संविधानअनुसार बन्न बाँकी कानुन तदारुकतासाथ निर्माण गरौँः सांसद आलेमगर

नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले संविधान अनुसार बन्न बाँकी १८१ वटा कानूनहरु तदारुकताका साथ निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

सोमबार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा बोल्दै उनले संविधान अनुसार बन्न बाँकी काूननहरुको निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

उनले कतिपय कानूनहरु संविधान बनेको ३ वर्षभित्रै बन्नुपर्ने भएपनि हालसम्म बन्न नसकेको भन्दै उनले यसले गर्दा सरकारप्रति आशंका उत्पन्न भएको बताए।

उनले वर्तमान सरकारप्रति आदिवासी, जनजाति, दलित, मधेसी, महिला लगायत सम्पूर्ण उत्पीडित समुदायले आशाको दृष्टिले हेरेका उल्लेख गर्दै उनीहरुको आशा अनुरुप सरकारले काम गर्नुपर्ने बताए।

उनले भने – ‘संविधानमा बन्न बाँकी कानूनहरुमध्ये पनि तुरुन्तै बन्नुपर्ने, २/३ वर्ष भित्रै बन्नुपर्ने स्पष्टसँग उल्लेख भएको कानूनपनि हामीले बनेको पाएनौँ । उदाहरणको लागि दलित सम्बन्धि कानून । दलित सम्बन्धि कानून २/३ वर्षभित्र बन्नुपर्ने । त्यस्तै अन्य कानूनहरु पनि थिए तर त्यो कानूनपनि बनेन । दलित समुदाय त्यस्तै अन्य आदिवासी, जनजाति, मधेशी, महिला, मजदुर, किसान यि सबै बारेमा पनि बन्नुपर्ने कानूनहरु बनेनन् । यतिबेला उत्पीडित समुदायका जनताले प्रचण्डको नेतृत्वमा रहेको यो सरकारप्रति उत्पीडित, आदिवासी, जनजाति, दलित, मधेसी, महिला सम्पूर्ण उत्पीडित समुदायले बडा आशाको दृष्टिले हेरेका छन् । संवेदनशील, गम्भिर यो बारेमा सरकार सकारात्मक छ भन्ने उनीहरुको सोचाइ रहेको छ ।’

संविधान अनुसार बन्न बाँकी १८१ वटा कानूनहरु बनाउन सरकारले तदारुकता देखाउने छ भन्ने अपेक्षा लिएको आलेमगरले बताए।  ‘प्रधानमन्त्रीलाई यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छौँ,’ उनले भने।

उनले कानुन बनाउन सरकारले तुरुन्तै पहलकदमी लिनुपर्ने बताए।

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्