गोर्खा भर्तीको सेवासुविधाबारे सर्वोच्चले दिएको फैसलाको स्वागत

काठमाडौँ – ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले गोर्खा भर्तीबारे सर्वोच्च अदालतले दिएको फैसलाको स्वागत गरेको छ।

बिगेसोको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको गत माघ २४ गते फैसला भएको थियो। फैसलाको पूर्णपाठ हालसालै सार्वजनिक भएसँगै बिगेसोले आफूहरुले उठाउँदै आएको समानताको कुरा सर्वोच्च अदालतबाट समेत अनुमोदन भएको भन्दै खुशी व्यक्त गरेको छ।

सामान काम गरे पनि ब्रिटिश सेनालगायत अन्य देशका सैन्य सेवामा भर्ती भएका नेपालीहरुले समना सेवा सुविधा तथा निवृत्तिभरण नभएको भन्दै २९ वर्षदेखि आन्दोलन हुँदै आएको छ। बिगेसो आफ्ना माग सम्बोधन गराउन नेपाल सरकार गम्भीर नभएको भन्दै रिट हालेको हो।

फैसलाले सरोकारवालाहरुसँग छलफल चलाउन, नेपाल र संयुक्त अधिराज्य बीच रहेको ऐतिहासिक एवं विशिष्ट सम्बन्धलाई अझ मजबुत हुने, गोर्खा सेनाको सेवा सुविधालाई समुचित, समयानुकुल र समानतामा आधारित अरु सम्मानजनक बनाउन आवश्यक र उचित कदम लिन विपक्षीहरुको ध्यानाकर्षण गराउनु भनि निर्देशनात्मक आदेश हुनु सकारात्मक भएको बिगेसोको भनाइ छ।

अध्यक्ष पदमबहादुर लिम्बुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरोकारवालाका नाममा सबै खाले विभेद र समानताको निराकरणका लागि उचित ध्यानाकर्षण गराउनु भनि निर्देशनात्मक आदेश जारी गर्दै उक्त मुद्दाको फैसला हुनुले आन्दोलनले थप उचाई हाँसिल गरेको छ। यसरी सम्मानित सर्वोच्च अदालतबाट आएको फैसलालाई हाम्रो संगठन विगेसोले ऐतिहासिक र अत्यन्त सकारात्मक उपलब्धिका रूपमा लिएको छ।’

 

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्