‘नयाँलाई अवसर र पुरानालाई सम्मान होस् भनी सांस्कृतिक कार्यक्रम गर्न लागेको हो’

निर्देशक एवम् कलाकार प्रभाकरदेव शर्मा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का वरिष्ठ कार्यक्रम प्रमुख तथा वरिष्ठ नाटक प्रबन्धक हुन्। विगत चार दशकदेखि कलाकारिता गर्दै आएका शर्मा भाषा, साहित्य, कला र संस्कृतिको विकास होस् भन्ने हेतुले विभिन्न सांस्कृतिक कार्याक्रम गर्दै आउने गर्छन्। रंगमञ्चमा मुनामदन लिएर बनाइएको नाटकमा मदनको भूमिका सबैभन्दा बढी उनै निर्वाह गरेको दावी गर्ने शर्माल ‘लौ मार्यो’, ‘घात प्रतिघात’, ‘जीवनचक्र’, ‘लौन भुतुक्कै पार्यो’, ‘अपराधी को ?’, ‘आमा’, ‘मेमसाब’, ‘थोरै भए पुगिसरी’, लगायत थुप्रै टेलीश्रृङखलाहरू निर्देशन गरिसकेका छन्। जुन त्यतिबेला दर्शकहरू माझ निकै लोकप्रिय थिए। उनै शर्माको नेतृत्व तथा हिल्स होम थिएटरको प्रस्तूत रहनेगरी यही असोज पाँच गते राष्ट्रिय नाचघर जमलमा वृहत सांस्कृतिक कार्याक्रम ‘हाम्रो कला हाम्रो संस्कृति’ हुँदैछ। त्यसैको तयारीमा लागेका शर्मासँग देशसञ्चारका लागि गरिएको कुराकानीको सम्पादित अंश:

हाम्रो कला हाम्रो संस्कृति कार्यक्रम यही पाँच गते हुँदैछ तयारी कस्तो छ?

तयारी हुँदैछ। हामीले हाम्रो तर्फबाट गर्ने कामहरू लगभग तयारी गरिसकेका छौं। जति सकिन्छ धेरै दर्शक ल्याउने सोंच हो। संस्थानमा रहेर कसरी हुन्छ कला संस्कृतिका लागि काम गर्ने हो। यो कार्यक्रम अघिल्लो वर्ष पनि चलाएका थियौं। त्यसैको निरन्तरता हो।

कार्यक्रमको उद्देश्य के हो?

यसको उद्देश्य भनेको कला संस्कृतिको उत्थान तथा संवद्धन हो। अघिल्लो वर्षहरूमा पनि यस्ता कार्याक्रम हुने गरेको हुँदा त्यसको निरन्तरता पनि हो। हाम्रो कला हाम्रो संस्कतिमार्फत् कलाकारलाई एक ठाउँमा उभ्याउन तथा मञ्च सेयर गर्न वातावरण बनाउँछ। नयाँलाई अवसर र पुरानालाई सम्मान प्रदान गर्दछ।

गायक कलाकारहरू को-को हुनुहुन्छ?

हामीले अहिलेका चर्चित गायक कलाकार अभिनेता प्रकाश सपूतलाई भनेका छौं। उहाँले समय पनि दिनुभएको छ। साथै गायक सत्य-स्वरुप आचार्य हुनुहुन्छ। हास्यकलाकार मदनकृष्ण, मनोज गजुरेल, जितु नेपाल मुन्द्रे, शैलेन्द्र सिम्खडा, माण्डवी त्रिपाठी, राधिका हमाल, दिनेश डिसीले कार्याक्रम चलाउनुहुन्छ ।

चाडबाडको मुखमा कलाकारहरू भेटिनै गाह्रो हुन्छ। त्यस्तो भयो कि?

ओहो अहिले विदेशमा हुने कार्याक्रमले गर्दा गायक कलाकारले नेपालमा हुने कार्याक्रमका लागि समय मिलाउनै सक्नुहुँदो रहेनछ। गायक कलाकारलाई महिनौँसम्मको कार्यक्रम सेड्युल हुँदोरहेछ। हाम्रा गायक कलाकारको लागि त्यो राम्रो कुरा पनि हो। राम्रो कमाइ पनि हुन्छ। तर नेपालमा हुने सांस्कृतिक कार्याक्रमका लागि समय मिलाइदिए हुन्थ्यो भन्ने मेरो व्यक्तिगत अनुरोध पनि हो। र पनि, हामीलाई अहिलेका चर्चित गायक कलाकार प्रकाश सपूत, मदनकृष्ण दाइ, मनोज गजुरेल, गायक सत्य-स्वरूपहरूले समय दिनुभएको छ। उहाँहरूको साथले हामी काम गर्न हौसिएका छौँ।

हाम्रो कला हाम्रो संस्कृति कार्यक्रमका लागि संस्थानकै लगानी हुने छ कि, विभिन्न विज्ञापनदाताहरू पनि सहयोग रहने छ?

ओहो, संस्थानमा यो कार्यक्रमका लागि पैसा कहाँ हुनु? करिब दश लाख माथि लाग्छ यस्ता कार्यक्रम गर्न। अब राज्यले दिन मान्दैन। राज्यले कला संस्कृतिका लागि पैसा नै छैन भन्छ। धन्न, केही विज्ञापनदाताहरूले हामीलाई सहयोग गर्नुभएको छ। केही कर्पोरेट कम्पनीहरुले सहयोग गर्नु भएको छ। मार्केटिङ साथीहरू सहयोग गर्नु भएको छ। फेरि अहिले सहयोगी दाताहरू पनि आर्थिक मन्दीका कारण निराश हुनुहुन्छ। र पनि सहयोग गर्ने बचन दिनुभएको छ।

असोज पाँच गते हुने कार्यक्रममा दर्शकको अपेक्षा कस्तो छ?

यो कार्यक्रम भव्य हुनेछ। सबैको रोजाइमा पर्ने गायक कलाकार हुनुहुन्छ।यस कार्यक्रममार्फत् हामीले पुराना कलाकारलाई सम्मान पनि गर्दै छौं। त्यसैले यस्तो कार्याक्रममा दर्शकको कमी हुँदैन। फेरि बेलुका पाँचदेखि सुरु हुने भएकाले पनि कार्याक्रमा हल भरिन्छ भन्नेमा ढुक्क छौं।

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्