स्वामी चन्द्रेश- ‘अ रेयर एण्ड रियल बेंगाल टाइगर’  

कृष्ण गीतामा भन्छन् –
ममैवांशो जीवलोके जीवभूतः सनातनः |
मनःषष्ठानीन्द्रियाणि प्रकृतिस्थानि कर्षति || १५.७ ||

‘यस बद्ध जगतमा सारा जीव मेरै शाश्वत अंश हुन्। बद्ध जीवनका कारण सबै जना छः वटै इन्द्रीयसँग अनवरत संघर्ष  गरिरहेका छन्। मन पनि एउता इन्द्रिय हो।’

मेरो ‘इन्साइक्लोपीडिया अफ रिलिजन एण्ड स्पिरिच्युआलिटी’, मेरो मित्र, मेरो सखा, मेरो गुरु, मेरो ‘मेन्टर’,  मेरो अभिभावक, मेरो पिता, मेरो जीवनको अमूल्य निधि, मेरो मानसिक एवम दैहिक विचलनको रोकथाम गर्ने ‘ह्याभी एन्टीबायोटिक डोज’, मेरो त्रितापनाशक सञ्जीवनी बूटी, मेरो रचनात्मक आलोचक, मेरो रहनुमा, मेरो पथ प्रदर्शक, मेरो जीवनको ‘क्वाण्टम फ्लैशलाइट’, समग्रमा मेरो सर्वस्व स्वामी चन्द्रेश ब्रह्मनिद्रामा लीन भएका छन्।

मलाई थाहा छैन – तपाईं कुनै गुरुकोमा, उसको आश्रममा अथवा उसलाई भेट्न कुन प्रयोजनले जानु हुन्छ। कुन डरले, कुन रहरले, कुन लोभले, कुन आशाले, कुन तृष्णाले, कुन कुण्ठाले, कुन मन्तव्यले गुरु तपाईंको गन्तव्य भएको हुन्छ!

म बूढानीलकण्ठस्थित त्यो आश्रम-कम-स्कुलमा उन्मुक्त विचरण गर्ने ‘रोरिंग बेंगाल टाइगर’लाई उनको दहाड, उनको दिनचर्या, उनको रचनात्मकता, उनको धार्मिकता, जीवनप्रतिको उनको प्रासंगिकता, उनको मौजमस्ती, उनको वाणी – विद्धता, उनको स्पष्टता, उनको बेबाक शैली -अन्दाज  र बेखौफ मिजाज हेर्न -सुन्न -बुझ्न र जिउन पुगेको हुन्थें।

२०५३ सालदेखि अन्तिमको भेटसम्म ३५ -४० पटक भेटें होला मैले स्वामी चन्द्रेशलाई।  शायद २ अथवा ३ पटक कुनै साथी-भाइलाई लिएर, कुनै विशिष्ट प्रयोजनले स्वामीजीको सक्षम उपस्थित भएँ होला अन्यथा सबै पटक नितान्त निठ्ठल्लागिरी गर्न निष्प्रयोजन पुगेको हुन्थें।

तपाईं आश्रममा गुरुलाई भेट्न जाँदा के लिएर जानु हुन्छ ? मिठाई – फलफूल – पुष्प, पुष्पगुच्छा, खादा ! मैले यो परम्परा कहिल्यै पालन गरिन। अधिकांश पटक खाली हात कहिले काहि चक्रपथस्थित बेकरीबाट चीज केक, एप्पल पाई, मुफिन, डैनिश रोल, डोनट, कुकीज, ब्राउन ब्रेड त कहिले समोसा, भेजिटेबल पकौडा लिएर पुगेको हुन्थें म बूढानीलकण्ठ स्वामीजीलाई भेट्न ।

‘यो हेर, अच्युत चियाका लागि ‘बेस्ट’ खाजा लिएर आएको छ, जाऊ भाई जाऊ छिट्टै चिया पकाएर ल्याऊ’ , स्वामीजी नजिकमा रहेको कुनै भाई-बहिनीलाई अह्राउनु हुन्थ्यो।

