आत्महत्या रोकथामको लागि जीवन जीउने पद्धति

स्वेच्छाले जानीजानी मर्ने मनसायले आफूले आफ्नै ज्यान लिने कामलाई आत्महत्या भनिन्छ। अहिले विश्वभरि नै आत्महत्याको दर बढ्दै गएको छ। नेपाल विश्वमा सातौं र दक्षिण एसियामा श्रीलंकापछि दोस्राे बढी प्रतिव्यक्ति आत्महत्या हुने देशमा पर्दछ। अन्य देशमा प्रत्येक १ लाखमा ११ जनाले आत्महत्या गर्ने गर्छन् तर नेपालमा भने प्रत्येक १ लाखमा २४ जनाले आत्महत्या गर्ने गर्छन्।

हाल नेपालमा आत्महत्याको दर २३.४ प्रति एक लाखमा रहेको छ। यता सरकारले भने सन् २०३० सम्ममा ४.७ प्रतिलाखमा पुर्‍याउने लक्ष्य लिएको छ। नेपालमा एक दिनमा करिब १९ जनाले र प्रत्येक दुई घण्टामा एक जनाले आत्महत्या गरिरहेको दुःखद स्थिति रहेको छ।

नेपालमा प्रतिवर्ष १६ प्रतिशत मृत्युको कारण आत्महत्या हुने गर्छ। विगत १० वर्षको अवधिमा नेपालमा ५३ हजार २ सय ९८ जनाले आत्महत्याको कारण आफ्नो ज्यान गुमाएका छन्। जसअनुसार आर्थिक वर्ष ०६९/०७० मा ३ हजार ९ सय ७४ जना, ०७०/०७१ मा ४ हजार ५ सय ४ जना, ०७१/०७२ मा ४ हजार ३ सय ३२ जना, ०७२/०७३ मा ४ हजार ६ सय ८० जना, ०७३/०७४ मा ५हजार १ सय २४ जना, ०७४/०७५ मा ५ हजार ३ सय १७ जना, ०७५/०७६ मा ५ हजार ७ सय ५४ जना, ०७६/०७७ मा ६ हजार २ सय ७९ जना, ०७७/०७८ मा ७ हजार १ सय ४१ जना, ०७८/०७९ मा ६ हजार ८ सय ३० र ०७९/०८० मा ६ हजार ९ सय ९३ जनाले आत्महत्या गरेको तथ्यांक छ।

नेपालमा अहिलेसम्म आत्महत्याका प्रयासहरू गणना गर्ने कुनै प्रविधि वा प्रणाली छैन।

आत्महत्याको दर प्रति लाख ९ जना रहेको छ। प्रति लाखमा १२.६ पुरुष र ५.४ जना महिलाको मृत्यु आत्महत्याका कारण हुन्छ। आत्महत्याको प्रयास पुरुषहरूको तुलनामा महिलाहरूले २/३ गुणाले बढी गरेको देखिन्छ। विकसित देशहरूमा आत्महत्याबाट ज्यान गुमाउने संख्या महिलाको तुलनामा पुरुषको ३ गुणाले बढी रहेको देखिन्छ भने कम विकसित देशहरूमा महिलाको तुलनामा पुरुषको १.५ गुणाले बढी रहेको देखिन्छ।

एक सामान्य व्यक्तिले भन्दा एकचोटि आत्महत्याको प्रयास गरेकाे व्यक्तिमा भविष्यमा आत्महत्या गर्ने सम्भावना ३० देखि ४० गुना बढी हुन्छ। १५ देखि १९ वर्ष समूहका व्यक्तिमा मृत्युको दोस्रो ठूलो कारण आत्महत्या हो। विश्वमा प्रतिवर्ष यस उमेर समूहका १ लाख व्यक्तिहरू आत्महत्या गरेर इहलीला समाप्त गर्ने गर्दछन्।

आत्महत्यासम्बन्धी महत्त्वपूर्ण तथ्यहरू:

१. विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि करिब सात लाखभन्दा बढी व्यक्तिहरूले आत्महत्याका कारण ज्यान गुमाउँछन्।

