थ विचार गर्न आवश्यक हुन आएको छ । सामान्यतः उपाकर्म-शब्दले कुनै पनि कार्यको आरम्भ वा उपक्रमलाई बुझाउने भए तापनि यस प्रसङ्गमा उक्त शब्दले शास्त्रीय विधिका साथ वेद पढ्ने कार्यको आरम्भ भन्ने बुझाउँछ । त्यसैले उपाकर्मलाई नै अध्यायोपाकर्म पनि भन्दछन् । यहाँ अध्यायको अर्थ वेद भएकाले वेदको अध्ययनको आरम्भ नै अध्यायोपाकर्म हो । अध्यायोपाकर्मलाई नै वेदारम्भ पनि भन्न सकिन्छ ।

आजभोलि व्रतबन्ध गर्दा चूडाकर्म, उपनयन, वेदारम्भ र समावर्तन गरी चारोटा संस्कार एकै दिन सिध्याउने चलन छ । किन्तु चूडाकर्म सामान्यतः एक वर्ष पुगेपछि तीन वर्षसम्ममा शिखा (टुप्पी) राख्नका निम्ति गर्नुपर्ने एक स्वतन्त्र संस्कार हो । त्यसै गरी उपनयन-संस्कार (वेद पढ्नका निम्ति बटुकलाई गुरुको नजिक लगेर गरिने संस्कार) पनि ब्राह्मणका निम्ति आठदेखि सोह्र वर्षसम्ममा, क्षत्रियका निम्ति एघारदेखि बाइस वर्षसम्ममा र वैश्यका निम्ति बाह्रदेखि चौबिस वर्षसम्ममा गर्नुपर्ने छुट्टै संस्कार हो । व्रतबन्धकै दिन वेदारम्भ भनी गरिने कर्मचाहिँ वस्तुतः गृह्यसूत्रहरूमा (संस्कारहरूको प्रतिपादन गर्ने र विधि बताउने शास्त्रीय मूल ग्रन्थहरूमा) उल्लिखित देखिँदैन । मनुस्मृति-याज्ञवल्क्य-स्मृतिहरूमा पनि वेदारम्भको प्रतिपादन गरिएको छैन । व्यासस्मृतिमा चाहिँ वेदारम्भक्रियाविधि भन्ने संस्कारको उल्लेख पाइन्छ । किन्तु त्यहाँ यो शब्द अध्यायोपाकर्मकै पर्यायवाची शब्दको रूपमा आएको बुझिन्छ । अध्यायोपाकर्म वा उपाकर्मको उल्लेख चाहिँ सबै गृह्यसूत्रहरूमा पाइन्छ । अतः उपनयन गरिसकेपछि वर्षा ऋतु लागेपछि गरिने प्रथम अध्यायोपाकर्म नै वेदारम्भ-संस्कार हो भन्ने निष्कर्ष निकाल्नु शास्त्रसम्मत देखिन्छ । हाम्रा पिताजीले पनि हामी पाँचै भाइ छोरालाई विधिपूर्वक उपाकर्म गरेर मात्र आफूले यथाविधि पढेका स्वशाखाका वैदिक ग्रन्थहरूको अध्यापन गर्नुभएको थियो । विधिपूर्वक वेदाध्ययन गर्नु ब्राह्मणहरूका निम्ति सबैभन्दा ठुलो र साह्रै महत्त्वपूर्ण कर्तव्य हो । यो कुरा बुझ्ने मान्छे अचेल दुर्लभ भएका छन् ।