‘अच्युत आज तिमीले ल्याएको कोसेली खाएर यो सन्यासी प्रफुल्लित बनेको छ। ल अब तिमीलाई म हलुवा पकाएर ख्वाउछु,’ म स्वामीजीसँग पाकशालामा पुगेर उनको पाककला अवलोकन गर्थे। उहाँ जुन तन्मयताले योग ध्यानका कुरा गर्नु हुन्थ्यो, ध्यान सिकाउनु हुन्थ्यो, गीत – संगीतमा रमाउनु हुन्थ्यो, चित्र कोर्नु हुन्थ्यो, त्यही तन्मयता हलुवा पकाउने प्रक्रियामा व्यक्त गर्नु हुन्थ्यो। जोगीगिरीमा १५-१७ वर्ष दर-दरको ठक्कर खाएपछि मात्रै बुद्धिको बिर्को खोलिएर थाहा पाएँ- ध्यान कुनै विशिष्ट आसनमा बसेर गरिने आगन्तुक व्यवहार होइन.. यो त जीवनको प्रत्येक कर्ममा समग्रता का साथ लागि पर्ने कला हो – कौशल हो।

२-३ पटक स्वामीजीले आश्रममा बस्ने गरी बोलाउनु भयो। कैयन रात उहाँसँग ‘ओल्ड अण्ड गोल्ड’ क्लासिकल अंग्रेजी फिल्म हेरेर बितेका छन् यस मनमौजी सन्यासी ज्ञानमित्रका।

एक पटक आफ्नो जर्मन महिला मित्र हालिनासँग आश्रम बस्न पुगेको थिएँ। हामी दुबै जनाले स्वामीजीलाई ‘होल बडी’ मसाज दियौँ। मसाज पछि स्वामीजीलाई नुहाउन लायौँ। नुहाए छि उहाँले ‘दिस इज समथिंग न्यू एक्सपीरियंस इन माई लाइफ, यु मेक मी ग्लैड, नाउ दिस इज माई टर्न टु  मेक यु बोथ ह्यापी एण्ड रिल्याक्स’ भन्दै उहाँले आफ्नो बाहुलीनबाट हिन्दी – बंग्ला – नेपाली – संस्कृत र अंग्रेजी भाषामा गीत गाउदै त्यस रातलाई दिव्य संगीतमय बनाई दिनु भयो।

‘स्वामीजी ! कुनै व्यक्तिले सद्गुरु कसरी भेट्टाउन सक्छ?’ कुनै दिन मैले सोध्ने गल्ती गरिहालेँ।

‘यो कुनै चिन्ताको विषय होइन अथवा यो तिमी जस्ता मानिसको चिन्ताको विषय होला। तिमीलाई थाहा छ भने मलाई यति भनिदेउ – कुनै गुरुले सद-शिष्य कसरी, के गरी र कहाँ गएर खोजोस्?’

रामकृष्ण परमहंसको जीवनबाट विवेकानन्दलाई हटाएर हेर ! परमहंसको अस्तित्व उहिल्यै लोप भैसक्ने थियो। योगानन्दले अमेरिका पुगेर ध्वजारोहण नगरेको भए लाहिडी महाशय – युक्तेश्वर गिरी – महावतार बाबाबारे दुनियाँले कसरी थाहा पाउने थियो ? एउटा गुरुलाई शिष्यले जीवित राख्छ।  शिष्यको चिन्ता सद्गुरु कसरी पाउँ भन्ने कुनै ठूलो  चिन्ता नै होइन, यो जुनीमा नपाए अर्को जुनीमा पाउन सक्छ। तर गुरु त एउटा महान उपलब्धि हो। उसले प्रकृतिका धेरै रहस्य आत्मसात गरेको हुन्छ। असल शिष्य नपाए उसको सारा उपलब्धि उसैसँग जान्छ, समाप्त हुन्छ ।

अर्जुन जस्तो शिष्य, जसले कृष्णबाट १८ अध्यायसम्म गीता भन्न लायो। ५७४ श्लोक (गीतामा श्लोक संख्या ७००) भन्न लायो। विश्वरूप हेरेपछि पनि प्रश्न – जिज्ञासा गर्न छाडेन। तिमी गीतालाई कृष्णको करुणामय वाणी नठान ! गीता त अर्जुनको हठको परिणाम हो, बाध्य भएर कृष्णले गीता जस्तो ग्रन्थ ओकल्नु पर्‍यो।

एउटा गुरु जीवनभरी एउटा उत्तम शिष्य पाउने आशामा बसेको हुन्छ। मलाई लाग्छ- अधिकांश गुरुको यो चाहना पूरा हुँदैन। अहिलेका  शिष्यहरुको प्रमुख उद्देश्य त गुरुको ‘नेम – फेम – ब्राण्ड -आश्रम’ कब्जा गरेर मठाधीश हुनु रहेको हुन्छ।

ल भन त, तिमीले ओशोलाई खुबै पढेका छौं – के उनले सारा जीवन अरण्य रोदन गरेर पनि एउटा गतिलो शिष्य पाउन सके ! स्वयम्भू बुद्ध घोषणा गर्ने शिष्य त ओशोका थुप्रै छन्। तर के एक जना पनि सम्झिने – चर्चा गर्ने लायक छ, संगत गर्ने लायक छन्?

