लामाचौर भलिबलको उपाधि महिलातर्फ पुलिसको पोल्टामा

पोखरा – लामाचौर भलिबल कप प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्यिन नेपाल पुलिस क्लबले हात पारेको छ।
सोमबार इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा भएको फाइनल खेलमा चन्द्रागिरी न्यु डायमण्ड युथ स्पोर्टस क्लबलाई ३–१ को सेटमा पराजित गर्दैै पुलिसले उपाधि रक्षा गरेको हो।

गत बर्ष भोगेको पराजयको बदला लिएर च्याम्यिन बन्ने दाउमा मैदान छिरेका न्यु डायमण्डका खेलाडीले पहिलो सेटमा २५–१८ को जित निकाले। त्यसपछिका लगातार ३ सेट पोल्टामा पार्दै पुलिसले यसपटक पनि उपाधि जितेको हो।

दोस्रो सेट २५–२२, तेस्रो सेट २५–१४ र चौथो सेटमा २५–२० को जित निकाल्यो।
पुलिसले उपाधिसँगै १ लाख ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। न्यु डायमण्डले १ लाख १११ रुपैयाँमा चित्त बुझाएको छ।

राउण्ड रोबिङको आधारमा खेलाइएको प्रतियोगितामा पुलिसले सहभागी अन्य ३ टोलीलाई पराजित गर्दै लिग च्याम्पियन बनेको थियो। न्यु डायमण्डले २ खेलमा जित र १ खेलमा हार व्यहोरेको थियो। लिग चरणमा पनि पुलिससँग पराजित भएको डायमण्डले लिगको उपविजेता भएर उसैसँग फाइनल भिडन्त गरेको हो। तर, सफल हुन सकेन। २ खेलमा हार र १ खेलमा जित निकालेको एपीएफले तेस्रो हुँदै ५० हजार १११ रुपैयाँ पाएको छ। सहभागी अर्को टोली एभरेष्ट भलिबल क्बलले भने कुनै पनि खेलमा जीत निकाल्न सकेन।

पुरुषतर्फको फाइनल खेल भने २ सेट भएपछि रोकिएको छ। गण्डकी प्रदेश र नेपाल पुलिस क्बलबिच भएको खेल अध्याँरो भएपछि रोकिएको हो। मंगलबार विहान ९ बजे फाइनल खेल हुने आयोजकले जानकारी दिएको छ।

फाइनलका लागि सोमबार भएको पहिलो सेटमा विभागीय टोली पुलिसले २५–१९ को जित निकालेको थियो। दर्शकको भरपूर साथ पाएको गण्डकीले दोस्रो सेटमा पुनरागमन गर्दै २५–२२ को जित हासिल गरेको हो।
सोमबार नै भएको लिगको अन्तिम खेलमा गण्डकीले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराउँदै लिग विजेता बन्दै पुलिससँगको भिडन्त पक्का गरेको हो।

पुलिस र गण्डकीसँगै पुरुषतर्फ सशस्त्र प्रहरी बलको एफीएफ, मणिमुकुन्द भलिबल क्लब र गल्कोट स्पोर्टस क्लब सहभागी थिए। गल्कोट स्पोर्टसले भने जितविहीन भन्दै घर फर्कनुपर्‍यो।

अंक तालिकामा एपीएफ तेस्रो हुँदै ५० हजार १११ रुपैयाँ पक्का गरेको छ। मंगलबार हुने फाइनल खेलको विजेताले १ लाख ५० हजार १११ रुपैयाँ र १ लाख १११ रुपैयाँ प्राप्त गर्नेछ।
नवआदर्श सामुदायिक विकास समाजले आयोजना गरेको तीज महोत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो।

असोज १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्