उक्त प्रकारले आचार्यले (गुरुले) विधिपूर्वक उपनयनसंस्कार गरेपछि बटुकलाई यथासमय अध्यायोपाकर्म गरी वेद पढाउन प्रारम्भ गर्ने संस्कार नै वेदारम्भ हो भन्ने बुझिन आएपछि यसको स्वरूपका विषयमा पनि छोटो चर्चा गर्न प्रासङ्गिक नै होला । पारस्करगृह्यसूत्रमा “अथातोऽध्यायोपाकर्म, ओषधीनां प्रादुर्भावे श्रवणेन श्रावण्यां पौर्णमास्याम्” (२।१०।१–२) भनिएको हुनाले शुक्लयजुर्वेदाध्यायीहरूको अध्यायोपाकर्म वा उपाकर्म ओषधीहरूको बोटबिरुवा उम्रेपछि वर्षा ऋतुको पहिलो पूर्णिमामा अर्थात् नभोमासका (आर्तव श्रावण महिनाका) पूर्णिमामा गर्नुपर्ने देखिन्छ । त्यो दिन कुनै प्रतिबन्ध हुने भएमा “श्रावणस्य पञ्चमीं हस्तेन वा” भनी त्यहीँ उल्लिखित भएकाले वर्षा ऋतुको पहिलो शुक्ल-पञ्चमीका दिन पनि उपाकर्म गर्न सकिने देखिन्छ । उपाकर्ममा अग्निमा घिउ र भुटेका जौ होम्ने, समिदाधान गर्ने, भुटेका जौ र दही खाने तथा वेदका अध्यायहरूको प्रतीकहरूको (आदिभागहरूको) शिष्यलाई उपदेश गर्ने काम मुख्य रूपमा हुन्छन् । उपाकर्मको र उत्सर्जनको वैदिक पद्धति स्वाध्यायशालाबाट प्रकाशित “संस्कार-पद्धति”मा (२०७६) प्रकाशित छ ।

ऋग्वेदीहरूको उपाकर्म पनि पानी पर्न थालेर घाँसपात उम्रन थाल्नेबित्तिकै श्रावण महिनामा श्रवण नक्षत्रले अथवा हस्त नक्षत्रले उपलक्षित कालमा हुन्छ भन्ने कुरा शाङ्खायन-गृह्यसूत्रमा छ– “अथोपाकरणम्, ओषधीनां प्रादुर्भावे, हस्तेन श्रवणेन वा” (४।५।१–३) । यस वचनबाट पनि पूर्णिमा वा शुक्ल-पञ्चमी तिथि नै उपाकर्मका निम्ति अभिप्रेत भएको बुझिन्छ ।

गृह्यसूत्रहरूमा ओषधीहरूको प्रादुर्भाव भएपछि अर्थात् पानी परेर घाँसपात उम्रेपछि उपाकर्म गर्नू भनेर निर्देश गरिएकाले  उपाकर्म वर्षा ऋतुसँग सम्बद्ध पर्व हो भन्ने कुरा स्पष्ट रूपमा बुझिन्छ । अतः शुक्लयजुर्वेदीहरूले वर्षा ऋतु लागेपछिको पहिलो पूर्णिमामा उपाकर्म गर्नुपर्ने कुरा स्पष्ट  हुन्छ ।

यसै गरी सामवेदाध्यायीहरूले भाद्र-शुक्लपक्षमा पूर्णिमाका दिन उपाकर्म गर्नुपर्ने कुरा गोभिलगृह्यसूत्रमा उल्लिखित देखिन्छ– “प्रौष्ठपदीं हस्तेनोपाकरणम्” (३।३।१)। वर्षा ऋतुको वर्णन गर्दा रामायणमा आदिकवि वाल्मीकिले ‘सामवेदीहरूको उपाकर्म गरी वेदाध्ययन गर्ने समय आयो’ भन्ने कुरा– अयमध्यायसमयः सामगानामुपस्थितः (४।२८।५४) भनी उल्लेख गरेका छन् ।

अथर्ववेदीहरूले पनि श्रावणको वा भाद्रको शुक्ल-पूर्णिमाका दिन उपाकर्म गर्नुपर्ने कुराको उल्लेख कौशिक(गृह्य)सूत्रमा छ– “अथ वेदस्याऽध्ययनविधिं वक्ष्यामः,  श्रावण्यां प्रौष्ठपद्यां वोपाकृत्याऽर्धपञ्चमान् मासानधीयीरन्” (१४१।१–२)