२. प्रति लाखमा १२.६ पुरुष र ५.४ जना महिलाको मृत्यु आत्महत्याका कारण हुन्छ।

३. प्रत्येक ३ सेकेन्डमा आत्महत्याको प्रयास र ४० सेकेण्डमा एक जना मानिसले विश्वभर आत्महत्याका कारण जीवन गुमाइरहेका हुन्छन्। विश्वभर हत्या र युद्धभन्दा बढी आत्महत्याका कारण मानिसहरूको मृत्यु हुने गर्दछ।

४. विश्वभर मृत्यु हुने प्रमुख कारणहरूमध्ये आत्महत्या पन्ध्रौं प्रमुख कारणको रूपमा रहेको छ।

५. विश्वभर ७० वर्षभन्दा बढी उमेरका मानिसहरूमा आत्महत्याको दर उच्च रहेको छ।

६. १५ देखि २९ वर्षको उमेर समूहमा विश्वभर आत्महत्या दोस्राे सबैभन्दा प्रमुख मृत्यु हुने कारण हो।

७. १५ देखि १९ वर्ष उमेर समूहमा मृत्युको चौथो प्रमुख कारण

आर्थिक वर्ष २०७९/८० मा नेपालमा आत्महत्याबाट ६ हजार ९९३ व्यक्तिकाे मृत्यु भएको तथ्यांक रहेको छ। ७७ प्रतिशतभन्दा बढी आत्महत्या निम्न र कम आय भएका देशहरूमा हुने गरेको छ। प्रत्येक आत्महत्याको पछाडि करिब २५ वटा त्यस्ता प्रयासहरू हुने गर्छन्।

आत्महत्याको प्रयास पुरुषहरूको तुलनामा महिलाहरूमा २/३ गुणाले बढी देखिन्छ। तर आत्महत्याको कारण ज्यान गुमाउनेको संख्या भने महिलाको तुलनामा पुरुषको २ देखि ३ गुणाले बढी छ।

नेपालमा प्रतिवर्ष १६ प्रतिशत मृत्युको कारण आत्महत्या हुने गर्छ। नेपालमा प्रत्येक महिना करीब एक दर्जनभन्दा बढी व्यक्तिले आत्महत्या गर्छन्।

नेपालमा १५ देखि ४९ वर्षका प्रजनन उमेर समूहका महिलाहरूमध्ये मृत्युको प्रमुख कारण आत्महत्या हो जसको दर विश्वमै सर्वाधिक तेस्राे हुन आउँछ। यो उमेर समूहका महिलाहरूले प्रमुख रूपमा विष सेवनका माध्यमबाट आत्महत्या गर्छन्।

नेपालमा पुरुषहरूले आत्महत्या गर्ने दर विश्वमै १७ औं उच्च दर हुन आउँछ र उनीहरूले धेरैजसो झुण्डिएर आत्महत्या गर्दछन्।

आत्महत्याका धेरै कारणहरूमध्ये बसाइसराइ पनि एउटा हो। विश्व श्रम संगठनका अनुसार वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीहरूमध्ये करिब १०.४ प्रतिशतले आत्महत्याको कारण ज्यान गुमाउँछन्।

व्यक्तित्व विशेषताहरू र आत्महत्याको जोखिम

आत्महत्याको लागि उच्च जोखिमसँग सम्बन्धित दुई सबैभन्दा महत्त्वपूर्ण कारकहरू तनावपूर्ण परिस्थितिहरूको सामना गर्न व्यक्तिको असक्षमता र जीवनप्रति नकारात्मक व्यक्तिगत मनोवृत्ति हुन्।

