सुनसरीको दुहवी नगरका सुकुम्बासीलाई ८० वटा घर हस्तान्तरण

मोरङ – सुनसरीको दुहवी नगरपालिकाले अति विपन्न तथा सुकुम्बासीलाई ८० वटा घर हस्तान्तरण गरेको छ।
नगरप्रमुख आवास योजनाअन्तर्गत निर्माण भएका ८० वटा घर दुहबीको विभिन्न स्थानमा बसोबास गर्दै आएका विपन्न तथा सुकुम्बासीलाई सोमबार हस्तान्तरण गरिएको हो।

घर निर्माणको कागजपत्र हस्तान्तरणका क्रममा नगरका प्रमुख बेदनारायण गच्छदारले सुकुम्बासीले आगामी दिन घरविहीन भएर शिर झुकाउनुपर्ने अवस्था नआउने बताए।

सुकुम्बासीका लागि नगरपालिकाले आवाससँगै शिक्षा, स्वास्थ्य र रोजगारीका लागि आगामी दिनमा कार्यक्रम अघि बढाउने उनले बताए ।

स्रोत–साधन कमीका बाबजुद नगरपालिकाले १ सय २० वटा घर निर्माण गर्ने लक्ष्य लिएको बताएका मेयर गच्छदारले बाँकी ४० वटा घर पनि निर्माण गरिने जानकारी दिए।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले स्थानीय समाजसेवीसँगै करुणा फाउण्डेसनले ५० लाख रुपैयाँ सहयोगमा योजनाले मूर्तरुप पाएको जानकारी दिए।

आवास योजनामा करिब ६ करोड ६६ लाख रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए। जसमा जग्गा खरिद, सुविधा सम्पन्न भवन निर्माण गरिएको हो। नगरपालिकाले बाँकी ४० वटा घर निर्माण कार्य केही महिनाबाट सुरु गर्ने तयारी गरेको छ ।

नगर प्रमुख आवास योजनाको आवासीय घर निर्माणका लागि २०७६ सालमा शिलान्यास भएको हो । शिलान्यास भएको साढे तीन वर्षमा निर्माण सम्पन्न गरी भवन पाएको ३१ वर्षीया उषा खत्वेले बताइन्।

घरविहीन भएर बस्दा परिवार नै कष्टप्रद जीवन बिताउन बाध्य भएको बताएकी खत्वेले सरकारले भवन बनाइदिँदा पानी, झरी घामबाट जोगिन सहज भएको बताइन्।

योजनाअन्तर्गत निर्माण गरिएको घर ३ सय ३० स्क्वायर फुट क्षेत्रफलमा फैलिएको र प्रत्येक घरमा २ कोठासहित स्थान घर र शौचालय रहेको छ।

दुहवी नगरपालिकाको तनबुना बस्तीमा रहेका अति विपन्न, दलित, सीमान्तकृत अल्पसंख्यक, मुसहर, आदिवासी जनजातिलगायत परिवारले घर पाएका हुन्।

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्