संसद्‌मा कानुन बनाउन सत्ता र विपक्षी दुवै गैरजिम्मेवार, गणपुरक माग्ने एमालेकै सांसदले छाडे बैठक

फाइल फोटो।

काठमाडौँ – प्रतिनिधि सभामा विधेयक अघि बढाउन विपक्षी दलहरु गैरजिम्मेवार रुपमा प्रस्तुत भएका छन्। मंगलबार ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ को सैद्धान्तिक छलफलपछि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न खोज्दा गणपुरक संख्या मागेर विपक्षी एमाले र रास्वपाका सांसदहरु आफैँ बैठक छाडेर निस्किएका हुन्।

विधेयकको सैद्धान्तिक छलफल सकेर कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उठेका प्रश्नको जवाफ दिने क्रममा रास्वपाकी सांसद सुमना श्रेष्ठ, एमालेका ठाकुर गैरे र दामोदर पौडेल ‘बैरागी’ले गणपुरक संख्या माग गरे।

संविधानको धारा ९४ अनुसार गणपुरक माग गरेपछि सभामुख देवराज घिमिरेले ३ मिनेट घण्टी बजाएर उपस्थित सांसदको संख्या एकीन गर्न आदेश दिएपछि एमाले र रास्वपाका सांसदहरु बैठक छाडेर हिँडेका हुन्।

तीन मिनेटको घण्टीपछि उपस्थित सांसदको संख्या ५९ मात्रै भएपछि सदनमा कुनै पनि प्रस्ताव पेश गर्न चाहिने न्युनतम एक चौथाई सदस्य (६९) जना नपुगेपछि पारित हुन सकेन।

मंगलबार प्रतिनिधिसभाको बैठकमा हाजिर गर्ने सांसदको संख्या भने २२० जना थियो। उनीहरुले हाजिर गरे बापत एक दिनको बैठक भक्ता र सवारी साधन भक्ता प्राप्त गर्नेछन्।
तर सांसदको कानुन बनाउने मुख्य जिम्मेवारी भने पूरा नगरी १६१ जना हिडेको हाजिर पुस्तिकाले देखाउँछ।

धारा ९४ ले सदनमा कुनै पनि प्रस्ताव पेश गर्न कम्तिमा एक चौथाई सदस्य उपस्थित हुनैपर्ने व्यवस्था गरेको छ।

आफैँ गणपुरक संख्या माग गरेर बाहिर निस्कने विपक्षी दलका सांसदको कार्यले कानुन निर्माणमा असहयोग भएको छ। सामान्यतया गणपुरक संख्या माग गरेपछि सदन छाडेर हिँड्नुलाई नैतिक हिसाबले राम्रो मानिँदैन।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डले आफैँ गणपुरक संख्या मागेर हिँड्नु विपक्षीको गैरजिम्मवारपन भएको बताए।

सांसद गैरेले घण्टी बजेपछि आफूहरुले सदन नछाडेको दाबी गरे। उनले गणपुरक संख्या पुर्‍याउने दायित्व सत्ता पक्षको भएको उल्लेख गरे। ‘गणपुरक संख्या पुर्‍याउने दायित्व विपक्षीको होइन। सत्ता पक्षकै हो,’ गैरेले भने, ‘कानुनमन्त्री बाहेक अरु कुनै मन्त्री सदनमा उपस्थित थिएनन्। विधेयककै छलफलमा भाग लिएका सत्ता पक्षका सांसदहरु बैठक छाडेर हिँडे।’

सामान्यतया संसदमा सरकारी प्रस्तावको पक्षमा बहुमत पुर्‍याउने र पारित गर्ने दायित्व सत्ता पक्षको हो। मंगलबार सत्ता पक्षको गणपुरक संख्या पुर्‍याउन गरेको हेलचेक्र्याइँ र घण्टी बजेपछि बाहिर निस्कने विपक्षीको कार्यले कानुन निर्माणमा अवरोध सिर्जना भएको छ।

गणपुरक संख्या नपुग्दा विधेयक भदौ १८ गतेको बैठकमा पेश हुने भएको छ।

भदौ १२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्