आत्महत्या प्रयास र व्यक्तित्व विकारहरूमा अनुसन्धान मुख्यतया बर्डर लाइन व्यक्तित्व विकार वा क्लस्टर व्यक्तित्व विकारहरूमा (असामाजिक, बर्डर लाइन, हिस्ट्रोनिक, र नार्सिसस्टिक) मा केन्द्रित छ। क्लस्टर बी व्यक्तित्व विकार भएका व्यक्तिहरूलाई अक्सर स्वस्थ सम्बन्ध कायम राख्न कठिनाइ हुन्छ र भावनात्मक र आवेगात्मक लक्षणहरू देखाउन सक्छ। यो लामो समयदेखि ज्ञात छ कि निश्चित व्यक्तित्व विकारहरू जस्तै बर्डर लाइन व्यक्तित्व विकार आत्महत्याको लागि सामान्य जोखिमसँग सम्बन्धित छन्।

असामाजिक व्यक्तित्व डिसअर्डर भएका ५ प्रतिशत मानिसले अन्ततः आत्महत्या गरेर मर्छन् भन्ने तथ्य कमै थाहा छ। एन्सेल र सहकर्मीहरू (२०१५) ले १० वर्षसम्म व्यक्तित्व विकार भएका ४३१ बिरामीहरूलाई पछ्याए। त्यस अवधिमा, १३.५ प्रतिशत बिरामीहरूले एक वा बढी (१ देखि ११) आत्महत्या प्रयासहरू गरे।

हालैका वर्षहरूमा धेरै शोधकर्ताहरूले आत्महत्या जोखिम र बिग फाइभ व्यक्तित्व विशेषताहरू बीचको सम्बन्धको अनुसन्धान गरेका छन्। जस्तै: डवरस्टिन र सहकर्मीहरू (२०००) ले ५० वर्ष वा माथिका ८१ डिप्रेसन भएका बिरामीहरूको अध्ययनमा पत्ता लगाए कि उच्च स्तरको न्यूरोटिकवाद र अनुभवको लागि खुलापन दुवै आत्महत्याको विचारको इतिहास भएकोसँग सम्बन्धित थिए।

साथै निम्न स्तरको बहिमुखी शिलगुण भएका व्यक्तिहरूमा विगतको आत्महत्या प्रयासहरू गरेको इतिहास पाइएको थियो।

ब्लुमल र सहकर्मीहरूले(२०१३)मा २५५५ जना जर्मन नागरिकहरूमा गरेको अध्ययनले बिग फाइभ व्यक्तित्व विशेषताहरू र तिनीहरूको आत्महत्या जोखिमको मूल्यांकन गरे। उनीहरूले पुरुष र महिला बीचको खोजमा महत्त्वपूर्ण भिन्नताहरू फेला पारे। महिलाहरूको लागि जब उच्च न्यूरोटिकवाद र अनुभवको लागि खुलापनले आत्महत्याको जोखिम बढेको थियो। तथापि पुरुषहरूको लागि उच्च बहिर्मुखी र इमानदारीले आत्महत्याको जोखिम घटेको देखाएको थियो।

सोल्टानीनेजाद र सहकर्मीहरू (२०१४) ले इरानी सशस्त्र बलका १ हजार ६५९ पुरुषहरूमा गरेको अध्ययनमा बिग फाइभ व्यक्तित्व विशेषताहरू र आत्महत्याको विचार बीचको महत्त्वपूर्ण सम्बन्ध फेला पारे। जसअनुसार उच्च न्यूरोटिकवाद, कम बहिर्मुखी, र कम सहमतताले आत्महत्याको विचारको जोखिम बढाएको थियो।

ब्याटी र सहकर्मीहरूले ८ वर्षको अवधिमा विभिन्न देशहरूमा ४६ लाख ४ हजार २५१ वयस्कहरूको नमूना गरेको अध्ययनमा अनुगमन गरे। त्यो अवधिमा उनीहरूले फेला पारे कि न्यूरोटिकवादको उच्च स्तरले आत्महत्याको जोखिमलाई उल्लेखनीय रूपमा बढाएको छ र निम्न स्तरको सहमतताले पनि योगदान पुर्‍याएको छ।

के कारणले आत्महत्याको जोखिम बढाउँछ ?