गृह्यसूत्रहरूमा ओषधीहरूको प्रादुर्भाव भएपछि अर्थात् पानी परेर घाँसपात उम्रेपछि उपाकर्म गर्नू भनेर निर्देश गरिएकाले  उपाकर्म वर्षा ऋतुसँग सम्बद्ध पर्व हो भन्ने कुरा स्पष्ट रूपमा बुझिन्छ । अतः शुक्लयजुर्वेदीहरूले वर्षा ऋतु लागेपछिको पहिलो पूर्णिमामा उपाकर्म गर्नुपर्ने कुरा स्पष्ट  हुन्छ । जजसका गृह्यसूत्रमा वर्षा ऋतुको दोस्रो पूर्णिमामा उपाकर्म गर्नू भन्ने विशेष विधान छन् ती कतिपय सामवेदी र अथर्ववेदीहरूले वर्षा ऋतु लागेपछिको दोस्रो पूर्णिमामा उपाकर्म गर्नुपर्ने कुरा पनि बुझिन्छ । वर्षा ऋतुको पहिलो पूर्णिमा केही हजार वर्ष बितेर आउँदा अयन-चलनले गर्दा अचेल धेरै नै अघि सरिसकेको हुनाले प्रचलित पञ्चाङ्गले निर्देश गरेको पूर्णिमाभन्दा सामान्यतया एक वा दुइ महिनाअघि नै पूर्णिमामा जनैपूर्णिमा मान्नुपर्ने हुन्छ । यस वर्ष वैदिक तिथिपत्रअनुसार वर्षा ऋतु लागेपछिको पहिलो पूर्णिमा अर्थात् वैदिक नभःशुक्लपूर्णिमा गत असार १७ गते परेको थियो । वर्षा ऋतुको दोस्रो पूर्णिमा अर्थात् नभस्यशुक्लपूर्णिमा चाहिँ गत साउन १६ गते परेको थियो ।

उपाकर्म गरेर ब्रह्मचारीका सामान्य नियमहरूको पालना गर्दै साढे चार महिना वा साढे पाँच महिनासम्म स्वशाखावेदको ग्रहणाध्ययन (गुरुमुखबाट वेद उच्चरित भएपछि तदनुसार शिष्यले पनि त्यसको उच्चारण गर्ने गरी गरिने अध्ययन) शिष्यहरूले गर्नुपर्छ । त्यसपछि पुस महिनामा रोहिणी नक्षत्र परेको दिन वा पौषकृष्णाष्टमीका दिन वेदाध्ययनको उत्सर्जन (ग्रहणाध्ययन-विराम) गर्नुपर्छ भनेर पारस्करगृह्यसूत्रमा उल्लखित छ– “पौषस्य रोहिण्यां मध्यमायां वाऽष्टकायामध्यायानुत्सृजेरन्” (२।१२।१) ।  उत्सर्जन गर्ने कालका विषयमा अन्य गृह्यसूत्रमा पनि निर्देश गरिएको छ–

शाङ्खायनगृह्यसूत्रमा– “माघशुक्लप्रतिपदि” (४।६।१) ।
गोभिलगृह्यसूत्रमा– “तैषीमुत्सृजन्ति” (३।३।१४) ।
कौशिक(गृह्य)सूत्रमा– “आरम्भः  श्रावण्यामुक्तः पौष्यामुत्सर्ग उच्यते” (१४१।५) ।

उत्सर्जन गरेपछिका शुक्लपक्षहरूमा ग्रहण गरिसकेका (गुरुबाट विधिवत् पढिसकेका) वेदभागको धारणाध्ययन (चिरकालसम्मका लागि कण्ठस्थ पार्न गरिने अभ्यास) गर्ने र कृष्णपक्षहरूमा वेदाङ्गहरूको (शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्दःशास्त्र र ज्योतिषको) अध्ययन गर्ने शास्त्रीय विधि देखिन्छ–

अत ऊर्ध्वं तु छन्दांसि शुक्लेषु नियतः पठेत् ।
            वेदाङ्गानि च सर्वाणि कृष्णपक्षेषु सम्पठेत् ।। –मनुस्मृति ४।९८

