टाइमको उदीयमान हन्ड्रेड व्यक्तिकाे सूचीमा बालेन पनि

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह पदभार ग्रहणपछि। तस्बिरः सुलभ श्रेष्ठ/देश सञ्चार।

काठमाडौं- विश्व प्रसिद्ध ‘टाइम’ म्यागजिनले सार्वजनिक गरेको सन् २०२३ का विश्वका उदीयमान सय व्यक्तिको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पनि परेका छन्।

म्यागजिनले आफ्नो क्षेत्रलाई आकार दिइ भविष्यमा आफ्नो क्षेत्रमा नेतृत्व गर्नसक्ने विश्वका उदीयमान सय नेतृत्वको सन् २०२३ को सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहलाई समावेश गरेको हो।

टाइमले २०७९ वैशाखकाे चुनावी अभियानका क्रममा बालेनले फोहोरमैला तथा सरसफाइको उचित प्रबन्ध, स्वच्छ खानेपानी, सफा सडक र संस्कृतिक सम्पदाको संक्षरणसहितको सहरी विकासको प्रतिबद्धता गरेको र त्यसलाई पूरा गर्न लागि परेको कुरा म्यागजिनले उल्लेख गरेको छ।

बालेन मेयर पदमा आसीन भएपछि ल्याण्डफिल साइटको उपयोग र फोहरको वर्गीकरण एवं नकुहिने फोहरको व्यवस्थापनका लागि विभिन्न सम्झौता गरेको पनि टाइमले उल्लेख गरेको छ। साथै, बालेनको अध्ययन, ७२ सालको भूकम्पमा क्याम्पेन बनाइ विभिन्न खालका काम गरेको लगायतका कुरा पनि उसले उल्लेख गरेको छ।

यस म्यागजिनले सन् २०१९ देखि हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्ने गरेको छ।

त्यसमा वैज्ञानिक, कलाकार, विभिन्न संस्थाहरूको प्रमुख कार्यकारी अधिकृत, अन्तरीक्षयात्रीसहितका व्यक्तिहरू रहेका छन्।

टाइमको सूचीमा भारतीय महिला क्रिकेट खेलाडी हर्मनप्रित कौर, भारतकै केरलाका आर्किटेक्चर भिनु ड्यानी, अमेरिकाको वातावरण संरक्षणका प्रमुख प्रशासक माइकल रेगन, ग्रामी अवार्ड जित्ने गायीका केल्सी बलेरिनीलगायतका विभिन्न व्यक्तिहरू सूसूचित भएका छन्।

भदौ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्