आत्महत्याको मनोवैज्ञानिक र सामाजिक असर परिवार तथा समुदायमा अत्यधिक पर्ने गर्दछ। आत्महत्या एक बहुकारकीय तत्व हो जसमा वातावरणीय, जैविकीय, सामाजिक, मनोवैज्ञानिक र वातावरणबीच गहिरो सम्बन्ध हुन्छ। मनोवैज्ञानिक सिग्मण्ड फ्राइडका अनुसार व्यक्तिमा हुने विध्वंसात्मक उद्धेगका कारण आत्महत्या हुने गर्दछ।

मनोविश्लेषणत्मक सिद्धान्तअनुसार मानिसका दमित इच्छा, आवश्यकता र चाहनाहरू पूरा हुन अवरोध भएमा, आत्मसम्मानमा न्यूनता, जीवनप्रति दिक्दारीको अवस्था, मनका कुरा गुम्स्याएर राख्न परेमा, गहिरो चोट परेमा र मनोविक्षिप्तता भएमा व्यक्ति संवेगात्मक रूपमा अस्थिर भएर आत्महत्यातर्फ आकर्षित हुन्छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार आत्महत्याको करिब ९० प्रतिशत कारण मानसिक रोग रहेको छ। मानसिक रोगका कारणले आत्महत्या गर्नेमध्ये ८० प्रतिशतमा आत्महत्या पूर्व उदासीनता देखिएको हुन्छ। लागुऔषध दुर्व्यसनीमध्ये १५ प्रतिशत, व्यक्तित्व गडबडीमध्ये १० प्रतिशत र सिजोफ्रनिया भएकाहरूमध्ये १० प्रतिशतले आत्महत्या गरेको देखिन्छ।

नेपालमा बढ्दो आत्महत्याका कारणहरू सामाजिक, सांस्कृतिक विचलन, मानसिक रोग, शारीरिक अपांगता, लामो समयसम्म निको नहुने शारीरिक रोगहरू लागेर व्यक्तिमा नैराश्यता हुनु, पारिवारिक कलह, अनमेल विवाह, यौन दुर्बलता, व्यस्तता, असन्तुष्टि, आपसमा अविश्वास, इमान्दारिताको कमी, असुरक्षा, अन्यायमा पर्नु, द्वन्द्व, बेरोजगारी, गरिबी, सञ्चारमाध्यम तथा इन्टरनेटको दुरुपयोग, व्यक्तिगत गुण, मादक तथा लागुपदार्थको दुर्व्यसनी, जीवनमा सधैं असफलता आदि छन्।

नेपाली समाजमा आत्महत्याको लागि सामाजिक जीवनमा चालु अस्वस्थ प्रतिस्पर्धा, असमानता, घरेलु हिंसा, सञ्चार प्रविधिको दुरुपयोग, नैतिक शिक्षाको अभाव र नक्कल गर्ने मनोविज्ञान पनि उत्तिकै जिम्मेवार कारक तत्व देखिन्छ। नेपालमा बढ्दै गएको आत्महत्याको घटनाहरूको विश्लेषण गर्दा निम्न कारणहरूले आत्महत्या गरेको पनि देखिन्छ।

१) आर्थिक व्यवस्थापनको सीपको कमीः आर्थिक व्यवस्थापनको सीपको अभावले आत्महत्या गर्नेको संख्या वृद्धि भएको छ । आर्थिक तनावलाई कम गर्न व्यक्तिले आफ्नो क्षमताको मूल्यांकन गरी उचित समस्या पहिचान र उपयुक्त समस्या समाधानको लागि पहलकदमी आफैंले गर्नु पर्दछ। विभिन्न प्रतिवेदन, र अनुसन्धानलाई केलाउँदा अहिलेको महंगो जीवनशैली, अस्वस्थ प्रतिस्पर्धाले मानिसहरूलाई स्तरीय जीवन बाँच्न, व्यवसाय टिकाउन, स्थापित हुन, समाजमा इज्जत जोगाइराख्ने दबाबमा आएर जस्तोसुकै महंगो ऋण लिन र व्यवहार चलाउन बाध्य भएका छन्। आर्थिक व्यवस्थापनको सीपको कमीले मानिसहरूमा आर्थिक समस्याजन्य मनोसामाजिक पीडाहरूबाट गुज्रिरहेको पाइन्छन्।