‘ओशो डेस्ट्रइड बाई हिज ओन डिसाइपल्स विद इन टू डिकेड्स।’

‘कहाँ हवन कुण्डको ज्वालामा हात राख्न पुगेछु म’ ! तर स्वामीजीको कुरामा पूर्ण सत्यता थियो।

एक दिन चर्चा गर्ने क्रममा जान्ने भएर भन्न पुगेछु – स्वामीजी ‘आई हयाभ अ ननसेन्स क्वेस्चन।’

‘डोन्ट वरी माई डियर यु क्यान आस्क एनी ननसेन्स क्वेस्चन, आई हयाभ थाउजैंड्स अफ ननसेन्स एनसर्स’।

मंगलबार १५ अगस्टको बिहान उठ्ने बित्तिकै स्वामीजीको महाप्रयाणबारे थाहा पाए।  काठमाण्डूका एक जना मित्रलाई सूचनाबारे पुष्टि गर्न लाए। पुष्टि हुनसाथ ६ बजेर ५ मिनेटमा फेसबुकबाट श्रद्धाञ्जलि अर्पित गरेँ।

स्वामीजीको भौतिक अवसानको समाचारले मलाई किञ्चित पनि दुखी  बनाएन। सबैको नियति यही हो, स्वामीजी आफ्नो आयु – कृत्य – कर्तव्य सम्पूर्णता र समग्रताका साथ सम्पन्न गरेर जानु भएको हो। तर समाचार सुने पछि मनले केही खल्लो अनुभव गर्‍यो। चिया खान आश्रम परिसर बाहिरको पसलमा गएँ।

नेपालबाट सरस्वती प्रतीक्षाको फोन आयो। उनले मसँग पहिलोपटक सम्पर्क गरेकी थिइन्। उनले अध्यात्म सम्बन्धी चर्चा गरिन्।  शायद उनले लेखिरहेको  पुस्तकको कथानकमा कुनै पात्रका लागि यो चर्चा चाहिएको थियो उनलाई।

म भारतको तीर्थनगरी हरिद्वारमा भएकोले उनले नेपालमा अध्यात्म चर्चा गर्न सकिने केही नाम सिफारिस गर्न भनिन्।

केही साथीहरुको नाम लिँदा मलाई अन्तरबोध भइसकेको थियो मैले के गुमाएँ !

कुनै पनि साथी-भाइले आध्यात्मिक जिज्ञासाका लागि कसैको नाम सोध्दा म स्वामी चन्द्रेशको नाम उल्लेख गर्ने गर्थे।  अब मसँग यस प्रयोजनका लागि स्वामी चन्द्रेशको नाम ‘रेफर’ गर्ने सुविधा रहेन। यो मेरा लागि अपूरणीय क्षति हो।

आज लोकाचार हानि-लाभ बिर्सेर भन्न प्रेरित छु – २० वर्ष भईसक्यो पत्रकारिताबाट पलायन भई सन्यासी जीवनमा प्रवेश गरेको। यी दुई दशकमा नेपाल – भारतका सयौँ गुरु – स्वामी – आचार्य – महामंडलेश्वर – धर्म अध्यात्म जगतका स्थापित -चर्चित – ख्यातिलब्ध महाशयहरुलाई भेटेंको छु, संगत गरेको छु।  ८ -१० जनाको त सल्लाहकार भएर काम गरेको छु। कसैप्रति कुनै किसिमको पुर्वाग्रह नराखी भन्न सक्छु अधिकांश गुरु धार्मिक धन्धेबाज छन्। स्वामी चन्द्रेशसँग भारतका यी तमाम अर्बौपति गुरुहरुको तुलना नै हुन सक्दैन। अहिले भारतका अधिकांश गुरु, गुरु नभएर गुरुघण्टाल रहेका छन्।

जुन गुरु तपाईंसँग सेक्सका बारेमा बोल्न सक्दैन, तपाईंको घर घरायसी अशान्ति र कलहबारे विमर्श गर्दैन, तपाईंलाई धर्म-अध्यात्म र जगत व्यवहारमा सामञ्जस्य गर्न भन्दैन, तपाईंसँग मात्र स्वर्गको, मुक्तिको, निर्वाणको, परमपदको, ईश्वरको, साधनाको, शास्त्रको चर्चा गरेर अल्मलाउँछ। ‘काउन्सिलिङ’ गर्न त परै जाओस्, सामान्य संवाद पनि गर्न सक्दैन, यस्तालाई के गुरु मान्नु !

