पोखराको सडकमा २ हजार स्मार्ट लाइट, मोबाइलबाटै अनअफ गर्न मिल्ने

पोखरा – उज्यालो पोखरा अभियानअन्तर्गत पोखराका मुख्य सडकमा स्मार्ट लाइट र चोकमा हाइमास्ट लाइट बल्न सुरु गरेको छ।

२ हजार ७ वटा स्मार्ट सडक लाइट जडान गरिएको छ। पृथ्वीचोक, चिप्लेढुंगा, सभागृहचोक, बिरौटा, जिरोकिलोमिटरलगायत मुख्य २३ चोकमा हाइमास्ट लाइट बल्न थालेको छ।

पोखरालाई उज्याले बनाउन नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरपालिकाले ५०/५० प्रतिशत लागत साझेदारी गरेका छन्। स्मार्ट लाइट र हाइमास्ट लाइट जडान १४ करोड ६५ लाख रुपैयाँमा भएको छ। टप्सन इनर्जीले ठेक्का लिएर लाइट जडानको काम गरेको हो।

राष्ट्रिय सडकबत्ती प्रवद्र्धन परियोजनाअन्तर्गत १२० र ९० वाटका सडक लाइट र १६ मिटर अग्ला पोलमा २ सय वाटको ८ वटाका टरले हाइमास्ट लाइट जडान भएको छ। अधिकांश पूरानै विद्युत्तीय पोल प्रयोग गरिएको छ भने ४ सय ३९ वटा मात्रै नयाँ पोल थपिएको हो।

राष्ट्रिय सडकबत्ती प्रवद्र्धन परियोजनाका प्रमुख प्रमोद रिजालले सडकमा जडान गरिएको लाइट प्राधिकरणको आइटी सर्भरमा सिधैं जोडिने भएकाले बिग्रिएमा तत्कालै सूचना प्राप्त हुने बताए। उनका अनुसार सडक लाइटमा जडित सिस्टमले सुर्योदय र सुर्यास्तको समय आफैं पत्ता लगाउँछ। ‘फोनबाटै सडक लाइट बाल्न र निभाउन मिल्नेछ। कतिसम्म डिम गरेर बाल्ने त्यो सुविधा पनि सिस्टममा उपलब्ध छ’, उनले भने। स्मार्ट सडक लाइट भनिएकाले सञ्चार प्रविधिसँग जोडेको उनको भनाइ छ।

जडान भएका सडक लाइट र हाइमास्ट लाइट ५ वर्षसम्म ठेकेदारले नै मर्मत गर्ने सम्झौतामा उल्लेख छ। बत्तीको आयु ५० हजार घण्टा अर्थात ११ वर्ष रहेको टपसन इनर्जीले बताएको छ।

पूर्व मेयर मानबहादुर जिसीकै पालामा नेपाल विद्युत्त प्राधिकरणसँग सम्झौता गरेर ‘उज्यालो पोखरा अभियान’ सुरु भएको थियो। अहिलेका मेयर धनराज आचार्य निर्वाचित भएर आएपछि उनले पनि यो अभियानलाई निरन्तरता दिए। पोखरामा अझै स्मार्ट सडकबत्ती र चोकहरुमा हाइमास्ट लाइट थप गर्ने मेयर धनराज आचार्यले बताए।

नेपाल विद्युत्त प्राधिकरणसँग अर्को चरणको सम्झौता गर्ने तयारीमा रहेको उनले सुनाए। ‘२ हजार बत्ती बाल्नेबित्तिकै पोखरा उज्यालो हुन्छ ? केही साथीहरु प्रश्न सोध्न सक्नुहुन्छ। अहिले देशभरमै सबभन्दा धेरै हाइमास्ट लाइट हाम्रो पोखरामा जडान भएको छ सायद’, मेयर आचार्यले भने, ‘सडक बत्तीको सन्दर्भमा पनि यो खालको बत्ती पहिलो चोटि धेरै हामीले बालेका छौं। थोरै बत्ती बालेर पहिलो चरण धेरै शहरमा सकिएको छ। अब दोस्रो चरणमा मुख्य चोकमा यही प्रकृतीको हाइमास्ट लाइट र सडक बत्तीहरु बाल्न सम्झौताको क्रममा छौं।’

पहिले जडान गरिएको २ हजार बढी सोलारका प्यानल एक ठाउँमा राखेर विद्युत उत्पादन गरी प्राधिकरणलाई बिक्री गर्ने योजना रहेको उनले सुनाए।

नेपाल विद्युत्त प्राधिकरणले उज्यालो नेपाल अभियान अन्तर्गत देशका प्रमुख शहरलाई पनि उज्यालो बनाउन काम गरिरहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। सहर उज्याले बनाउने अभियान ललितपुरबाट सुरु भएर पोखरा, धनगढी हुँदै ताप्लेजुङसम्म पुगेको उनले जानकारी दिए।

‘उज्यालो नेपाल अभियान घरघरमा बत्ती बाल्ने जस्तो भयो। तर, नेपालका धेरै सहरहरु अध्याँरै भए भनेर उज्यालो गराउन कार्यक्रम अगाडि बढायौं’, घिसिङले भने। अहिले देशका ९८ प्रतिशत घरधुरीमा विद्युत्त पुगेको बताए।

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्