काठमाडौं- संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई उनका दुई छोराले दागबत्ती दिएका छन्।

७१ वर्षको उमेरमा मंगलबार राति करिब १ बजे निधन भएका नेमवाङको पार्थिव शरीरलाई उनका छोरा मिङ्सो र सुहाङले दागबत्ती दिएका हुन्।

पशुपति आर्यघाटमा नेम्बाङलाई अन्तिम श्रद्धाञ्जलि दिनेको भीड छ। उनलाई प्रधानमन्त्रीदेखि शीर्ष दलका शीर्ष नेताहरूले श्रद्धाञ्जलि दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले आर्यघाटमा राष्ट्रिय झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गरे। यसैगरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन्।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विशिष्ट व्यक्तिहरुले नेम्वाङलाई श्रद्धाञ्जलि व्यक्त गरे। श्रद्धाञ्जलिको क्रम जारी छ। राजकीय सम्मानका साथ अन्त्येष्टिका लागि नेम्वाङको निवास बालुवाटारबाट शवयात्रा आर्यघाट ल्याइएको थियो।

नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न आर्यघाटमा एमालेका शीर्ष नेता, सांसद्, कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारणको बाक्लो सहभागिता रहेको छ।

यही भदौ २६ गते हृदयाघातका कारण निधन भएका नेम्वाङको अन्त्येष्टि हुने दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ।

थप तस्बिरहरू: