सिमकोट – हिमाली जिल्ला हुम्लामा ५९ औँ बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। विद्यार्थीको प्रतिभा प्रस्फुटन हुने गरी हाजिरी, लोक नृत्य र वक्तृत्वकला प्रतियोगिता गरी दिवस मनाइएको हो।

कार्यक्रमअन्तर्गत लोकनृत्य प्रतियोगितामा सिमकोट गाउँपालिका–६ को मानसरोवर माध्यमिक विद्यालय प्रथम भएको छ।

गाउँपालिकाको माध्यमिक विद्यालयस्तरीय प्रतियोगितामा सात विद्यालयलाई पराजित गर्दै मानसरोवर मावि प्रथम भएको हो। ५९ औं बाल दिवसको अवसरमा माविस्तरीय लोकनृत्य प्रतियोगितामा मानसरोवर माविले ८५ दशमलव ७२ अंक ल्याएर प्रथम भएको थियो।

त्यसैगरी बालमन्दिर माविले ८५ दशमलव १६ अङ्क ल्याएर दोस्रो भएको छ भने कैलाश माविले ८३ अङ्क ल्याएर तृतीय भएको हो।

प्रतियोगितामा विजेता छात्रछात्राले पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः दश हजार, आठ हजार र पाँच हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो।

प्रतियोगितामा सात वटा माविको सहभागिता थियो। प्रतियोगिता सिमकोट गाउँपालिकाको प्रायोजन र बालमन्दिर माविको आयोजनामा सञ्चालन भएको हो।

यता विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगितामा कर्णाली माविकी छात्रा सम्झना शाही ७३ दशमलव ६६ अंक ल्याएर पहिलो भएकी दिइन् भने बालमन्दिर माविकी छात्रा प्रेक्षा बोहरा ७२ दशमलव ३३ अंक ल्याएर द्वितीय भएकी थिइन्।

त्यस्तै, मानसरोवर माविकी छात्रा छेवाङ साङ्मो लामा तृतीय भएकी थिइन्। उनीहरुलाई नगद पुरस्कार क्रमशः चार हजार, तीन हजार र दुई हजार रुपैयाँ प्रदान गरिएको थियो।

यो प्रतियोगितामा सात वटा विद्यालयको सहभागिता थियो। त्यसैगरी हाजिरीजवाफ प्रतियोगितामा सनसाइन बोर्डिङ स्कुल पहिलो भएको थियो भने भीमसेन आवि द्वितीय र सैपाल मावि तृतीय भएका थिए।

उक्त प्रतियोगितामा पुरस्कार क्रमश सात हजार, पाँच हजार तीन हजार प्रदान गरिएको थियो।

सिमकोट गाउँपालिकाक अध्यक्ष बिजय भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा उपाध्यक्ष सुशीला रोकाया, सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदी, प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराई, नेपाली कांग्रेसका उपसभापति वसन्त रोकाया, एमाले उपाध्यष डबल रावत, राप्रपा अध्यष विकास महतलगायत सहभागी थिए।

 

भदौ २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्