सरकारले चोरी–पैठारी नियन्त्रण गर्न सकेनः ओली

फाइल तस्बिर।

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताएका छन्। ओलीले खशी, बोकालगायत वस्तु चोरी पैठारी गर्दा पनि सरकारले नियन्त्रण गर्न नसकेकाले लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताए।

राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले भन्सारबाटै चोरी पैठारी हुँदा पनि सरकारले केही गर्न नसकेको आरोप लगाए।

अध्यक्ष ओलीले मुलुकका लागि विद्युत् पर्याप्त नभए पनि सरकारले पुगेजसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले आफूले पहिलो पटक प्रधानमन्त्री भएका बेला मुलुकलाई आधारभूत रुपमा लोडसेडिङ मुक्त गराएको दाबीसमेत गरे।

अध्यक्ष ओलीले मुलुकलाई अघि बढाउनका लागि वैज्ञानिक खोज तथा अनुसन्धानको विषयलाई विशेष ध्यान दिनुपर्ने बताए।

असोज १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्