प्रविधिसहितको शिक्षा आवश्यकः पूर्वमुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले अबको शिक्षा प्रविधिसहितको आवश्यक रहेको बताएका छन्।
जिल्लाकै पुरानो विद्यालयमध्ये सीता नमुना माध्यमिक विद्यालय ५८ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

आफ्नो पाला जसरी चले पनि आगामी पिँढी भने उच्च र गुणस्तरीय शिक्षा प्राप्त गर्ने बाटोमा लाग्नुपर्ने र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे।

पूर्वमुख्यमन्त्री शाहीले हालसम्म जिल्लामा शिक्षा क्षेत्रले गरेको प्रगति सन्तोषजनक रहेको बताउँदै अब शिक्षा प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए।

समग्र विकासका लागि शिक्षा अपरिहार्य रहेको भन्दै कर्णाली प्रदेश सभाका सदस्यसमेत रहने नेता शाहीले विद्यार्थीले राखेको धारणाले आफू निकै भावुक रहेको बताए।

नेता शाहीले विद्यालयले छोटै समयमा शैक्षिक क्षेत्रमा फड्को मार्न सफल भएकोमा खुसी ब्यक्त गरे। उनले शिक्षा क्षेत्रको बिकास नभई अन्य क्षेत्रको विकास सम्भव नहुने भन्दै शिक्षा क्षेत्रको एक जनाले चाहँदैमा नहुने बताए।

उनले यसका लागि सबै क्षेत्र जुट्न आग्रह गर्दै शिक्षाको विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताए। उनले आफ्नो भाषण स्थानीय खस, नेपाली र अंग्रेजी भाषामासमेत गरेका थिए।

भदौ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्