अर्को वर्ष फेरि उपाकर्मको समय आएपछि उपाकर्म गरी पहिला गुरुबाट ग्रहण नगरेको वेदभागको गुरुका मुखबाट सुनेर ग्रहणाध्ययन गर्ने र उत्सर्जनको समय आएपछि ग्रहणाध्ययनको विराम गरी (रोकी) त्यही वेदभागको कण्ठस्थ गर्न गरिने धाराणाध्ययन तथा वेदाङ्गहरूको अध्ययन पूर्वोक्त प्रकारले नै गर्ने गर्नुपर्छ । एवं रितले वेद-वेदाङ्गको अध्ययन पूर्ण गर्नुपर्छ । यस कुरालाई हृदयङ्गम गर्न नसकेका हुनाले धेरै आधुनिक लेखकहरूले उपाकर्मका र वेदाध्ययनका विषयमा अन्यथा लेखेको देखिन्छ । किन्तु त्यो भ्रमपूर्ण र प्रमादपूर्ण हो । वेदको अध्ययन-अध्यापनको शास्त्रीय परिपाटी उपर्युक्त प्रकारको नै हो । यो कुरा विभिन्न वेदशाखाका गृह्यसूत्रहरूको राम्ररी अध्ययन-मनन गरेमा स्पष्ट बुझिन्छ । मन्त्रको यातायामत्व (बासीपन) हटाउन वर्षवर्षदिनमा उपाकर्म गरिने हो, ग्रहणाध्ययन गर्न-गराउन हैन भन्ने धारणा गृह्यसूत्रमा बताएको उपाकर्मको स्वरूपको अनुकूल छैन । शुक्लयजुर्वेदका सम्बन्धमा त त्यो कुरा कदापि लागु हुन सक्दैन भन्ने कुरा याज्ञवल्क्यले आदित्य-(सूर्य)-बाट कदापि यातयाम (बासी) नहुने वेद प्राप्त गरेको भन्ने पुराणप्रसिद्ध कथाबाट र मन्त्रभ्रान्तिहरसूत्रका वचनबाट पनि देखिन्छ । यी विषयमा केही विशेष प्रमाण वाक्यहरू हाम्रा पिताजी सुगृहीतनामा शिवराज आचार्य कौण्डिन्न्यायनद्वारा रचित वैदिक धर्म मूल रूपमा (प्र.सं. २०४५, द्वि.सं. २०६२) भन्ने ग्रन्थमा सङ्कलित छन् ।

शुक्लयजुर्वेद-माध्यन्दिनीय-शाखाका अध्येताहरूले पढ्नुपर्ने मूल ग्रन्थहरूमा शुक्लयजुर्वेदसंहिता ४० अध्याय, शतपथब्राह्मण १०० अध्याय, कात्यायनश्रौतसूत्र २६ अध्याय, पारस्करगृह्यसूत्र ३ काण्ड, कातीय-त्रिकण्डिक-स्नानसूत्र, कात्यायन-श्राद्धकल्पसूत्र, भोजनसूत्र, शुक्लयजुर्वेदप्रातिशाख्य, लगधमुनिप्रोक्त याजुष-वेदाङ्गज्योतिष, कातीय-प्रतिज्ञासूत्र, याज्ञवल्क्यशिक्षा, अष्टादश परिशिष्ट यी ग्रन्थ प्रमुख छन् । वेदाङ्गमध्ये शिक्षाको  प्रातिशाख्य र शिक्षाग्रन्थका रूपमा तथा कल्पको श्रौतसूत्र र गृह्यसूत्रका रूपमा गणना माथि भैसकेको छ । अन्य वेदाङ्गहरूमा पाणिनीय व्याकरण, यास्कीय निरुक्त र पिङ्गलच्छन्दःसूत्र पर्दछन् । यी सबै वेदाङ्गको पनि अध्ययन गर्नुपर्छ । माध्यन्दिनीय-शाखाका अध्येताहरूले यिनै ग्रन्थहरूको अध्ययन गरेर यिनैका वचनअनुसार कर्मकाण्डको अनुष्ठान गर्नुपर्ने वैदिक-सनातन-सिद्धान्त हो । आवश्यक पर्दा यी वेद-वेदाङ्गका वाक्य र प्रकरणका अर्थमा वेदोपाङ्गरूप मीमांसाशास्त्रका न्यायका आधारमा सन्देहको निवारण गर्ने व्यवस्था छ । जैमिनीय धर्ममीमांसासूत्र र बादरायणीय ब्रह्ममीमांसासूत्रका आधारमा सम्भावित सबै सन्देहको निराकरण हुन्छ । यिनमा भएका विषयका समर्थक स्मृति-पुराणका वचनहरू पनि पाइन्छन् । स्वशाखावेद र स्वशाखासूत्रसित नमिल्ने परशाखामूलक स्मृति-पुराणका वचनचाहिँ अग्राह्य हुन्छन् ।

