बिपी साहित्य महोत्सवका लागि ३७ सदस्यीय मूल तयारी समिति गठन

फाइल तस्बिर।

काठमाडौँ – कांग्रेसले बिपी साहित्य महोत्सव भदौ २४, २५ र २६ गते गरी तीन दिनसम्म मनाउने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो। साहित्य महोत्सव भदौ २४, २५ र २६ गते बिपी स्मृति भवन सानेपामा हुने पार्टीका नेता मीनबहादुर विश्वकर्माले बताए।

उनले महोत्सव सम्पन्न गर्न कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ३७ सदस्यीय मूल तयारी समिति गठन गरिएको जानकारी दिए।

उनले तीन दिनसम्म चल्ने महोत्सवमा पहिलो दिन बिपीको साहित्य सिर्जना र जीवन दर्शन, दोस्रो दिन माक्र्स, गान्धी र बिपीबारे चर्चा गर्ने र तेस्रो दिन बिपीको समाजवादमा शिक्षा कस्तो हुन्थ्यो होला भन्नेबारे प्रस्तुति हुने बताए।

उनले पहिलो दिन कविता साँझ, दोस्रो दिन गजल साँझ र तेस्रो दिन सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, हाइज्याक फर डेमोक्रेसी, वीर गणेशमान र तीन घुम्तीका वृत्त प्रदर्शनी हुने बताए।

पत्रकार सम्मेलनमा पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेसले ११० औं बिपी जन्मजयन्तीलाई नेपालको राजनीतिमा विचारको खडेरी पर्दै गएको हो कि भन्ने मानिसमा गुनासो र निराशापछि नेपालको राजनीतिमा विचारलाई केन्द्रमा राख्नेगरी, विचारको राजनीतिलाई पुनर्ताजकीकरण गर्ने, विचारको राजनीतिको दिशामा पुनर्जागरण ल्याउनेगरी साहित्य महोत्सव गरेको बताए।

उनले राजनीतिमा देखिएका अपसंस्कृति, गलत संस्कृतिको न्यूनतामा अन्त्य गर्दै असल संस्कृतिमा सिंगै राजनीतिलाई अभिमुख गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। पहिलो पटक आयोजना हुन लागेको साहित्य महोत्सवमा उपस्थित हुन पनि कांग्रेसले आग्रह गरेको छ।

 

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्