भाद्रशुक्लपञ्चमीलाई ऋषिपञ्चमी पनि भन्छन् । यस पञ्चमीमा रजोदर्शन (रजस्वला) भैसकेका नारीहरूले व्रत बसेर सप्तर्षिको पूजा गर्छन् । यो व्रत पुरुषले पनि गरे राम्रै हुन्छ (द्रष्टव्य– वैदिक धर्म मूल रूपमा, शिवराज आचार्य, २०६२, पृ.७१४) तापनि मुख्य रूपमा यो व्रत नारीहरूका निम्ति नै हो भन्ने देखिन्छ । यस व्रतमा चारै वर्णका नारीको अधिकार हुन्छ । वेद-पुराणहरूको भनाइअनुसार इन्द्रलाई लागेको ब्रह्महत्याको पापको एक (चौथाइ) भाग बोक्न परेकाले रजस्वला हुने गरेका नारीहरू रजस्वला भएका अवस्थामा अस्पृश्य हुने (छुन नहुने) मानिएका छन् । वेद-पुराणहरूका कथा प्रतीकात्मक हुन्छन् । त्यहाँ विधान गरेका कुरालाई रोचक र प्रभावकारी ढङ्गबाट प्रस्तुत गर्न तथा त्यो कर्म गर्ने प्रेरणा दिन पनि कथाको आश्रय लिइएको हुन्छ । साथै कतै निषिद्ध कर्मबाट मान्छेलाई निवृत्त गराउन पनि कथाले प्रेरणा दिएको पाइन्छ । तसर्थ तिनको तात्पर्य बुझेर तदनुसार शिक्षा लिएर कर्म गर्न उचित हुन्छ । रजस्वला हुँदा पालन गर्नुपर्ने नियमहरू त वेदमा र आयुर्वेदमा समेत स्पष्ट रूपमा नै बताइएकाले तिनको धार्मिक, आध्यात्मिक तथा स्वास्थ्यका दृष्टिले समेत महत्त्व रहेको देखिन्छ । त्यसैले यस अवस्थामा यथासम्भव विधिपूर्वक शास्त्रीय नियमहरूको पालन गर्ने काम पति, पत्नी र भावी सन्ततिका निम्ति पनि विविध दृष्टिकोणले कल्याणकारी हुन्छ । असल सन्तति प्राप्त गर्न पनि रजस्वला भएदेखि नै सावधानीका साथ शास्त्रनिर्दिष्ट विधि र निषेधहरूको अनुसरण गर्नुपर्ने कुरा शास्त्रमै उल्लिखित छ। प्राच्य परम्परामा र ऋषि-मुनिहरूका ज्ञान-विज्ञानमा पूर्णतया श्रद्धा  र विश्वास भएकाहरूका निम्ति यी विषयहरू मननीय र अनुसरणीय हुन सक्छन् । त्यसैले यस लेखमा ऋषिपञ्चमीको र रजस्वला हुँदा गर्नुपर्ने व्रतको अर्थात् नियमपालनको सङ्क्षेपमा चर्चा गर्न खोजिएको छ ।

 ऋषिपञ्चमीव्रत

ऋषिपञ्चमीको व्रत गर्नाले रजस्वला भएका वेलामा अज्ञानले वा भुलचुकले घरका उपकरणहरू छुनाले उत्पन्न भएको पाप कटनी भै नारीहरूको आध्यात्मिक, आधिदैविक र आधिभौतिक तीनै प्रकारका दुःख छुट्ने, रूप-लावण्य बढ्ने, सौभाग्य (पतिको गहिरो प्रेम) बढ्ने, छोरानातिहरू हुने, सबै प्रकारको कल्याण हुने, सम्पत्ति बढ्ने, आपत्तिहरू टर्ने र परत्रमा पनि सद्गति हुने इत्यादि कुरा हेमाद्रिले रचना गरेको चतुर्वर्गचिन्तामणि-नामक धर्मशास्त्र-निबन्धग्रन्थका व्रतखण्डमा उद्धृत ब्रह्माण्डपुराणका वचनहरूबाट देखिन्छ–

नभस्ये शुक्लपक्षे तु यदा भवति पञ्चमी ।
नद्यादिषु तदा स्नानं कृत्वा नियममेव च ।।
विधाय नित्यकर्माणि गत्वा द्वारवतीमृषीन् ।
स्नापयेद् विधिवद् भक्त्या पञ्चामृतरसैः शुभैः ।। …