हरिद्वारको पाइलट बाबा आश्रममा गुरुपुर्णिमाको अवसरमा एउटा स्मारिका निकाल्ने मौका पाएँ।  पायलट बाबाले एक दिन म स्मारिका संयोजक र प्रधान सम्पादक योग माता चेतनासँग भन्नु भयो – ‘क्या बेटा तुम लोग सिर्फ अध्यात्म – समाधि – त्याग -वैराग्य और साधना की बातें करते हो / लिखते हो। लोंगों को जीवन के बारे मे बताओं।  उनके जीवन मे अध्यात्म और दैनिक व्यावहारिक जीवन मे कैसे बैलेंस हो, यह लिखो। आज घर-घर मे हरेक मनुष्य अनेकौं समस्यायों से जुझ रहा है। उसकी जरुरत एक कप गर्म चाय है और तुम लोग उसे शर्बत पिलाए जा रहे हो!’

यहाँ धेरै अच्युत ज्ञानमित्र बन्ने आकांक्षामा भौतारिएका हुन्छन्, तिनलाई हर समय, हर घड़ी स्वामी चन्द्रेश जस्तो पथप्रदर्शकको आवश्यकता हुन्छ।  स्वामीजी यथा शीघ्र ‘पुनरपि जननी जठरे शयनम’ गर्दै यस धरामा आउनु होस्। 

पाउनु भएको छ कुनै यस्तो गुरु ? हेर्नु/सुन्नु भएको छ कुनै यस्तो गुरुबारे?

आफ्नो ध्यान शिविरमा सात दिन ध्यान गर्दा सबै समस्याबाट मुक्ति पाइन्छ भन्ने गुरु त नेपालमै पनि प्रशस्त छन् तर के तपाईंले जीवन – जगत र अध्यात्मरूपी त्रिभुजको तीनवटै भुजा, तीनवटै कोण र तीनवटै शीर्षको महत्व र उपादेयता बुझाउने गुरु फेला पार्नु भएको छ ? छ तपाईंको वरिपरि अथवा तपाईंले जानेको यस्तो कोही महानुभाव जसले तपाईंलाई सम्झाउन सक्छ – जीवन समबाहू त्रिभुज हो, यसका तिनवटै समान भुजाले बनेका सबै कोण एउटै  मापका अर्थात ६० डिग्रीका हुनुपर्छ। याद राख्नुस् – यो त्रिभुज न्यून कोण अथवा अधिक कोण त्रिभुज हुन गयो भने अथवा विषमबाहु त्रिभुज हुन गयो भने ‘न खुदा ही मिला न बिसाले सनम’को स्थिति हुन्छ।

स्वामी चन्द्रेशले एक दिन मेरा हातमा बाल्मिकी रामायण थमाउँदै भन्नु भयो – रेन्डमली यसलाई खोलेर काहिँबाट पनि पढ।

कैकेयी रिसाएर कोपभवन पुगेको र राजा दशरथ उनलाई फकाउन गएको पाना खुल्यो। म पढ्दै गएँ – कैकेयीका माग  सुनेर दशरथ भुइँमा पछारिएँ, निष्चल- निश्चेत-अचेत हुन पुगेँ। राम आई पुगेँ।  पिताको त्यस्तो अवस्था हेरेर कैकेयीसँग के भएको सोधे।  कैकेयीले सारा वृतान्त भने पछि रामले म पिताको आज्ञाले १४ वर्ष वन जान तयार छु भनेर सहमति दिए।

स्वामीजीले मलाई रोकिन भन्नु भयो। र, सोध्नुभयो –  राम कसको आज्ञा पालन वन गइरहेका छन् ?  वाल्मिकीले त दशरथ कैकेयीको कुरा सुन्नासाथ  मुर्छित भएको लेखेका छन्। यहाँ त कैकेयीले नै रामलाई सारा वृतान्त सुनाएको उल्लेख छ।  दशरथले त रामलाई केही भनेका छैनन्। अनि रामलाई यो बुद्धि कहाँबाट आयो जे उनी भनीरहेका छन म पिताको आज्ञाले वन जान तैयार छु ! राम कैकेयीको षड्यन्त्र अथवा आफ्नो स्वेच्छाले वन जान तैयार भएका हुन, यहाँ दशरथको त कुनै रोल छैन।

