कोशीमा विश्वासको मत विवादमा निवेदक पक्षको बहस: सभामुख र अध्यक्षता गर्ने व्यक्ति उस्तै हो

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत गैरकानुनीभएको जिकिर निवेदक पक्षले गरेको छ।

एमाले प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्कीले कांग्रेसका उद्धव थापाले बैठकको अध्यक्षता गरिरहेका सांसदले समेत मतदान गरेर लिएको विश्वासको बदर गर्न माग गर्दै दायर रिटमा सोमबार निवेदक पक्षले बहस सकेको छ।

न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदी सम्मेलित पूर्ण इजलासमा सोमबार निवेदक पक्षका एक दर्जनभन्दा बढी कानुन व्यवसायीले विश्वासको मत जालसाजीपूर्ण भएको दाबी गरेका हुन्।

भदौ ६ गते प्रदेशसभामा उपसभामुख उपस्थित नभएपछि उपस्थिति मध्ये जेष्ठ सदस्यको हैसियतमा कांग्रेसका सांसद इस्राइल मन्सुरीले बैठकको अध्यक्षता गरेका थिए।

बैठकको अध्यक्षता गरेका मन्सुरीले आफैँले घोषणा गरेको मतदानको समय सकिएपछि मत सच्याउने बेलामा आशनबाट उठेर थापाको पक्षको मतदान गरेका थिए।

संविधानको धारा १८६ ले सभाको अध्यक्षता गर्ने व्यक्तिले दुवै पक्षमा मत बराबर भएको अवस्थामा निर्णायक मात्रै मत दिन पाउने व्यवस्था गरे पनि मन्सुरीले पक्षमा ४६ र विपक्षमा ३० भएको अवस्थामा मतदान गरेका थिए। उनले मतदान गरेपछि विश्वासको मतका लागि चाहिने न्युनतम ४७ पुगेको थियो।

सोमबार कार्कीका तर्फबाट बहस गर्ने सबै जसो वकिलहरुले सभामुखै भएर बैठकको अध्यक्षता गर्नु र जेष्ठ सदस्यको हैसियतमा अध्यक्ष गर्नु समान भएको जिकिर गरे।

उनीहरुले मत बराबर भएको अवस्थामा अध्यक्षता गर्ने व्यक्तिले मत पाउने भए पनि त्यस्तो अवस्था नरहेको भन्दै संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको नेतृत्वमा सरकार बनाउन माग गरे। कार्कीको पक्षबाट सोमबार वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, कृष्णभक्त पोखरेल, सुरेन्द्र भण्डारी, राजेन्द्र घिमिरेलगायतले बहस गरेका थिए।

रिट बहस नसकिएकाले सोमबार ‘हेर्दाहेर्दै’मा राखिएको छ। मंगलबार विपक्षी मुख्यमन्त्री थापा पक्षधर वकिलहरुले बहस गर्नेछन्।

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्