शिक्षामा सबै वर्गको समान पहुँच पुग्नुपर्छः नागेश कोइराला

मोरङ – विराटनगरका विद्यालयले कक्षा ११ का लागि विद्यार्थीलाई छुट्ट्याएको १० प्रतिशत छात्रवृत्तिको प्रवेश परीक्षा भएको छ।
विराटनगरस्थित आदर्श मावि र पोखरिया मावि केन्द्रमा शनिबार प्रवेश परीक्षा भएको हो।

प्रवेश परीक्षाको अनुगमन गर्दै महानगरका मेयर नागेश कोइरालाले शिक्षामा सबै वर्गको समान पहुँच पुग्नुपर्नेमा जोड दिए। उनले जेहेन्दार र मिहिनेती विद्यार्थीसँगै सबैले प्रवेश परीक्षामा सहभागी भएर छात्रवृत्ति उपयोग गर्नेमा विश्वस्त रहेको बताए।

महानगरले शिक्षा, स्वास्थ्य, सरसफाइमा विशेष प्राथमिकतासाथ काम गर्दै आएको मेयर कोइरालाले बताए।

नेपाल सरकारको नियमानुसार सबै निजी शैक्षिक संस्थाले अनिवार्य १० प्रतिशत छात्रवृत्ति कोटा छुट्याउनुपर्ने व्यवस्थाअनुरुप महानगरले प्रवेश परीक्षा लिएको मेयर कोइरालाले जानकारी दिए।

महानगरले लिएको छात्रवृत्तिमा १ हजार १ सय ५० जना परीक्षार्थी सहभागी भएका थिए। सहभागी विद्यार्थी संख्यामध्ये ६ सय ९८ जना विद्यार्थीले छात्रवृत्ति पाउने महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए।

प्रमुख प्रशासकीय अधिकृत पराजुलीका अनुसार परीक्षामा महानगर क्षेत्रभित्र ११ र १२ कक्षा सञ्चालन गर्ने १४ वटा विद्यालयले सहभागिता जनाएका छन्। परीक्षा अनुगमनका क्रममा उपमेयर शिल्पा निराला कार्की, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडासदस्य अञ्जु दाहाललगायत सहभागी थिए।

भदौ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्