नेपाल इन्टरनेट फाउण्डेसनको अनलाइन आर्ट प्रतियोगिताको घोषणा

काठमाडौं- नेपाल इन्टरनेट फाउण्डेसनले आयोजना गरेको २ दिने कार्यक्रम ‘एक अभियान’ कला प्रदर्शनी र कार्यशाला सम्पन्न भएको छ। नेचर पेन्ट्स इन्भाइरोमेन्ट थिमसहित भदौ २ र ३ गतेसम्म ललितपुरको विकल्प आर्ट सेन्टरमा कला प्रदर्शनी र कार्यशाला सञ्चालन भएको थियो।

कलाले समाजमा पार्न सक्ने गहिरो प्रभावलाई राम्रो काममा योगदान पुर्‍याउने उद्देश्यले एक अभियान सञ्चालन गर्दै आएको फाउन्सेसनकी कार्यक्रम संयोजक तजैना श्रेष्ठले जानकारी दिइन्।

२ दिनसम्म सञ्चालनमा भएको एक अभियानमा करिब ८० जना सहभागी भएका थिए। सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको छ।

सहभागीहरूले अनुभवी कलाकारहरूको नेतृत्वमा अन्तरक्रियात्मक कार्यशालाहरूमार्फत् कलासँग प्रत्यक्ष संलग्न हुने अवसर पाएका थिए।

२ दिने कार्यक्रमबाट संकलन भएको रकम बाल आश्रमका बालबालिकालाई इन्टरनेटको पहुँचमा पुर्‍याउन खर्च गरिने श्रेष्ठको भनाइ छ।

यसका साथै फाउण्डेसनले आइतबारदेखि अनलाइन आर्ट प्रदर्शनी तथा प्रतियोगिता सुरु गरेको छ। हरेक महिनाको अन्तिमसम्म अनलाइन माध्यमबाट आउने पेन्टिङ मध्ये एउटा पेन्टिङलाई उत्कृष्ट घोषणा गरिने छ।

पेन्टिङ एक अभियानको फेसबुक पेजबाट पेन्टिङ पठाउन सकिने छ। उत्कृष्ट पेन्टिङ छनौटका लागि बुढानिलकण्ड जेसिसका अध्यक्ष मोहन गुरुङको संयोजकत्वमा एकजना आर्टिस्ट प्रशिक्षक र नेपाल इन्टरनेट फाउण्डेसनको कार्यक्रम निर्देशकको समिति बनाइएको छ।

उत्कृष्टलाई प्रमाणपत्र र एक अभियानको टिसर्ट दिइने छ। अनलाइन प्रतियोगितामा कुनै पनि थिम, साइजमा जुनसुकै उमेर समूहकाले ड्रइङ, पेन्टिङ, स्केच पोटट्रेट, फोटोग्राफी, डिजिटल आर्ट, फल्क आर्ट, एब्स्ट्रयाक्ट, मधुवाणी, मोर्डन लगायत आफैं बनाएको ‘आर्जिनल आर्ट’ पठाउन सक्ने छन्।

कुनै पनि ब्याक ग्राउण्डबिना आर्ट स्पष्ट हुनुपर्नेछ भने आर्ट होरिजन्टल्ली खिचेर पठाउनु पर्नेछ।

हालसम्म काठमाडौं उपत्यकामा आयोजना भइरहेको एक अभियान प्रदर्शनी र कार्यशाला अब काठमाडौं बाहिर चितवन वा हेटौंडामा गर्ने योजना रहेको फाउण्डेसनले जनाएको छ।

एक अभियान नेपालका बाल आश्रममा इन्टरनेट पुर्याउन नेपाल इन्टरनेट फाउण्डेसनले सुरू गरेको हो। ३९ वटा बाल आश्रममध्ये अहिलेसम्म २१ वटामा इन्टरनेट पुर्याइएको छ भने बाँकीमा पुर्याउने योजना रहेको छ।

यस कार्यक्रमको माध्यमबाट गुणस्तरीय शिक्षा, सभ्य काम र दिगो समुदायहरूलाई समेट्ने दिगो विकास लक्ष्यहरू ४, ८, र ११ सँग पङ्क्तिबद्ध गर्दै कला र प्रविधि बीचको सम्बन्ध बढाउने लक्ष्य राखिएको छ।

नेपाल इन्टरनेट फाउण्डेसन एउटा प्लेटफर्म सिर्जना गर्न उत्साहित छ जहाँ कलाको शक्तिलाई प्रविधिको पहुँचसँग मिसाएर, फाउण्डेसनले कला समुदाय र आवश्यकतामा परेकाहरूको जीवन दुवैमा दिगो प्रभाव पार्ने लक्ष्य राखेको छ।

भदौ ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्