स्याँडावासीको चोखे पर्व (फोटो फिचर)

सिमकोट – सिमकोट गाउँपालिका– ८ को घना बस्ती भएको स्याँडा गाउँवासीले यस वर्षको चोखे पर्व धुमधामसाथ मनाएका छन्। घरमा जन्मेको जेठो छोराको नाममा हिल्सा देवतालाई चोखे चढाएर पर्व मनाइएको हो।

यस वर्ष चोखे पर्व निकै रमाइलो गर्दै मनाउने कार्य भएको वडा अध्यक्ष कमल बुढाले बताए। यो पर्व जनजाति (ब्यासी ) समुदायको बसोवास हुँदै आएको स्याँडा र अदानचुली गाउँपालिका– ६ को पाल्स गाउँमा बिशेष पर्वका रुपमा मनाउने गरिन्छ।

बुढाले तीन सयभन्दा बढी घरधुरी रहेको स्याँडा गाउँमा प्रत्येक घरमा जन्मेको जेठो छोराको नाममा देवतालाई बलि चढाएर परिवारका सदस्यले राम्रो होस भन्ने कामना गरिन्छ। पहिलो जन्मेको सन्तान प्रति कसैको आँखा नलागोस भने पनि चोखे चढाउने गरिएको हो। यसवर्ष गाउँभरि गरि एक जनाको मात्र चोखे चढाइएको छ। जबकि गत वर्ष तेह्र जनाको चोखे चढाइएको थियो।

स्याँडाको बस्ती बसेदेखि चोखे पर्व मनाउने गरिदै आएको छ। घर परिवारले चोखे चढाएबापत आफन्तहरुले उवा र कोदोको जाँडलाई सगुनका रुपमा ल्याउने गरिन्छ भने त्यसरी सगुन ल्याउनेलाई चोखे चढाउन परिवारले एक जोर कपडा दिने गरिन्छ।

त्यसैगरी चोखे चढाउने परिवारले छोराको मावलीतर्फ सबै परिवारलाई टाउमा पद्दनी बेर्नुपर्ने हुन्छ। तीन दिनसम्म यो पर्व धुमधामका साथ मनाउने गरिन्छ। देवताको पुजाआजा पछि पुरुष दुई जोडी मिलेर प्रतिश्प्रधात्मक रुपमा फुर्का खेल्ने गरिन्छ।

युवायुवती मिलेर रातभरि देउडा गाएर नाच्ने गर्छन्। चोखे पर्वको अवसरमा गाउँवाहिर रहेका पर्व मनाउन गाउँ आउने गर्छन भने अन्य छिमेकी गाउँबाट पनि पर्वको रमाइलो हेर्न आउँछन्।

 

 

भदौ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्