ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेश हुन्छः शिक्षामन्त्री राई

फाइल फोटो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा उनले ख्वप विश्वविद्यालय विधेयक–२०७३ संसद अधिवेशन अन्त्य भएका कारण निष्क्रिय भएपछि त्यसको मस्यौदा तयारीको काम पुनः शुरु गरिएको र प्रक्रिया पूरा भएपछि त्यसलाई छिट्टै संसदमा पेश गर्ने जानकारी दिए।

बैठकमा सांसद प्रेम सुवालले सो विधेयक कहिले संसदमा पेश हुन्छ ? भनी मन्त्री राईलाई प्रश्न गरेका थिए।

मन्त्री राईले सो विधेयकको मस्यौदा तयार गर्नका लागि सरकारले कार्यदल नै गठन गरेको र त्यसले आफ्नो काम गरिरहेको समेत बताए।

उनले भने, ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ को कार्यान्वयनसँगै आधारभुत शिक्षा निःशुल्क र अनिवार्य भईसकेको छ । माध्यामिक तहसम्मको शिक्षा पनि कानूनतः निशुल्कनैछ । सो भन्दा माथिको शिक्षा लक्षित वर्गहरुका लागि निःशुल्क छ । चिकित्सा, इन्जिनियरिङजस्ता विषयमा उल्लेख्य संख्यामा विद्यार्थीहरुले पूर्ण छात्रावृत्ति पाउने हुनाले उनीहरुका लागि पनि शिक्षा निःशुल्क सरहनै हुन्छ । ख्वप विश्वविद्यालयको विधेयक २०७३ मंसिर २६ मा व्यवस्थापिका संसद सचिवालयमा पठाइएकोमा उक्त विधेयक संसदमा प्रस्तुत नै नभई अधिवेशन अन्त्य भएका कारण निष्कृय भयो । उक्त विश्वविद्यालयको नयाँ विधेयक तर्जुमा लागि मन्त्रीपरिषदबाट पुनः सैद्धान्तिक स्वीकृति प्राप्त गरी मिति २०७९ कात्तिक ३० मा मन्त्रालयमा कार्य दल गठन गरी विधेयकको मस्यौदा तयार गरिरहेको र प्रक्रिया पूरा भएपछि सरकारले उक्त विधेयक संसदमा यथाशिघ्र पेश गर्ने व्यहोरा अवगत गराउन चाहन्छु ।’

त्यस अवसरमा मन्त्री राईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ को कार्यान्वयनसँगै उच्च शिक्षा समेत लक्षित वर्गका लागि निशुल्क नै रहेको दाबी गरेका थिए।

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्