‘तीजः विकृति न्यूनीकरण गर्नुपर्छ’

टीकापुर(कैलाली) – हरितालिका तीज नजिकिएपछि तीज मिलन कार्यक्रम भइरहेका छन्। महिलासँग सम्बन्धित सङ्घसंस्थाले तीजको अवसरमा विभिन्न कार्यक्रम गर्न थालेका छन्। यस वर्षको तीजपर्व असोज १ गते मनाइने भएको छ।
तीज नजिकिएपछि ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय टीकापुरले तीज मिलन कार्यक्रम गरेको छ। कार्यक्रममा बोल्ने वक्ताले तीज पर्वका अवसरमा पर्व मनाउने बहानामा समाजमा देखिएको विकृति न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका छन्। महिलाले दर खाने र तीज मनाउने परम्परा गलत बन्दै गएकामा चिन्ता व्यक्त गरेका छन्।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले विगतमा व्रत बस्दा शिव भगवान्को आराधना गरी मनाइने पर्व आजभोलि बदलिएको बताए। “तीजमा मौलिकता छैन, विगतमा गाइने मौलिक गीत सुन्न पाइँदैन”, उनले भने, “तीज पर्वमा परिस्कृतका नाममा पर्वको मौलिकता र संस्कृति हराउँदै जान थालेको छ, तीज भनेको नाच्ने, गाउने र रमाउने मात्र होइन।”
उनले महिलाको पहिरनमा भने सुधार आएको बताए। “विगतमा महँगा लुगा र गहना लगाइन्थ्यो, त्यो भने सुधार भएको छ”, उनी भन्छन्, “अहिले बजारमा सस्ता सारी र तयारी गहनाले खर्च भने व्यवस्थापन भएको छ।”
टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रञ्जु आचार्यले नागरिकले अवलम्बन गरेको संस्कृति समाजअनुसार परिस्कृत हुँदै गएको र परिस्कृति हुनु सकारात्मक भए पनि संस्कृति भुल्न नहुने बताए।
“तीजलाई मनबाट अपनाउन आवश्यक छ, हामीले संस्कृति मनाउँदा मौलिकता भुल्न हुँदैन”, उनी भन्छन्, “पर्व मनाउँदा संस्कृतिमा भएका राम्रा अभ्यास जोगाउने, गलत अभ्यास हटाउँदै जानुपर्छ।”
महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शोमा शर्मा ज्ञवालीले पछिल्लो समय टोल–टोलमा घर–घरमा मनाइने तीज र दर कार्यक्रमले मौलिकता तथा संस्कृति जोगाउनुपर्ने बताए।
“यसरी घर–घरमा दर खाने कार्यक्रम गरिरहँदा सभ्यता र संस्कृतिबारे चिन्ता गर्नुपर्छ”, उनले भने, “सधैँ घरकै काममा व्यस्त हुने महिलालाई तीजले आफ्ना लागि समय दिन सिकाउँछ। महिलालाई पनि मनोरञ्जन चाहिन्छ।”
प्राध्यापक कलावती स्वाँरले समाजमा तीजका नाममा देखिएको विकृतिले डर लागिरहेको बताए। स्वाँरले सामाजिक सञ्जालमा देखिएका दर खाने र तीज मनाउने परम्परा गलत भएकाले महिला सचेत हुनुपर्नेमा जोड दिए।
“अहिले महिलाले दरका बहनामा खाएको, तीजमा नाचेका दृश्य डरलाग्दा छन्”, उनी भन्छन्, “यसमा सुधार आवश्यक छ, यही तवरले मनाइयो भने विकृति भित्रिने डर बढेको छ।”
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका सञ्चालिका सीता तिमिल्सिनाले हरिको तालमा नाच्ने भएकाले हरितालिका तीज भनिएको बताए।
“हरि भनेको सबैको दुःख हरण गर्ने भगवान् भएकाले हरिको तालमा नाच्ने हुँदा हरितालिका भनिएको हो”, उनी भन्छन्, “तीज धेरै दिन मनाउनु अनर्थ होइन, तीज मनाउनु राम्रो हो, तर कसरी मनाउँदैछौँ भनी ध्यान दिनुपर्छ, संस्कृति संरक्षण, अनुशासन चाहिन्छ।”
समाजसेवी राधा रावलले तीजमा बुहारी माइत जाने, छोरी घर आउने हुनाले उमेर पाको भएका बुवाआमा छोरीका लागि दर जुटाउन व्यस्त रहने यो समयले आत्मीयता र सौहार्दता बढाउनुपर्ने बताए। “यो पर्वले आत्मीयता बढाउँछ, पर्वमा भएका सकारात्मक पक्ष र सन्देशलाई आत्मसात् गर्नुपर्छ”, उनी भन्छन्, “दरका बहनामा खर्च गर्ने, देखासिकी गर्ने राम्रो होइन।”
भदौ ३०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्