कुरुते या व्रतं चैतत् सा नारी सुखभागिनी ।
रूपलावण्यसंयुक्ता पुत्रपौत्रादिसंयुता ।।
इह लोके सदैव स्यात् परत्राऽप्यक्षया गतिः ।
व्रतस्याऽस्य प्रभावेण जातिं स्मरति पौर्विकीम् ।। (पृ. ५७१–५७२)

यो व्रत गर्दा व्रतका दिन प्रातःस्नान आदि पूर्वाह्णका कृत्य सम्पन्न गरेर मध्याह्नका समयमा नदी, तलाउ इत्यादि जलाशयमा गई हातगोडा धोएर मन्त्रोच्चारणपूर्वक अपामार्गका चार औँला बराबरका १०८ अथवा ७ अथवा १ दतिवन लिई त्यसैले मन्त्रोच्चारणपूर्वक दाँत माझेर पैले माटो लगाई नुहाएर पछि तिलका र अमलाका बुकुवाले कपाल नुहाई चोखा नयाँ धोती-उपर्ना पहिरिएर घर गई अग्निहोत्रगृहमा वा घरका कुनै शुद्ध स्थलमा रेखी हाली सर्वतोभद्रमण्डलमा जलपूर्ण घट राखेर त्यसमाथि जौले भोरिएको चाँदीको वा तामाको वा बाँसको वा माटाको पात्र राखी त्यसमाथि शुद्ध नवीन वस्त्र ओच्छ्याई त्यहाँ अष्टदलकमल लेखी त्यसमा अरुन्धतीसहित सप्तर्षिको (विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम, वसिष्ठ, कश्यप र अत्रि ऋषिको) सुनका वा चाँदीका वा कुशका प्रतिमा राखी पूजा गर्ने; कथा सुन्ने, अन्त्यमा पूजित देवता-ऋषिहरूको विसर्जन गरी उक्त ऋषिप्रतिमासहित घडा ब्राह्मणलाई दान दिने; त्यसपछि साग, नाबो धानको वा सामाको भात, कन्द-मूल-फलहरू खाने, हलाले जोतेर उब्जाएको अन्न नखाने; यस प्रकारको व्रत सात वर्षसम्म गर्ने र उद्यापन गर्ने विधान मुख्य रूपमा नित्यानन्द पर्वतीय तथा उनका शिष्य गोपाल शास्त्री नेनेले वर्षकृत्यदीपकमा उद्धृत गरेका भविष्यपुराणका भनिएका वचनहरुबाट देखिन्छ (चौखम्बा संस्कृत सिरीज अफिस, वाराणसी, वि.सं. १९८९, पृ.२१८–२२०) ।

भविष्योत्तरपुराणको भनी उद्धृत गरिएका कथामा र पद्मपुराणमा त अपामार्गका एउटै समिधाले दाँत माझ्ने कुरा उल्लिखित छ । भविष्योत्तरपुराणको भनी उद्धृत कथामा पनि सात वर्ष व्रत गरेर उद्यापन गर्ने कुरा छ (श्लो.५०) । लोकमा भने रजस्वला भएदेखि थालेर रजस्वला हुन छोडेपछि पनि १२ वर्षसम्म व्रत गरेर उद्यापन गर्ने चलन देखिन्छ । त्यो चलन कसरी चल्यो विचार गर्नुपर्ने देखिन्छ ।

सरकारी पाठ्यपुस्तकका रूपमा लेखिएका पाठ्यक्रम-विकास-केन्द्रले छापेका कर्मकाण्डका पुस्तकहरूमा धेरै प्रकारका अशुद्धि देखिएका छन् । त्यहाँ र चल्तीका नेपाली वर्षकृत्यका पद्धतिहरूमा पनि ऋषिपञ्चमीको व्रत गर्ने नारीहरूले ऋषिपञ्चमीका दिन ३६० ओटा दतिवनले दाँत माझ्ने, ३६० पल्ट कुल्ला गर्ने, ३६० पल्ट माटो लाएर नुहाउने, ३६० अपामार्गपत्र चाल्नामा राखी त्यो चाल्नो शिरमा राखेर ती अपामार्गपत्रमाथि खन्याइएका पानीले टाउको समेतको शरीर नुहाउने इत्यादि अशास्त्रीय झञ्झट लगाउने कुरा लेखिएका छन् । एकै दिनमा ३६० ओटा दतिवनले दाँत माझ्ने इत्यादि काम सुसङ्गत देखिँदैनन् । ती पद्धति शास्त्र केलाउन नसक्ने गतानुगतिक साधारण पण्डित-पुरोहितहरूले मनगढन्ते किसिमले चलाएका पद्धति हुन् भन्ने स्पष्ट हुन्छ । कुनै पनि प्रामाणिक आर्षग्रन्थमा वा धर्मशास्त्र-निबन्धमा त्यस्तो विधान देखिएको छैन । सरकारी रेडियोले र अरू रेडियो-पत्रपत्रिकाहरूले पनि यो व्रत तिजपर्वअन्तर्गत भएको कुरा प्रचारित गर्ने गरेका छन् । तथापि शास्त्रअनुसार यस पर्वको तिजपर्वसित केही सम्बन्ध देखिँदैन (वैदिक धर्म मूल रूपमा, पृ.७१६) ।

