एसिया कपको फाइनल पुग्ने होडमा पाकिस्तान र श्रीलंका, कसले मार्ला बाजी?

एसिया कप क्रिकेटअन्तर्गत सुपर-४ को पाँचौं खेलमा बिहीबार श्रीलंका र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन्। कोलम्बोस्थित प्रेमदासा स्टेडियममा आज अपरान्ह ३:१५ मा सुरु हुने खेल अघोषित रूपमा सेमिफाइनल सरह मानिएको छ।

जित्ने टिमले फाइनलमा स्थान बनाउने भएकाले पाकिस्तान र श्रीलंकाबीचको खेल निर्णायक मानिएको हो।

यदि श्रीलंका पराजित भएमा एसिया कपको इतिहासमा पहिलो पटक भारत-पाक फाइनल हुने छ। श्रीलंका र पाकिस्तान दुबैले समान १-१ खेलमा जित निकालेकाले जित्ने टिमको ४ अंक हुने छ।

भारत यसअघि नै ४ अंकका साथ फाइनल प्रवेश गरिसकेको छ। यदि वर्षाका कारण खेल रद्द भएमा श्रीलंका नेटरनरेटका कारण फाइनल पुग्ने छ। पाकिस्तान प्रतियोगिताबाट बाहिरिने छ। बंगलादेश भने लगातार दुई हारसँगै प्रतियोगिताबाट बाहिरिसकेको छ।

सुपर चारमा श्रीलंका र पाकिस्तानको यो अन्तिम खेल हो। डिफेन्डिङ च्याम्पियन श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई २१ रनले पराजित गरेको थियो। दोस्रो खेलमा भारतसँग ४१ रनले पराजित भएको थियो।

पाकिस्तानले भने पहिलो खेलमा बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो। तर दोस्रो खेलमा भारतसँग २ सय २८ रनले पराजित हुन पुगेको थियो।

हेड टु हेड

श्रीलंका र पाकिस्तानबीच अहिलेसम्म कुल १ सय ५५ एकदिवसीय खेल भएका छन्। पाकिस्तानले ९२ र श्रीलंकाले ५८ खेलमा जित हासिल गरेको छ। ४ खेल विनानतिजा टुंगिदा एक खेल बराबरी भएको छ।

एकदिवसीय फर्म्याटमा दुई टिम पछिल्लो पटक २०१९ मा भिडेका थिए। जतिबेला पाकिस्तानले श्रीलंकालाई हराएको थियो, जुन पाकिस्तानको श्रीलंका विरुद्ध नवौं जित थियो।

वर्षाको जोखिम

कोलम्बोमा बिहीबार वर्षाको सम्भावना ९३ प्रतिशत रहेको छ। तापक्रम २६ देखि ३१ डिग्री सेल्सियससम्म हुन सक्ने छ। कोलम्बोको पिच ब्याटर र स्पिनरका लागि अनुकुल मानिन्छ। तीव्र बलरलाई भने यो मैदानमा कठिन मानिन्छ।

पाकिस्तानको टिममा पाँच परिवर्तन

पाकिस्तानले भारतसँगको खेलका दौरान टिममा रहेका पाँच खेलाडी परिवर्तन गरेको छ। ओपनर फखर जमान, मध्यक्रमका ब्याटर अघा सलमान, तीव्र गतिका बलर हरिस रउफ, नसिम शाह र फहिम अशरफलाई बेन्चमा राखेको छ।

युवा ओपनर मोहम्मद हरिस, मध्यक्रमका ब्याटर साउद सकिल, स्पिन अलराउन्डर मोहम्मद नवाज, तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र जमान खानलाई श्रीलंकाविरुद्ध टिममा राखेको छ।

रउफ र शाह चोटका कारण टोलीमा नभएपनि अन्य परिवर्तन भने प्रदर्शनकै आधारमा गरेको हो।

चोटका कारण श्रीलंकाका दुश्मन्था चामिरा र वानिन्दु हसरंगाले प्रतियोगिता गुमाउँदा श्रीलंका तुलनात्मक रूपमा दबाबमा छ।

 

भदौ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्