वैदिक नियममा रहेका अधिकारसम्पन्न गुरुसँग वैदिक नियममा रहेकै अधिकारसम्पन्न शिष्यले विधिवत् उपाकर्मको अनुष्ठान गरेर पढेपछि नै कुलपरम्पराबाट आएका स्वशाखाका वेदसंहिता, ब्राह्मणग्रन्थ, श्रौतसूत्र, गृह्यसूत्र र परिशिष्टसूत्रको आधिकारिक ज्ञान हुन्छ । साथै उपाकर्मबाटै वेदाङ्ग र वेदोपाङ्गका आधिकारिक मूल ग्रन्थ चिनिन्छन् र ती ग्रन्थ गुरुपरम्पराबाट प्राप्त हुन्छन् । कुन स्वशाखा हो कुन परशाखा हो भन्ने र कुन वेदाङ्ग ग्रन्थ हो कुन हैन भन्ने पनि छर्लङ्ग हुन्छ । वेदाङ्गग्रन्थका नियम शाश्वत नियम हुन् । उपाकर्ममा गरिएका प्रतीक-प्रवचनबाट व्याकरणमा पाणिनीय-व्याकरण नै वेदाङ्ग-व्याकरण रहेछ यसैले भनेअनुसारका विभक्ति-वचन मिलाएर वाक्य प्रयोग गरे मात्र वैदिक कर्मको फल प्राप्त हुने रहेछ; लगधमुनिप्रोक्त ज्योतिषग्रन्थ नै वेदाङ्ग-ज्योतिष रहेछ यसैले भनेअनुसार पञ्चसंवत्सरात्मक युग, वर्ष, अयन, ऋतु, महिना, पक्ष र तिथिको परिभाषा मानेर वैदिक कर्मको काल बुझ्न र त्यस अनुरूपको काल समातेर वैदिक कर्मको अनुष्ठान गर्न पर्ने रहेछ र त्यसो गरे मात्र वैदिक कर्मको अदृष्ट फल प्राप्त हुने रहेछ इत्यादि वैदिक मूल सिद्धान्तका कुराहरू स्पष्टसँग बुझिन्छन् । यसैलाई मूल वैदिक सनातन सम्प्रदाय भन्दछन् । उपाकर्मको र गुरुपरम्पराननुसारी स्वाध्यायाध्ययनको यो रहस्य नबुझेका मानिस अलमलमा पर्छन् । माथि भनिएका यिनै ग्रन्थ प्रामाणिक वेदाङ्गग्रन्थ हुन् भन्ने कुरा लौगाक्षिस्मृति, देवीभागवत, शिवपुराण-कैलाससंहिता तथा अह्निकसूत्रावलिमा समेत  ती ग्रन्थका प्रतीकको उल्लेख गरी बताइएको छ । शुद्धकुलीन उपाध्याय ब्राह्मणले आफ्नो ब्राह्मण-जुनी सार्थक बनाउन पनि स्वशाखाको वेद र मूल वेदाङ्ग-ग्रन्थ पढ्न र बुझ्न अनिवार्य भएको कुरा ‘ब्राह्मणेन निष्कारणो धर्मः षडङ्गो वेदोऽध्येयो ज्ञेयः’ भन्ने वचन समेत उद्धृत गरी पाणिनीय व्याकरणको पतञ्जलि मुनिकृत महाभाष्यमा पनि गरिएको छ । स्वशाखावेदका ग्रन्थ तथा मूल वेदाङ्ग-ग्रन्थहरू र पूर्वोत्तर-मीमांसाशास्त्रसँग विरोध परेका अर्वाचीन पुस्तकका कुरा भने वैदिक सनातन धर्मका अनुष्ठानका सन्दर्भमा सर्वथा त्याज्य नै हुन्छन् । वेद, वेदाङ्ग र मीमांसाशास्त्रको अध्ययन नगरी पछिपछि बनेका पुस्तक मात्र पढेर वेद-वेदाङ्गले बताएको मूल वैदिक कर्ममार्ग र ज्ञानमार्ग तथा त्यसको रोहरित केही पनि बुझ्न र ग्रहण गर्न सकिँदैन ।