 रजस्वलाव्रत

रजस्वला, रजोवती, पुष्पवती, ऋतुमती, आत्रेयी इत्यादि शब्दहरूले रजोयुक्त अर्थात् गर्भाशयबाट रजप्रवाह भैरहेकी गर्भधारण गर्न योग्य नारीलाई बुझाइएको छ । प्रतिमहिना रजस्वला भएका अवस्थामा नारी अशुद्ध हुने र तीन दिनसम्म अलग्गै बस्नुपर्ने वैदिक नियम भएकाले नेपाली समाजमा रजस्वला भएकालाई पर सरेको, पन्छिएको, नछुने भएको, कुना पसेको इत्यादि शब्दले पनि बुझाउने गरिन्छ । रजस्वला हुँदा दूषित रज प्रवाहित हुने भएकाले त्यस अवधिमा अलग्गै बस्ने-सुत्ने व्यवस्था भौतिक दृष्टिले पनि गरिएको बुझिन्छ । यसरी दूषित रज बगेर पाठेघर शुद्ध भएपछि मात्र गर्भाधान गरेर असल सन्तान जन्माउन सकिने कुरा शास्त्रमा बताइएको छ । आयुर्वेदमा पनि यस विषयमा विस्तृत रूपमा चर्चा गरिएको पाइन्छ । महान् विचारक नीतिशास्त्रविद् चाणक्यले पनि मासिक धर्मले नारीको शारीरिक शुद्धि हुन्छ भनेका छन्

भस्मना शुध्यते कांस्यं ताम्रमम्लेन शुध्यति।
रजसा शुध्यते नारी नदी वेगेन शुध्यति।।६।३।।

 अर्थात्–काँसको भाँडो खरानीले माझेपछि शुद्ध हुन्छ, तामाको भाँडो अमिलाले माझेपछि शुद्ध हुन्छ, रजको निष्क्रमणले रजस्वलाकोअवधि बितेपछि नारी शुद्ध हुन्छे, नदी वेगले बगेपछि शुद्ध हुन्छ।

दूषित रज बगेर पाठेघर शुद्ध भएपछि मात्र गर्भाधान गरेर असल सन्तान जन्माउन सकिने कुरा शास्त्रमा बताइएको छ। आयुर्वेदमा पनि यस विषयमा विस्तृत रूपमा चर्चा गरिएको पाइन्छ । 

वैदिक शास्त्रमा पनि मासिक धर्म भएका वेलामा अलग  बस्ने निर्देश दिइएको पाइन्छ। रजस्वला बार्ने चलन पछिपछि चलाइएको हो, वेदमा त त्यस्तो कुरा थिएन भनेर पनि कोहीकोही भन्छन् । तर त्यो कुरा सत्य हैन । वैदिक सनातन हिन्दु धर्मको मूल शास्त्र वेदमा नै रजस्वलाव्रतको विधिअर्थात् रजस्वला हुँदा पालन गर्नुपर्ने विशेष नियम दिइएका छन् ।  शुक्लयजुर्वेदको शतपथब्राह्मणमा यस्तो उल्लेख छ–

अथ यस्य जायामार्तवं विन्देत् त्र्यहं कंसेन पिबेदहतवासा नैनां वृषलो न वृषल्युपहन्यात् त्रिरात्रान्त आप्लूय व्रीहीनवघातयेत् ।।१४।९।४।१२।।(बृहदारण्योपनिषद् ६।४।१३)

अर्थात्–जसकी पत्नी रजस्वला भएकी छ, त्यसले (पत्नीले) तीन दिनसम्म काँसको भाँडामा नखाओस् । उसलाई कुनै नीच पुरुष वा स्त्रीले समेत नछोओस् । तीन दिनको व्रत समाप्त भएपछि अर्थात् तीन दिन बितेपछि चौथो दिन स्नान गरेर धोए-पछारेको चोखो वस्त्र लगाएकी उसलाई धान कुट्न लगाओस् ।