२) गरिबी र अभावको कारणः नेपालका आत्महत्याका घटनाहरूमा चरम गरिबीका कारण भएको देखिन्छ। गरिबीका कारण आफ्नो र आफ्नो परिवारको भविष्य नदेखेर श्रीमान, श्रीमतीले तथा पूरा छोराछोरीको हत्यापछि आत्महत्या गरेका उदाहरणहरू थुप्रै छ्न्।

३) प्रेममा असफलता वा अवैध सम्बन्ध: प्रेममा असफलताका कारण खासगरी युवाहरूमा एक्लै वा युगल आत्महत्याका घटना पनि भइरहेका छन्। प्रेमका कारण आत्महत्या हुनुका दुई कारण छन्। पहिलो,  प्रेममा परेका तर विभिन्न कारणले विवाह हुन नसकेकाे। जस्तैः जातपात, आर्थिक हैसियत नमिल्दा प्रेममा जोडिएकाहरूको सम्बन्धले विवाहको रूप धारण गर्न सक्दैन। दोस्रो, घरमा श्रीमती या श्रीमान हुँदाहुँदै भएकाे सम्बन्ध। तर, यस्तो सम्बन्ध परिवार र समाजमा पछि उजागर हुँदा व्यक्तिगत र पारिवारिक प्रतिष्ठाको विषय बन्न पुग्छ। परिणामस्वरूप लोकलाज र समाजमा मुख देखाउन नसक्ने अवस्था उत्पन्न हुँदा आत्महत्या भएको पाइन्छ।

४) जीवनमा भोगेको असफलताः जाँचमा, जागिरमा, व्यापारलगायतमा असफलता भएपछि पनि धेरैले आत्महत्याको बाटो रोजेको देखिन्छ। व्यापारमा असफलताका कारण आत्मदाह गर्ने, छोराछोरी र श्रीमतीसहित आत्महत्या गरेका उदाहरण पनि नेपाली समाजमा प्रयाप्त छन्।

५) सामाजिक-सास्कृतिक कारणः कानुनले निषेधित गरेता पनि समाजले दाइजोलाई सामाजिक प्रचलनका रूपमा स्वीकारेको छ। नेपालका केही सामाजिक परिवेशमा विवाहपश्चात दाइजाेको अपेक्षा गरिन्छ। बेमेल विवाह, बहुविवाह, विचारमा मेल नहुनु, मदिरा सेवनलगायतका घरायसी कारणले पनि आत्महत्याका घटना भइरहेका छन्। सामाजिक सांस्कृतिक र घरायसी कारणले गर्दा आफ्नो वैवाहिक जीवन अशान्त हुनु, परिवारको दबाब, समाजको डर र विवाह टुटेपछि आफ्नो जीवनयापनको सुनिश्चितताको चिन्ताले आत्महत्यातिर प्रेरित गरेको देखिन्छ।

६)दीर्घ रोग वा बिरामीः दीर्घ रोगको कारण उपचारका क्रममा सम्पत्ति समाप्त हुने र परिवारले आर्थिक समस्या झेल्ने अवस्थाका कारण पनि आत्महत्याका घटनाहरू भएको पाइएको छ।

७) प्रविधिको दुरुपयोगः इन्टरनेटको दुरुपयोगले समाजिक सञ्जालमार्फत् साइबर वुलिङका घटना बढेर वालबालिकाहरूमा आत्महत्याको जोखिम बढेको देखिन्छ। अनलाइनमा भएका खेल र संगतले पनि नयाँ पुस्ताले आत्महत्याको बाटो रोजेको घटना देखिन थालेका छन्। अभिभावकहरूले छोराछोरीमाथि पर्याप्त निगरानी, नियन्त्रण र व्यवहारमा आएको परिवर्तन र अभिभावकत्वका सीपको अभावले जोखिम बढाएको छ।

जोखिममा भएका व्यक्तिहरुको पहिचान कसरी गर्ने?

