कसरी क्रिकेटमा डोरिए भीम सार्की? (भिडियो)

क्रिकेट खेल्ने, क्रिकेटमा नै भविष्य देख्ने र क्रिकेट नै करिअर बनाउँछु भनेर भीम सार्कीले सोचेका थिएनन्। तर जब उनले ब्याट समाते, त्यसपछि क्रिकेटको लगावले उनलाई छोडेन। अन्तत: उनी राष्ट्रिय टिमको महत्वपूर्ण ब्याट्सम्यानका रुपमा अहिले आफ्नो क्रिकेट करिअरको उम्दा समय कटाइरहेका छन्। उनले व्यवसायिक क्रिकेट खेलाडी बन्छु भनेर लागेको पनि २०१४ मा नेपालले विश्वकप छनोट भएपछि नै हो।

उनले आफूभन्दा दिग्गज खेलाडीले टी-२० विश्वकप खेलेपछि पाएको सम्मान देखेर खेलेर पनि जीवनमा केही गर्न सिकिने रैछ भन्ने अनुभव बटुले। उनले टिभीमा बिनोद भण्डारी, प्रदीप ऐरी, नरेश बुढायर लगायतका खेलाडीको खेल हेरेर टेनिस बलमा आफ्नो ब्याट घुमाउन सुरु गरे। रमाइलोका लागि स्कुल र छुट्टीको टाइममा घरतिर पनि उनी क्रिकेटमा नै रमाउन थाले। जब विश्वकपका खेलहरु प्रोजेक्टर राखेर देखाइन थाल्यो, त्यसपछि त भीमले बुझिहाले, क्रिकेटप्रतिको क्रेज र लगाव। त्यही लगावले नै डोर्‍यायो उनलाई कञ्चनपुर क्रिकेट एकेडेमीसम्म।

एकेडेमीमा सुरुसुरुमा उनले ब्याटिङ र बलिङको अवसर एकदमै कम पाउँथे। तर उनी बाउन्ड्री रोक्नलाई आफ्नो ज्यान नै दाउमा राखेर डाइभ हान्थे। भीम भन्छन्, ‘म अलि सानै थिएँ, चोट लाग्छ भनेर मलाई ब्याटिङ गर्न खासै दिइँदैन थियो। म अधिकाशं फिल्डिङमा नै हुन्थेँ। डाइभ हानेर बाउन्ड्री जोगाउने मेरी ड्युटी थियो।’

त्यही बेला उनलाई एकेडेमीमा रहेका अर्का सिनियर चन्द्र साउदले उपमा दिए ‘जोन्टी!’ तर उनलाई जोन्टी के हो र किन भनियो थाहा थिएन। तर एकदिन उनै चन्द्रले जोन्टीका बारेमा भीमलाई भने- उनी आफैँले पनि बुझ्ने भएपछि जोन्टीबारे सर्च गरे। खोजे, बुझे अनि झनै प्रभावित बने। त्यही भएर अहिलेप नि उनी नामका पछाडि जोन्टी राख्न रुचाउँछन्।

इनिङ बढाउने लक्ष्यमा थिएँ तर सोचेजस्तो भएन। त्यसो त भीम सार्कीलाई मात्र होइन, सिंगो नेपाल नै एसियाकपका लागि उत्साही थियो। सिंगो टिमले एसियाकपका लागि योजनाहरु बनाइरहँदा उनी पनि उत्साही थिए। भीम भन्छन्, ‘एसियाकपमा छनोट हुँदादेखि नै उत्साही थियौं। विश्वका क्रिकेटका राम्रो टिमसँग खेल्दा उत्साह थियो।’

पाकिस्तानसँगको पहिलो खेलमा नेपालले अपेक्षित प्रदर्शन गर्न सकेन। तर विश्वभर चर्चा बटुल्न सफल भारत विरुद्धको खेलमा भने भीम आफ्नो जिम्मेवारीमा राम्रो गर्ने प्रयासमा थिए। तर भारत विरुद्ध पनि आफूले सोचेजसरी इनिङ अगाडि बढाउन नसकेको मान्छन् उनी। भन्छन्, ‘ओपनरहरुले राम्रो सुरुवात दिएका थिए। त्यसपछि म क्रिजमा जाँदा खेरि ओपनिङमा भएको साझेदारीलाई अलि लामो लिएर जाने सोचेको थिएँ। तर सोचेजस्तो भएन।’

त्यसो त भारत विरुद्धको खेलले समग्र टिममा नयाँ उर्जा सञ्चार भएको उनी बताउँछन्। भीम भन्छन्- ‘उनीहरु सुविधा सम्पन्न परिस्थितिबाट आएका हामी भने आफ्नो मिहिनेत र लगावकै कारण एसियाकपमा पुगेका थियौं। हामीसँग पर्याप्त स्रोतसाधन थिएन। सीमित स्रोतसाधनबीच हामीले गरेको प्रदर्शन उत्साहप्रद छ।’

उनले खेल खेल्नु र बाहिरबाट हेर्नुमा धेरै फरक हुने बताए। भीमले भने- ‘बाहिर हेर्दा सजिलो लाग्छ। यसरी हान्या भए हुन्थ्यो जस्तो लाग्छ। हेर्दा र खेल्दा साँच्चिकै फरक हुन्छ। खेल्दा खेरि कहाँ त्यस्तो सहज हुन्छ र खेल्दाखेरि दबाब धेरै हुन्छ।’