 यसबाट नारी रजोदर्शनदेखि तीन रातसम्म छुट्टै बस्नुपर्ने,उसलाई छुन नहुने, उसित सम्भोग गर्न नहुने इत्यादि नियमको पालन गर्नुपर्ने कुरा वेदमा नै बताइएको स्पष्ट हुन्छ ।

 तैत्तिरीयश्रुतिमा पनि कथाका माध्यमले प्रस्तुत विषय अझ स्पष्ट पारिएको छ । मूलको उद्धरण र त्यसको भावार्थ तल प्रस्तुत गरिन्छ–

१. विश्वरूपो वै त्वाष्ट्रः पुरोहितो देवानामासीत् स्वस्रीयोऽसुराणां तस्य त्रीणि शीर्षाण्यासन्त्सोमपानं सुरापानमन्नादनं स प्रत्यक्षं देवेभ्यो भागमवदत् परोक्षमसुरेभ्यः सर्वस्मै वै प्रत्यक्षं भागं वदन्ति यस्मा एव परोक्षं वदन्ति तस्य भाग उदितस् तस्मादिन्द्रोऽबिभेदीदृङ् वै राष्ट्रं वि पर्यावर्तयतीति तस्य वज्रमादाय शीर्षाण्यच्छिनद् यत् सोमपानम्

२. आसीत् स कपिञ्जलोऽभवत् यत् सुरापानं स कलविङ्को यदन्नादनं स तित्तिरिस्तस्याञ्जलिना ब्रह्महत्यामुपागृह्णात् तां संवत्सरमबिभस्तं भूतान्यभ्यक्रोशन् ब्रह्महन्निति स पृथिवीमुपासीददस्यै ब्रह्महत्यायै तृतीयं प्रति गृहाणेति साब्रवीद् वरं वृणै खातात् पराभविष्यन्ती मन्ये ततो मा परा भूवमिति पुरा ते

३. संवत्सरादपि रोहादित्यब्रवीत् तस्मात् पुरा संवत्सरात् पृथिव्यै खातमपि रोहति वारेवृतं ह्यस्यै तृतीयं ब्रह्महत्यायै प्रत्यगृह्णात् तत् स्वकृतमिरिणमभवत् तस्मादाहिताग्निःश्रद्धादेवः स्वकृत इरिणे नाव स्येद् ब्रह्महत्यायै ह्येष वर्णः स वनस्पतीनुपासीददस्यै ब्रह्महत्यायै तृतीयं प्रतिगृह्णीतेति तेऽब्रुवन् वरं वृणामहै वृक्णात्

४. पराभविष्यन्तो मन्यामहे ततो मा परा भूमेत्याव्रश्चनाद् वो भूयांस उत्तिष्ठानित्यब्रवीत् तस्मादाव्रश्चनाद् वृक्षाणां भूयांस उत्तिष्ठन्ति वारेवृतंह्येषां तृतीयं ब्रह्महत्यायै प्रत्यगृह्णन्त्स निर्यासोऽभवत् तस्मान् निर्यासस्य नाश्यं ब्रह्महत्यायै ह्येष वर्णोऽथो खलु य एव लोहितो यो वाऽऽव्रश्चनान् निर्येषति तस्य नाऽऽश्यम्

५. काममन्यस्य स स्त्रीषंसादमुपासीददस्यै ब्रह्महत्यायै तृतीयं प्रति गृह्णीतेति ता अब्रुवन् वरं वृणामहा ऋत्वियात् प्रजां विन्दामहै काममा विजनितोः सम्भवामेति तस्मादृत्वियात् स्त्रियः प्रजां विन्दन्ते काममा विजनितोः सम्भवन्ति वारेवृतंह्यासां तृतीयं ब्रह्महत्यायै प्रत्यगृह्णन्त्सा मलवद्वासा अभवत् तस्मान् मलवद्वाससा न सं वदेत

६. न सहाऽऽसीत नास्या अन्नमद्याद् ब्रह्महत्यायै ह्येषा वर्णं प्रतिमुच्याऽऽस्तेऽथो खल्वाहुरभ्यञ्जनं वाव स्त्रिया अन्नमभ्यञ्जनमेव न प्रतिगृह्यं काममन्यदिति यां मलवद्वाससं सम्भवन्ति यस्ततो जायते सोऽभिशस्तो यामरण्ये तस्यै स्तेनो यां पराचीं तस्यै ह्रीतमुख्यपगल्भो या स्नाति तस्या अप्सु मारुको या