आत्महत्याको जोखिम भएका व्यक्तिहरूले निम्न लक्षणहरू देखाउँछन्। विगतमा आत्महत्याको प्रयास गरेकोर पारिवारिक इतिहास, सुसाइड नोट लेख्नु, बारम्बार आत्महत्याको कुरा गर्नु, हीनताबोध, हरेश, निराशा र आत्मग्लानी, हालसालमा ठुलो घटना घटेको, (मानसिक बिरामी,(दुर्व्यसनी), एक्लोपन)

आत्महत्याको रोकथाम वा व्यवस्थापन

१० सेप्टेम्वरलाई २००३ देखि विश्व आत्महत्या रोकथाम दिवश मनाउन थालेको थियो २०२३ को नारा “कार्य माफत आशाको सृजना” रहेको छ । भने नेपालमा “आशा जगाऔं जीवन बचाऔं नारा रहेको छ । ब्यक्तिको मनोवैज्ञानिक पक्षलाई घर परिवार र साथीहरुबाट प्रोत्साहन, हौसला, एवं मनोवैज्ञानिक,मनोचिकित्सक, मनोविमर्शकर्ता र मनोसामाजिक कार्यकर्ताको उचित मनोविमर्श, मनोचिकित्सा एवं उपचारबाट समयमै आत्महत्याको बढदोक्रमलाई रोकथाम गर्न सकिन्छ । आत्महत्याको रोकथामको लागि हाल हटलाईन सन्चालनमा छ । आत्महत्याको सोचाई आएका जो कोहीले पनि ११६६ मा सम्पर्क गरेर सेवा लिन सकिन्छ ।

मानसिक स्वास्थ्य प्रतिको लाञ्छना उन्मूलन लागि समाज र व्यक्तिहरुलाई काम गर्न उत्प्रेरित गर्ने महत्वपूर्ण दिनको रुपमा प्रयोग गर्न सकिन्छ। यस सम्बन्धि अज्ञानता कम गर्नको लागि समुदायमा आधारित मनोशिक्षा सम्बन्धि कार्यक्रम समाजका विभिन्न समुदाय जस्तैः शिक्षा, उमेर, लिङ्ग, धर्म, सस्कृति आदिमा दिनु आवश्यक छ ।

आत्महत्याको सोच र व्यवहारबाट प्रभावित कुनै पनि व्यक्तिको प्रारम्भिक पहिचान, मूल्यांकन, व्यवस्थापन र अनुगमन जीवन रक्षाका लागि स्वास्थ्य प्रणालीका महत्त्वपूर्ण कार्यक्रम हो। मानसिक स्वास्थ्य सेवाहरूलाई प्राथमिक उपचार तहमा र थोरै स्रोत उपलब्ध हुने स्थानमा पनि प्रभावकारी ढंगले समायोजन गर्न सकिने प्रमाणहरू उपलब्ध हुँदै छन्।

आत्महत्या रोकथाम तथा प्रभावित व्यक्ति एवं परिवारहरुको हेरचाहको लागि नेपालको आत्महत्या सम्बन्धी कानूनी व्यवस्थाको सम्बोधन गर्नु अत्यन्त महत्वपूर्ण छ । सूचना सचेतना मार्फत संचारमाध्यमहरुले आत्महत्या रोकथाममा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । किशोर किशोरीहरुको आत्महत्यालाई रोकथामको लागी तनाव, असुरक्षा, असमानता, घरेलु हिंसा, सास्कृतिक विचलन कम गर्न मनोवैज्ञानिक मनोविर्मश एवं जीवन उपयोगी सीपहरुको तालीम प्रदान गरी किशोर किशोरीहरुलाई आत्मनिर्भर बनाउन सके आत्महत्याको बढ्दोक्रमलाई रोकथाम गर्न सकिन्छ ।