वेद नपढ्ने केवल व्याकरण, ज्योतिष, न्याय, साहित्य इत्यादिमध्ये कुनै एक-दुई अन्य विषय मात्र पढ्न समय लगाउने वा अर्थोकै कार्यमा व्यस्त भएर जीवन बिताउने ब्राह्मणको निन्दा शास्त्रमा धेरै गरिएको छ । जस्तै–

योऽनधीत्य द्विजो वेदमन्यत्र कुरुते श्रमम् ।
स जीवन्नेव शूद्रत्वमाशु गच्छति सान्वयः।। –मनुस्मृति २।१६८

समावर्तन-संस्कार

वेद-वेदाङ्गको अध्ययन पूर्ण गरेपछि स्नान अर्थात् समावर्तन-संस्कार गर्ने विधान देखिन्छ– “वेदं समाप्य स्नायात्” (पारस्करगृह्यसूत्र, २।६।१) । स्नान गरेकालाई स्नातक भन्दछन् र ऊ गृहस्थाश्रममा प्रवेश गर्न योग्य मानिन्छ । यसै शास्त्रीय नियमका प्रभावले नै आजभोलि लौकिक-विद्याध्ययन गरी उत्तीर्ण हुनेलाई पनि स्नातक भन्ने चलन चलेको हो ।

यसरी विधिपूर्वक वेदवेदाङ्गको अध्ययन पूर्ण गरेका शुक्लयजुर्वेदाध्यायी स्नातकले गृहस्थाश्रममा प्रवेश गरेपछि आफू आचार्य (गुरु) नभएमा श्रावणी पूर्णिमामा उपाकर्म गर्नुपर्ने देखिँदैन । किन्तु जसले उपनयन-संस्कारपछि गुरुकहाँ बसेर वेदवेदाङ्गको अध्ययन पूर्ण गर्न सक्तैन, केवल ब्रह्मचारि-धर्मको पालन गरेर वेदव्रत मात्रै समाप्त गरी समार्वतन गर्छ, त्यस्ता स्नातकले चाहिँ गृहस्थ भइसकेपछि मात्र हैन, वानप्रस्थ भैसकेपछि पनि उपाकर्ममा संलग्न भई वेदाध्ययन गर्न सक्छ ।

श्रावणी पूर्णिमाकै दिन द्विजातिले ऋषिपूजन गर्ने र नयाँ यज्ञोपवीत (जनै) अभिमन्त्रण गरी नयाँ जनै फेर्ने चलन छ ।  यस कर्मका विषयमा शास्त्रीय विचार-विमर्श गरी समुचित स्पष्टीकरण गर्न आवश्यक देखिन्छ । पारस्करगृह्यसूत्रको उपनयन-संस्कारका प्रकरणमा यज्ञोपवीत धारण गर्ने कुरा मूल रूपमा नआएर क्षेपक (पछि थपिएको अंश) का रूपमा आएको छ र त्यहाँ प्रामाणिक व्याख्याताहरूले यस अवसरमा परम्परागत रूपमा यज्ञोपवीत धारण गर्ने आचरण भइआएकाले यज्ञोपवीत धारण गर्नुपर्छ भनी लेखेका छन् ।

उपाकर्म भनेको गुरुको प्रमुखतामा गुरुको र शिष्यहरूको संयुक्त रूपमा हुने वेद पढ्न-पढाउन थाल्न गरिने विशेष कर्म हो, परस्परमा गुरुशिष्यभाव नै नभएका व्यक्तिहरूको संयुक्त रूपमा हुन सक्ने कर्म हैन । आजभोलि वेदाध्ययन गर्ने व्यक्तिहरू दुर्लभ हुँदै गएकाले शास्त्रीय विधिअनुसार अद्ध्यायोपाकर्म गरी वेद पढ्ने-पढाउने गुरु-शिष्यको अतिविरलता भएको देखिन्छ । यथाकथञ्चित् वेद पढ्ने-पढाउनेले पनि शास्त्रीय मर्यादा र विधिको कुनै वास्तै नगरी लौकिक विद्या पढ्ने-पढाउनेले झैँ पढे-पढाएका वेदमन्त्रले धार्मिक कृत्य गर्ने-गराउने गरेको देखिन्छ । शास्त्रीय विधिको उल्लङ्घन गरी पढे-पढाएका वेदमन्त्रले धार्मिक कृत्यहरू गर्दा ती कृत्यहरूको शास्त्रले जुन फल वा लक्ष्य बताएको छ, त्यो फल वा लक्ष्य सिद्ध हुँदैन भन्ने प्रामाणिक शास्त्रीय व्यवस्था भएकाले विद्वान् धर्मशास्त्रीहरूले गम्भीर रूपमा विचार गरी यस विषयमा धार्मिक जनतामा जागरण ल्याई आफ्नो धर्मको रक्षा गर्नमा यथोचित मार्ग प्रदर्शन गर्नुपर्ने देखिन्छ ।

