जसपा कोशी प्रदेश उपाध्यक्ष यादवमाथि दुर्ब्यवहार गर्ने तीन जनालाई कारवाही

मोरङ- विराटनगर महानगरपालिकाले जनता समाजवादी पार्टी(जसपा) कोशी प्रदेश उपाध्यक्ष तथा मोरङ अध्यक्ष राजकुमार यादवमाथि भएको दुर्ब्यवहारमा संलग्न तीन जनालाई कारवाही गरेको छ।

महानगरपालिकाले मंगलबार विज्ञप्ती जारी गर्दै जसपाका नेता यादवमाथि दुर्ब्यवहार गर्ने नगर प्रहरी हवल्दार रमेश निरौला भण्डारी, नगर प्रहरी जवान विक्रम श्रेष्ठ र बब्लु केसरीलाई सो सेवाबाट हटाएको जनाएको छ।

गत भदौ २७ गते बुधबार यादव र नगरप्रहरीबीच सिटी सफारी पार्किङको विषयमा भएको झडपसँगै जसपा आन्दोलित भएको थियो।

सो घटनापछि प्रहरी समक्ष दुवै पक्षबीच मिलापत्र समेत भएको थियो। तर, बिहीबारबाट पुनः जसपाले आन्दोलन चर्काएको थियो। सो क्रममा मेयर नागेश कोइरालाले वार्ताका लागि आह्वान गरेका थिए।

आइतबार मेयर कोइरालाको अध्यक्षतामा सम्पन्न दुईपक्षीय वार्तामा जसपाको टोलीले मंगलबारसम्म समस्या समाधान गर्न दुई बुँदे माग राखेको थियो।

यस्तो छ विज्ञप्ति:

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्