नेपाल नेत्रज्योति संघ र आइ केयर फाउन्डेसनबीच सम्झौता

काठमाडौं- नेपाल नेत्रज्योति संघअन्तर्गत कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लामा सञ्चालित आँखा उपचार केन्द्रहरूको स्तरोन्नतिका लागि नेत्रज्योति संघ र आइ केयर फाउन्डेसनका बीचमा सम्झौता भएको छ।

बुधबार नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र तथा आइ केयर फाउन्डेसनको तर्फबाट फाउन्डेसनका सिइओ वियोन स्टेनभर्स र नेपालका कन्ट्री डाइरेक्टर अनिल गोर्खालीले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै नेत्रज्योति संघका उपाध्यक्ष एबं कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्लले भौगोलिक रूपमा पछाडि परेको कर्णाली प्रदेशका विकट जिल्लाहरूमा आँखा उपचार सेवा विस्तारका लागि सहयोग गरेकोमा आइ केयर फाउन्डेसनलाई धन्यवाद दिए।

नेपाल नेत्रज्योति संघ र आइ केयर फाउन्डेसनका बीचमा विगत ३९ वर्षदेखि नेपाली जनताहरूलाई सहज तथा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्न निरन्तर सहकार्य भइरहेको छ।

हाल नेपाल नेत्रज्योति संघले देशभरमा २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरूमार्फत् नेपाली जनताहरूलाई शुलभ मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ।

भदौ ७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्