जनैपूर्णिमा

श्रावणी पूर्णिमाकै दिन द्विजातिले ऋषिपूजन गर्ने र नयाँ यज्ञोपवीत (जनै) अभिमन्त्रण गरी नयाँ जनै फेर्ने चलन छ ।  यस कर्मका विषयमा शास्त्रीय विचार-विमर्श गरी समुचित स्पष्टीकरण गर्न आवश्यक देखिन्छ । पारस्करगृह्यसूत्रको उपनयन-संस्कारका प्रकरणमा यज्ञोपवीत धारण गर्ने कुरा मूल रूपमा नआएर क्षेपक (पछि थपिएको अंश) का रूपमा आएको छ र त्यहाँ प्रामाणिक व्याख्याताहरूले यस अवसरमा परम्परागत रूपमा यज्ञोपवीत धारण गर्ने आचरण भइआएकाले यज्ञोपवीत धारण गर्नुपर्छ भनी लेखेका छन् । कुनै पनि धार्मिक कृत्य गर्दा उत्तरीय तथा अधोवस्त्र (नसिएका उपर्ना र धोती­) लगाउनुपर्ने शास्त्रीय विधान देखिएको र प्राचीन कालमा उत्तरीयको रूपमा मृगचर्म (मिर्गको छाला) ओढ्ने चलन भएको कुरा बुझिएको हुँदा मृगचर्मको अभावमा सुतीको उपर्ना ओढ्ने र त्यसको पनि अभावमा जनै लगाउने चलन प्राचीन कालदेखि नै चलेको हो कि भन्ने सम्भावना गर्न उपर्युक्त तथ्यबाट सजिलै सकिन्छ । यस्तो धारणाका अनुकूल स्मृतिपुराणादिका वचन पनि पाइन्छन् । किन्तु यस विषयमा शास्त्रीय रूपमा गम्भीर अनुसन्धान गरी निष्कर्ष निकाल्न आवश्यक देखिन्छ । यस विषयमा जस्तोसुकै निष्कर्ष निस्के पनि श्रावणी पूर्णिमाकै दिन सबै यज्ञोपवीत अभिमन्त्रण गरेर वर्ष दिनसम्म जुन-जुन वेलामा नयाँ यज्ञोपवीत फेर्नुपर्छ त्यस-त्यस वेलामा श्रावणी पूर्णिमाकै दिन अभिमन्त्रण गरेर राखेका यज्ञोपवीत फेर्नुपर्छ भन्ने जुन धारणा र प्रचलन आजभोलि चलेको छ त्योचाहिँ शास्त्रीय वचनमा आधृत कुरा देखिँदैन । नेपालमा तागाधारी सबैले आफूले लगाउनुपर्ने जनै आफैँ मन्त्रन नजान्ने हुनाले नै व्यवहारमा सजिलो पार्न यसै दिन ब्राह्मणहरूद्वारा अभिमन्त्रित जनैहरू वर्ष दिनसम्म आवश्यकताअनुसार प्रयोग गर्ने गरिएको बुझिन्छ । श्रावणी पूर्णिमाकै दिन यज्ञोपवीत अभिमन्त्रण गर्नुपर्छ भन्ने विधि वैदिक वाङ्मयमा नभेटिएकाले नै होला भारततिर र नेपालमै पनि मिथिलामा जुनसुकै दिन होस् आवश्यक परेका वेलामा यज्ञोपवीत अभिमन्त्रण गरी लगाउने चलन पनि रहेको देखिन्छ । यस प्रचलनको औचित्य वा अनौचित्यका विषयमा र यज्ञोपवीतको शास्त्रसम्मत स्वरूपका विषयमा पनि धर्म-संस्कृतिविद्हरूले गम्भीर विचार-विमर्श गरी धार्मिक जनसमुदायलाई यथार्थ शास्त्रीय कुरा बुझाउन उचित देखिन्छ । शिखा र सूत्र (जनै) ब्राह्मणत्वका मूल कुरा भएकाले यिनको नित्य धारण गर्नुपर्छ भन्ने विशेष निर्देश पाइन्छ–