उनले राष्ट्रिय टिमबाट खेल्दै गर्दा र जित्दाको खुसी रोमाञ्चक हुने बताए। ‘देशले जित्दै गर्दाको खुसीले साँचिकै गौरवान्वित बनाउँदो रैछ’, उनले भने।

फर्म एकनास नहुन सक्छ तर हौसला चाहिन्छ, सबै खेलाडीले सँधै राम्रो गर्न सक्दैनन्। भीमलाई पनि अहिले केही खेलले आफूले चाहेजति दिन नसकेको जस्तो लाग्छ तर केही खेलमा नै खेलाडीको जज गर्न नहुने बताउँछन्- ‘खेलाडीहरु सधैँ फर्ममा रहिरहने भन्ने हुन्न तर कहिलकाहिँ डाउनफल हुँदाखेरि  हौसला चाहिन्छ। राज्यले कमजोर हुँदापनि साथ दिएको आभास भए पुनरागमन गर्न सहज हुन्छ। कहिलेकाहिँ फर्ममा नहुँदा खेलाडीले नराम्रो गरौं भन्ने सोच्दैन्। तर परिस्थितिले कहिलेकाहिँ खेलमा डाउनफल हुन्छ।’

उनी अन्तर्राष्ट्रिय क्रिकेटमा बलिया राष्ट्र विरुद्धको खेल त्यति सहज नहुने मान्छन्। ‘अन्तर्राष्ट्रिय खेल त्यति सहज हुन्नँ म पनि सिक्दै छु। अझ राम्रो कसरी गरौं भनेर अगाडि बढ्दै छु। केही इनिङमा तलमाथि हुँदाखेरि नै सबै बिग्रिहाल्यो भनिहाल्नु पनि हुँदैन,’ उनले भने।

उनले बलर र ब्याटर दुबैका लागि सर्वाधिक महत्वको पक्ष फिल्डिङ भएको बताए। उनलाई लाग्छ फिल्डिङमा अब्बल हुनुले समग्र नतिजामा नै फरक पार्छ। नतिजाका लागि भविष्यको सुरक्षासँगै अभ्यास खेल। सहभागिता भएपछि नतिजाको अपेक्षा सबैमा हुन्छ। तर खेलमा नतिजा निकाल्न धेरै भन्दा धेरै खेलहरुको एक्सपोज हुनु पर्ने मत राख्छन् भीम। उनी भन्छन्- ‘हाम्रो खेल अभ्यास कम छ। भारतले एक महिनामा खेल्ने खेल हामीले एक वर्षमानी खेल्न पाउँदैनौं।’

त्यसो त अभ्यास खेल जति बढी त्यति एक्सपोज र सिक्ने अवसर मिल्ने उनको बुझाइ छ। लामो समय खेलाडीलाई खेल जीवनमा सक्रिय राख्न उसलाई बिना दबाब खेल्ने वातावरण बनाउनुपर्ने मत उनको छ। ‘खेलाडीहरुले आफ्नो खेल जीवन सुरक्षित देख्न छोडे। आफ्नो भविष्यनै सुरक्षित देख्न छाडेपछि स्वभाविक रुपमा खेल खस्किन्छ नै। उमेर बढेसँगै जिम्मेवारी बढ्छ। परिवारको जिम्मेवारीहरु आउँछ। त्यो चिजहरुको व्यवस्थापन गर्न सक्नु पर्छ।’

भीमलाई लाग्छ- जुन दिन साधन स्रोत र खेलाडीको जीविकोपार्जन ग्यारेन्टी हुन्छ त्यो दिन समग्र नेपाली खेलकुद नतिजाहरु दिन थाल्छ। खुसीहरु थप आउने छन्।

खेललाई पर्यटनसँग जोड्नु पर्छ

भीमले आफ्नो अन्तर्राष्ट्रिय टुरमा खेलले जोडेको पर्यटनलाई नजिकबाट नियाले। श्रीलंकामा एसियाकपका दौरानमात्र नेपालीहरु नै करौडौं खर्चिएर खेल हेर्न पुगे। हाम्रो जस्तो विविधतायुक्त देशमा संरचनाहरु बनाउनु भने मात्रै पनि क्रिकेट पर्यटनको सम्भावना उच्च हुने उनको बुझाइ छ। श्रीलंकाले आफ्नो आर्थिक संकटलाई पार लगाउन खेल पर्यटनले योगदान दिएको उनको बुझाइ छ। ‘केही समय अघि मात्र श्रीलंकाको आर्थिक संकट उत्कर्षमा थियो, तर विस्तारै अन्तर्राष्ट्रिय टिमहरुले श्रीलंकामा खेलहरु दिएसँगै उसको पर्यटन उक्सिँदै गएको छ।’

द्विपक्षीय सिरिजहरुको आयोजना र आइसिसी इभेन्ट आयोजनाले स्वभाविक रुपमा भीमले भनेजस्तो आम्दानी र क्रिकेट क्रेजलाई फरक पार्छ। अझ नेपाल जस्तो क्रिकेट कल्चर भएको देशमा त स्वभाविक रुपमा अन्तर्राष्ट्रिय खेलहरुको आयोजना हुन सके स्वभाविक रुपमा नेपालको परिचय भीमले भने जस्तै क्रिकेट पर्यटनसँग पनि जोडिने छ। ब्यबसायिक क्रिकेटले नेपालको विश्व क्रिकेटमा फरक पहिचान स्थापित हुने विश्वास भीमलाई छ।

भदौ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्