आत्महत्याको रोकथामको लागी आत्महत्या रोकथाम सहजिकरण तालिम सञ्चालन गर्नु आवश्यक देखिन्छ । आत्महत्या रोकथामका लागी मानसिक स्वास्थ्य सचेतना कार्यक्रम देशैभरि अनिवार्य गर्न आवश्यक छ । आत्महत्याको उच्च जोखिममा रहेको समुह र मानसिक रोगीहरुको लागी बिशेष मानसिक स्वास्थ्य नीति कार्यान्व्यन गरी आवश्यकता अनुसार मानसिक स्वास्थ्य केन्द्र र मनोविमर्शकर्ताको व्यवस्था गरी आत्महत्या न्यूनिकरण गर्न आमरुपमा पहल गर्दा आत्महत्याको वढ्दोक्रमलाई रोकथाम गर्न सकिन्छ । मानसिक स्वास्थ्य एवं आत्महत्याको बारेमा पर्याप्त जनचेतना जगाउनु पर्ने हुन्छ ।

आत्महत्याको जोखिम भएका व्यक्तिलाई सम्हाल्ने तरिका निम्न वमोजिम छन् । वालवालिकालाई बढीभन्दा बढी सामाजिक संवेगात्मक विकासको सीपमा जोडदिदै सामाजिक कार्यमा संलग्न गराउन टोलटोलमा खेल्ने, जमघट हुने खुला ठाउँको प्रबन्ध गरेर राज्यले सामाजिक अन्तर्घुलनको आधार खडा गरिदिनुपर्छ । कुरा गर्नका निम्ति उपयुक्त समय र स्थानको पहिचान गर्ने र व्यक्ति आत्महत्या गर्न चाहन्छ कि छैन भन्ने कुरा थाहा पाउन व्यक्तिलाई सीधा आत्महत्याको योजनाका बारे सोध्ने, जोखिमका कारणहरुको आंकलन गर्ने, आत्महत्याका हरेक धम्की वा वचनलाई संवेदनशीलताका साथ लिने, समय दिने, धैर्यता पूर्वक सुन्ने, सहानुभूति दर्शाउने, मदत गर्ने, भावनात्मक सहयोग गर्ने, परिवारजन र मित्रहरुलाई सम्पर्क गर्ने र उनीहरुसँग बिरामीलाई जोडिदिने, सहयोगको निश्चितता गर्ने, यदि धेरै जोखिम छ भने कहिल्यै एक्लो नछोड्ने र मनोचिकित्सक, मनोविद, परामर्शकर्ताकहाँ पठाउने, सम्भावित साधनहरु हटाउने, अन्य सहयोगको पहिचान गर्ने, पहलकदमी लिने, अरुलाई भन्ने र सहयोग लिने।

आत्महत्या रोकथामका लागि हाम्रो भूमिका

समुदायको रूपमा हामी आफ्ना परिवार, नातागोता, साथीसंगी, छिमेकी, सहकर्मी आदिका रूपमा एक अर्कासँग अन्तरसम्बन्धित छौं तर बेला बखत हामी आफ्नो समुदायबाट टाढिन्छौँ र अलगिन सक्छौं यस्तो बेला समुदायको भूमिका निकै महत्वपूर्ण हुन्छ । आत्महत्याको रोकथाममा सञ्चारकर्मीहरुको अत्यन्त महत्वपूर्ण भुमिका रहन्छ त्यसैले आत्महत्याका घटनाको उचित सम्प्रेषणले आत्महत्याको जोखिममा रहेका व्यक्तिको ज्यान जोगाउन मदत पुग्न सक्छ भने गलत सम्प्रेषणले त्यस्ता व्यक्तिलाई दुरुत्साहन गरी त्यस्ता घटना बढाउन सक्छ । आत्महत्या रोकथामका लागि स्थानीयस्तरमा रहेका आत्महत्याका कारक तत्वहरूको पहिचान गरी बहुपक्षीय योजना तर्जुमा गर्ने, निर्माण गर्ने र कार्यान्यवन गर्ने । मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका लागि निति निर्माण तथा बजेट विनियोजन र कार्यान्यवन मानसिक र मनोसामाजिक स्वास्थ्य सेवामा सहज पहुँचका लागि पहल र आवश्यक सेवा सुनिश्चित गर्ने । मानसिक र मनोसामाजिक स्वास्थ्य प्रवद्र्धन गर्नसक्ने निकायहरूको पहिचान गरी समन्वय र सहकार्यका साथै क्षमता वृद्धिका कार्यक्रम सञ्चालन गर्ने ।

