बाघलाई घेरा हाल्न निस्किए राजारानी !

पोखरामा २३ वर्षपछि बाघजात्रा

पोखरा – डोलीमा रानी, घोडामा सवार राजा। राजारानीको अघिपछि सेना, प्रहरी। प्रधानमन्त्री, मन्त्री, यमराज, ज्यासीन्यासी, ढेके ग्वाँराको ताँती।

बाजाको तालामा तायाः मचा, कुमारी, लाखे र घोडा नाचको रौनक। सयौंको संख्यामा जनताको हूल बाँधेर बाघलाई घेरा हाल्न निस्किए।

सोमबार पोखरामा निकालिएको बाघजात्राको दृश्य हो, यो। विशेषत नेवार समुदायमा प्रचलित छ बाघजात्रा।

किन मनाइन्छ त बाघजात्रा ? बाघजात्रा आयोजक समितिका सदस्य केदारप्रसाद मर्सानीका अनुसार माघ मरेको खुशीयालीमा बाघाजात्रा मनाइन्छ। उनका अनुसार परापूर्वकालमा पोखरामा घनावस्ती थिएन। जंगलबाट वस्ती पसेको बाघले घर पालुवा जनावार आक्रमण गरेर निकै सतायो।

‘बाघले क्रमिक रुपले नोक्सान पुर्‍याउँदै गयो। धेरै गाईवस्तुको क्षति भएको हुनाले राजालाई गुहार्न जादाखेरी राजाले सैनिक खटाइदिनुभयो’, केदारप्रसाद भन्छन्, ‘सैनिक खटाएर बाघ आउने अखडा कहाँ कहाँ हो पत्ता लगाउनुभो।’

सैनिकले गौंडा ढुकेर हिंस्रक बाघ मारेपछि जनताले राजासँग गरेको माग पूरा भयो। खुशियालीमा राजा र जनता मिलेर हर्ष बढ्याँई गरे। त्यो बेलादेखि बाघाजात्रा निकाल्न सुरु गरिएको कथन उनले सुनाए।

त्यही कथन अनुसार नै बाघाजात्रा निकाल्न आइतबार बाघ आउने गौंडा गौंडामा निशान गाडिएको मर्सानीले बताए। सोमबार र मंगलबार सैनिकले बाघ खोजेपछि बुधबार फेला पारेर मारिनेछ।

जात्रै जात्रा देखाइने बाघजात्रालाई महाजात्रासमेत भनिन्छ। पोखरामा २३ वर्षपछि बाघजात्रा निकालिएको हो। यसअगाडि २०५७ सालमा बाघजात्रा निकालिएको थियो। बाघाजात्रा आयोजक समितिका अनुसार भने २०१४ सालदेखि भैरवटोलबाट सुरु भएको हो।

खर्चिलो भएकै कारण बाघजात्रालाई निरन्तरता दिन नसकेको संयोजक जवाहरलाल श्रेष्ठले बताए। ‘१००/१५० जना कलाकार खोज्नुपर्ने हुन्छ। कलाकारको व्यवस्था मिलाउन धेरै गाह्रो भएको कारणले अहिले २३ वर्षपछि जात्रा निकालिएको छ’, श्रेष्ठले भने, ‘अहिले हामीलाई तीन महिना तयारीका लागि समय लाग्यो।’ अब १५ लाख रुपैयाँको कोष खडा गरेर ५/५ वर्षमा बाघजात्रा निकाल्ने तयारी गरेको उनले सुनाए।

जवाहरलालका अनुसार बाघजात्रा नेवारसमुदाय मात्रै नभएको बताए। उनले जनैपूर्णिमादेखि कृष्णजन्माष्टमीसम्म निकालिने जात्रा र नाँच बाघाजात्रामा समेटिने उल्लेख गरे।

२३ वर्षपछि देखाइएको बाघजात्राले पोखरा परिक्रमा गर्नेछ। सोमबार पहिलो दिन नेवा छें, मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, बालधाराचोक, नालामुखचोक क्षेत्रमा जात्रा देखाइएको छ।

मंगलबार गणेशटोल, सिमलचौर, सिर्चजनाचोक, पृथ्वीचोक, महेन्द्रपुल क्षेत्रमा देखाइनेछ। बुधबार भीमसेन मन्दिर, तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौंडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदै पोखरा रंगशालामा जात्राको टोली पुग्नेछ। रंगशालामा पुगेर बाघलाई राजाले बध गर्नेछन्।

तान्त्रिक बाजाले लठ्ठाएर घेरा हालिएको बाघलाई गोली हानेर बध गर्नेछन्। बाघ मरेपछि सिन्दूर जात्रा गर्दै यसपालिको बाघाजात्रा सकिनेछ।

बाघजात्रालाई निरन्तरता दिनुपर्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए। ‘यस्ता जात्राले पोखराको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुर् याउनेछ’, उनले भने। पोखराका पूराना वस्तीलाई जोगाएर फरक ढंगले विकास गर्ने योजना महानगरले अगाडि सारेको छ।

युवापुस्तालाई सहभागी गराएर बर्सेनि जात्रा निकाल्नुपर्ने बाघजात्रामा सहभागी कलाकार रेशम परियारले बताए। ‘लोप हुन लागेको यो संस्कृतिलाई निरन्तरता दिएर सकिन्छ भने १/१ वर्षमा देखाउँदा उचित हुन्छ’, उनले भने, ‘भावी पुस्ताले सिकुन् र सँस्कृतिलाई जोगउँदै जानुपर्छ।’

अर्का कलाकार हर्खमान शाहीले नयाँ पुस्ताले चासो देखाउनुपर्ने बताए। ‘पुरानो पुस्ताले सिकाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ’,उनको सुझाव छ।

भैरवजात्रा, गाईजात्रा, गणेशजात्रा, माघेजात्रालाई निरन्तरता दिएका नेवार समुदायले अन्य समुदायसँग पनि सहकार्य गर्दै जात्रैजात्राको महाजात्रा बाघजात्रालाई पनि निरन्तरता दिन आवश्यक छ। मौलिक जात्राको संरक्षण गर्न राज्यको लगानी शून्यप्रायः छ।

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्