७. अभ्यङ्क्ते तस्यै दुश्चर्मा या प्रलिखते तस्यै खलतिरपमारी याऽऽङ्क्ते तस्यै काणो या दतो धावते तस्यै श्यावदन् या नखानि निकृन्तते तस्यै कुनखी या कृणत्ति तस्यै क्लीबो या रज्जुं सृजति तस्या उद्बन्धुको या पर्णेन पिबति तस्या उन्मादुको या खर्वेण पिबति तस्यै खर्वस् तिस्रो रात्रीर् व्रतं चरेदञ्जलिना वा पिबेदखर्वेण वा पात्रेण प्रजायै गोपीथाय ॥–कृष्णयजुर्वेद-तैत्तिरीयसंहिता २।५।१

उक्त अंशको नेपाली भावार्थ–

 (१) तीन शिर भएको त्वष्टाको पुत्र विश्वरूपले बिगार गर्ने देखेर वज्र लिएर इन्द्रले विश्वरूपका शिरहरू काटिदिए। तीनोटा शिरमध्ये सोमपान गर्ने शिर (२) कपिञ्जल पक्षी भयो। सुरापान गर्ने शिर कलविङ्क पक्षी भयो। अन्न खानेचाहिँ तित्रो भयो। इन्द्रलाई ब्रह्महत्या लाग्यो, दुर्नाम भयो। पृथिवीसँग गएर ब्रह्महत्याको तीन भागको एक भाग लिइदिन इन्द्रले भने। पृथिवीले तीन भागको एक भाग ब्रह्महत्याको पाप लिइदिएको सट्टा वर मागिन्। (३) वरदानअनुसार पृथिवीमा खाल्टो भएमा वर्षदिन भित्र पुरिने भयो। पृथ्वीले लिएको ब्रह्महत्याको भागचाहिँ मरुभूमि भयो। त्यसपछि इन्द्र वनस्पतिकहाँ गए। उनीहरूले पनि काटिएका ठाउँबाट पलाउने वर मागे। (४) अतः वनस्पति काटिएका ठाउँमा धेरै हाँगा भएर पलाउँछन्। वनस्पतिहरूले लिएको त्यो ब्रह्महत्याको अर्को तेस्रो भाग चोप बन्यो। अतः चोप नखानू भन्ने नियम छ। (५) त्यसपछि इन्द्र नारीहरू भएका ठाउँमा गए।उनीहरूलाई पनि ब्रह्महत्याको अर्को तेस्रो भाग लिइदिन भने। उनीहरूले पनि वर मागे । उनीहरूले सन्तान पाउने हुँदा पनि प्रसवसम्म कामानुसार पुरुषसंयोग गर्न सक्षम होऔँ भन्ने वर मागे। उनीहररूले ब्रह्महत्याको तेस्रो भाग लिएपछि नारीहरू मलवद्वासा=मलयुक्तलुगावाली / रजस्वला (नछुनी) हुने भए। अतः मलवद्वासासँग संवाद नगर्नू , (६) सँगै नबस्नू , तिनको अन्न नखानू , तीन दिनसम्म अलग बस्नू , स्वेच्छाले स्नान नगर्नू , (७) तेल नघस्नू , कपाल नकोर्नू , दाँत नमाझ्नू , नङ नकाट्नू , गाजल नलगाउनू , भित्तामा नकोर्नू, डोरो नबाट्नू , पातले नपिउनू ,माटाका भाँडाले  नपिउनू , धातुका कटौराले र अँजुलीले पिउनू ।

उक्त निषिद्ध कर्म गरेमा विभिन्न दोषले युक्त सन्तान जन्मने कुरा पनि माथिकै श्रुतिवाक्यमा भनिएको छ । यसबाट रजस्वलाव्रतको सम्बन्ध गर्भधारणसित र भावी सन्ततिसित पनि रहने कुरा सुस्पष्ट हुन्छ । स्नान नगर्नू भनेको सरसफाइ पनि नगर्नू भनेको हैन ।