आत्महत्या रोकथामको लागि जीवन जीउने पद्धति

डब्ल्युएचओले आत्महत्या रोकथामको लागि जीवन जीउने पद्धति कार्यान्वयन गर्नको लागि मार्गदर्शन जारी गरेको छ। यस पद्धतिमा ४ वटा रणनीति छन्।

पहिलो, अत्यधिक खतरनाक कीटनाशक विष र बन्दूकजस्ता आत्महत्या गर्ने साधनहरूमा पहुँच सीमित गर्ने। सबैभन्दा खतरनाक कीटनाशकमा प्रतिबन्ध लगाउनु उच्च प्रभावकारी कार्य हो, किनकि नेपालमा आत्महत्याको प्रयासमा अधिकतर कीटनाशक औषधिकको प्रयोग गरिने देखिएको छ।

दोस्रो, आत्महत्याको जिम्मेवार रिपोर्टिङमा मिडियालाई प्रशिक्षित गर्ने । मिडियाका प्रतिनिधिहरूलाई यो मार्गदर्शनसँग अभ्यस्त हुन र आत्महत्यासम्बन्धी प्रत्येक रिपोर्ट प्रकाशन गर्दा यसको पालना गर्ने। त्यसैगरी, आत्महत्याको कुरा गर्ने प्रत्येक मिडिया रिपोर्टमा राष्ट्रिय आत्महत्या हेल्पलाइन ११६६ राख्ने।

तेस्रो, किशोरकिशोरीहरूमा सामाजिक-संवेगात्मक जीवनोपयोगी सीप विकास गर्ने। किशोरावस्था सामाजिक-संवेगात्मक सीप हासिल गर्ने अत्यन्त महत्त्वपूर्ण उमेर हो, किनकि मानसिक स्वास्थ्यसम्बन्धी समस्या प्रायः १४ वर्षभन्दा पहिले नै देखिने गर्दछ। जीवन जीउने मार्गदर्शनले मानसिक स्वास्थ्यको प्रवर्द्धन गर्ने र जिस्काउने सताउने (बुलिङ) विरुद्धका कार्यक्रमहरूलाई प्रोत्साहन गर्दछ। यो सहयोगी सेवाहरूसँग जोडिन्छ र विद्यालय तथा विश्वविद्यालयमा काम गर्ने मानिसको लागि यसले आत्महत्याको जोखिम पहिचानका विषयमा स्पष्ट मापदण्ड उपलब्ध गराउँछ।

चौथो रणनीति भनेको आत्महत्याका प्रयास गरेका छन् वा आत्महत्या गर्ने जोखिममा रहेका व्यक्तिहरूको प्रारम्भिक पहिचान, मूल्यांकन, व्यवस्थापन र अनुगमन हो। आत्महत्याको सोच र व्यवहारबाट प्रभावित कुनै पनि व्यक्तिको प्रारम्भिक पहिचान, मूल्यांकन, व्यवस्थापन र अनुगमन जीवन रक्षाका लागि स्वास्थ्य प्रणालीका महत्त्वपूर्ण कार्यक्रम हो। मानसिक स्वास्थ्य सेवाहरूलाई प्राथमिक उपचार तहमा र थोरै स्रोत उपलब्ध हुने स्थानमा पनि प्रभावकारी ढंगले समायोजन गर्न सकिने प्रमाणहरू उपलब्ध हुँदै छन्। यो पद्धति लागतमैत्री छ र मानिसहरूको समग्र स्वास्थ्य तथा काम गर्ने क्षमतामा सकारात्मक प्रभाव पार्दछ।

नेपालको राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ मा समेटिएका छन्। तथापि, मानसिक सुस्वास्थ्यको प्रत्याभूति गर्ने गरी बहुक्षेत्रीय कार्यहरूलाई समेट्दै अघि बढ्ने एउटा बृहत् राष्ट्रिय कार्यक्रम कार्यान्वयन गर्न पनि जरुरी छ।

भदौ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्