शिखां सूत्रं च तद्युग्मं ब्राह्मणत्वस्य मूलकम् ।
यया कया च विधया शिखां सूत्रं च बिभृयात् ।। –स्मृतिसन्दर्भ, पृ. २९५६

रक्षाबन्धन

श्रावणी पूर्णिमाकै दिन रक्षाबन्धनको कार्य पनि सम्पन्न गर्ने परम्परा रहिआएको छ । रक्षा होस् भनेर शुद्ध भएर विधिपूर्वक अभिमन्त्रण गरेको डोरो पुरोहित वा सामान्य ब्राह्मणका हातबाट नाडीमा बन्धन गरिने हुनाले यस दिनलाई रक्षाबन्धन पनि भन्ने गरिन्छ । रक्षाबन्धनको महत्त्व र महिमाका विषयमा पुराणहरूमा चर्चा गरिएको भेटिन्छ । यसरी रक्षाबन्धन गराएमा वर्षदिनसम्म चारै वर्णको कल्याण हुने, दुष्ट प्रेत-पिशाचबाट बचाउ हुने, रोग-व्याधिहरूको र अरू सबै अशुभ कुराहरूको विनाश हुने, सबै विघ्न हट्ने, जितबाजी सुख आरोग्य धन र पुत्र मिल्ने इत्यादि कुरा भविष्यपुराणका उत्तरपर्वमा बताइएको छ । देवताहरूले दानवहरूबाट आफ्नो रक्षा गर्नका लागि रक्षाबन्धन बाँधेका थिए भन्ने कुरा त्यहाँ उल्लिखित छ । रक्षाबन्धन बाँधिदिँदा तल लेखिएको पौराणिक मन्त्र भन्ने चलन छ–

येन बद्धो बली राजा दानवेन्द्रो बहाबलः ।
तेन त्वामभिबध्नामि रक्षे मा चल मा चल ॥

–भविष्यमहापुराण, उत्तरपर्व १३७।२०

अर्थात् जुन डोरोले दानवहरूमध्ये सबैभन्दा श्रेष्ठ अतिबलवान् दानवहरूका राजा बलि बाँधिए, त्यसै डोरोले  तिमीलाई बाँध्दछु, हे रक्षाबन्धन डोरी, तिमी यहाँ(नाडी)बाट चलेर अन्त नजाऊ ।

रक्षाबन्धन केवल श्रावणी पूर्णिमाका दिन बाँध्ने नभई मङ्गलकार्यहरू (नामकरण, व्रतबन्ध, विवाह आदि) गर्दा पनि बाँध्ने चलन छ । श्रावणी पूर्णिमाका दिन रक्षाबन्धनचाहिँ तागाधारीले मात्र हैन, स्नान-दान गरी मतवालीले पनि बाँध्ने विधान छ । त्यसैले यो सबै सनातनीहरूको चाड हो ।

उपसंहार

उपर्युक्त प्रकारले श्रावण-शुक्ल-पूर्णिमाका दिन गरिने अध्यायोपाकर्म वा उपाकर्म, नवीन यज्ञोपवीतको धारण र रक्षाबन्धनमध्ये उपाकर्म पूर्णतः वैदिक कर्म हो भने बाँकी दुई पौराणिक कृत्य हुन् । पौराणिक कृत्यहरू सरल र सर्वलोकग्राह्य भएकाले समाजमा बढ्ता प्रचलित हुने र वैदिक कार्यहरू जटिल र विशिष्टजनग्राह्य मात्रै हुने भएकाले समाजमा त्यति व्यापक रूपमा भिज्न नसक्ने कुरा मनन गरी वैदिक धर्मका अनुयायीहरूले वेद र सूत्रग्रन्थमा प्रतिपादित कृत्यहरूको यथार्थ स्वरूप बुझ्न र तिनको पनि यथाशक्ति संरक्षण र अनुपालन  गर्न प्रयास गर्नुपर्ने देखिन्छ ।

भदौ १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्