रजस्वला भएर तीन रात बितेपछि सूर्योदयपछि नारीले शुद्धिका लागि टाउको समेत राम्ररी नुहाउन पर्छ, लुगा धुन पर्छ र चोखा लुगा फेर्न पर्छ, अनि पहिल्यै आफ्ना पतिको दर्शन गर्न पर्छ । पति नजिकमा नभए पतिको स्मरण गरेर सूर्यको दर्शन गर्न पर्छ । त्यसरी नुहाएकी नारी रजोनिवृत्ति भएमा चौथो दिनमा शुद्ध हुन्छे । आपस्तम्ब स्मृतिमा पनि रजस्वला चौथो दिनमा शुद्ध हुने कुरा बताइएको छ–

प्रथमेऽहनि चाण्डाली द्वितीये ब्रह्मघातिनी ।
तृतीये रजकी प्रोक्ता चतुर्थेऽहनि शुध्यति ।।७।४।।

तथापि देवकार्य र पितृकार्यका लागि चाहिँ पाँचौँ दिनमा मात्र नारी शुद्ध हुने शास्त्रीय वचन पाइन्छन् । कसैका मतमा भने पितृकार्यका लागि सातौँ दिनमा मात्र रजस्वला नारी शुद्ध हुने व्यवस्था छ । तर माध्यन्दिनीय-वाजसनेयि-शुक्लयजुर्वेदीहरूका स्वशाखावेदका ग्रन्थमा पहिलो मत नै ग्रहण गरिएको बुझिन्छ  । रजोनिवृत्ति हुन ढिलो भएमा मात्र दोस्रो मत ग्राह्य हुने देखिन्छ (द्रष्टव्य– वैदिक धर्म मूल रूपमा, पृ. ४८४) ।

 पहिलो पल्ट रजस्वला हुँदा धेरै दिनसम्म छुट्टै बस्ने नेपालीहरूको चलन छ । त्यो नेवारहरूको १२ दिन गुफा बस्ने चलनका प्रभावले चलेको चलनजस्तो बुझिन्छ । त्यसको आधारभूत शास्त्रवचन कतै देखिएको छैन । वाराणसीमा सोध-खोज गर्दा त्यतातिर त्यसरी धेरै दिन छुट्टै बस्ने चलन नभएको कुरा पाइएको छ । यस विषयमा थप अन्वेषणको खाँचो देखिन्छ ।

उपसंहार

पति र पत्नीको अव्यभिचारी परस्पर अनुरागबाट सन्ततिमा पनि सबै प्रकारले सुप्रभाव पर्ने हुनाले त्यस्तो अनुरागलाई वैदिक शास्त्रमा सारै धेरै महत्त्व दिइएको छ । त्यसैले कन्या अरू पुरुषसित अनुरक्त हुने स्थिति नआउँदै अल्लि सानैमा योग्य वरलाई दिएर तिनीहरूको अव्यभिचारी प्रेम-प्रीति बसाइदिने परम्परा रहिआएको हो । त्यसका अतिरिक्त ऋतुमती भएका अवस्थामा आफ्ना पतिबाहेक अरू पुरुषको भरसक दर्शन पनि नगरी पतिमा अनन्य भक्ति गरेर रजस्वलाव्रतको पालन गरी गर्भधारण गर्नु उत्तम मानिएको छ । यसबाट उत्तम सन्तति जन्मने कुरा शास्त्रमा उल्लिखित देखिन्छ । गर्भाधानभन्दा पहिला पति र पत्नीले पालन गर्नुपर्ने कुराहरूको निर्देशन पनि धर्मशास्त्रमा र आयुर्वेदमा दिइएको छ । यसै सन्दर्भलाई विचार गरेर पनि रजस्वलाव्रतको श्रुति-स्मृति-पुराणहरूमा विधान गरिएको हो भन्ने बुझिन्छ । नारी रजस्वला भएपछि नै प्रजननकार्यको विशेष रूपमा प्रारम्भ हुने हुनाले रजस्वला नारीले विभिन्न नियमको पालन गर्ने व्यवस्था लोककल्याणकारी ऋषि-मुनिहरूले बाँधेका हुन् । संसारभरि जताततै विभिन्न पन्थ र संस्कृतिमा रजस्वलाका केही-न-केही नियमहरू भएकै बुझिन्छन् । यस लेखमा रजस्वलाव्रतको वेदमै उल्लेख भएको कुराको सप्रमाण परिचर्चा गरियो । फेरि अनुकूल पर्दा अर्को लेखमा आयुर्विज्ञानका दृष्टिले र अन्य विविध दृष्टिले रजस्वलाका नियमहरूको थप चर्चा र विवेचना पनि गरिनेछ ।

भदौ ३१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्