अच्युत, हेर यसरी नै सबै शास्त्रहरुमा घालमेल गरिएको छ। समयको प्रवाहमा कुनै पनि शास्त्र, कुनै पनि विचार, कुनै पनि दर्शन यहाँसम्म कि कुनै पनि कथा मूल रुपमा रहन सक्दैन।  त्यसमा अनेकन प्रक्षेपण हुन्छन।

स्वामी चन्द्रेशको भौतिक अवसानले मैले वस्तुनिष्ठ ‘इन्टरप्रेटर’  गुमाएको छु। उहाँबाट मैले वेददेखि उपनिषद, अनेकन पुराण, विभिन्न धार्मिक ग्रन्थ, तन्त्र विषयक अनेकन ग्रंथावलीको मर्म र सार अभेद बुद्धिले आत्मसात गर्ने सौभाग्य पाएको थिएँ।

एक दिन चर्चा चल्यो – ‘योगानन्दले आफ्नो पुस्तक ‘अटोबायोग्राफी अफ अ योगी’मा जिसस क्राइस्ट र कृष्ण एकसाथ विचरण गर्ने उल्लेख गरेका छन’, यो के हो स्वामीजी ?

‘अमेरिकामा शरण लिनुपर्ने भएकोले कृष्णका साथ जिससलाई उभ्याउनु पर्‍यो, कुनै मुस्लिम देशमा शरण लिनुपर्ने बाध्यता भएको भए कृष्णका साथ मुहम्मदलाई उभ्याउने विवशता हुन्थ्यो उनलाई,’ स्वामीजीले झन्डै एक लाइन र एक श्वासमै जबाब दिनुभयो।

स्वामी चन्द्रेशको यो एउटा मात्रै स्पष्टवादिताले  गुरुडममाथि लगाइएको स्वर्णलेप सोझै पित्तलमा परिणित हुन्छ।

नेपालको नयाँ संविधानले हिन्दू धर्म छाडेर निरपेक्षता अँगालेपछि हिन्दूहरुद्वारा भएको विरोधका प्रखर वक्ता हुनु हुन्थ्यो स्वामी चन्द्रेश।

पशुपति प्रांगणमा आयोजित सभामा स्वामी चन्द्रेश जनसमूहलाई सम्बोधित गर्दै हुनु हुन्थ्यो।  मसँगै नजिक रहेका विद्धान माधव भट्टराई भन्दै हुनु हुन्थ्यो – उहाँले जति विद्धता, जति तर्क, जति चेतना जगाए पनि भारतीय भएको कारण जनमानसमा उहाँको प्रभाव पर्दैन। म माधव भट्टराईको कथनमा लुकेको ईर्ष्या र वैमनस्यताको मात्रा हेरिरहेको थिएँ। अहिले नेपालमा हिन्दू धर्मका लागि कार्यरत सयौँ संस्था र स्वयम्भू धार्मिक अभियन्ता छन्। काश ! कसैमा स्वामी चन्द्रेशको दशांश पनि भई दिए हुन्थ्यो ! धार्मिक अभियन्ताको बर्को ओढेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग दानापानीको व्यवस्था झार्न सक्नु पनि कला हो।  यस कलामा नेपाली धार्मिक अभियन्ता पोख्त छन् भन्नुमा दुइ मत हुन सक्दैन।

धेरै महानुभावले स्वामी चन्द्रेशको महाप्रस्थानमा अ-आफ्नै  किसिमले सम्वेदना व्यक्त गरे- कसैले स्वर्गवासको, कसैले  मोक्षको त कसैले परमपदको मंगलकामना व्यक्त गरे। क्षमा गर्नु होला म यस्तो कुनै कामना व्यक्त गर्न सक्दिन। मेरो नजरमा स्वामी चन्द्रेश जस्तो पवित्र आत्माको अपरिहार्यता स्वर्ग अथवा मुक्तिभन्दा यस लौकिक जगतमा छ। यहाँ धेरै अच्युत ज्ञानमित्र बन्ने आकांक्षामा भौतारिएका हुन्छन्, तिनलाई हर समय, हर घड़ी स्वामी चन्द्रेश जस्तो पथप्रदर्शकको आवश्यकता हुन्छ।  स्वामीजी यथा शीघ्र ‘पुनरपि जननी जठरे शयनम’ गर्दै यस धरामा आउनु होस्।

भदौ ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्