शिक्षकहरुलाई शिक्षामन्त्रीको आह्वानः वार्तामा आउनुहोस्, गुनासो समेट्न प्रयत्न गर्छौँ

फाइल फोटो।

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारले प्रयत्न गरिरहेको बताएका छन्।

मंगलबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री राईले शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गर्दै वार्तामार्फत गुनासो समेट्ने प्रयत्न गरिने बताएका हुन्।

शिक्षकहरुको मागका सन्दर्भमा समस्याको निकास खोजिने उनले बताए। उनले ऐन कानूनबिना लोकतन्त्रको अभ्यास नहुने भन्दै संविधानको कार्यान्वयनका लागि शिक्षा ऐन पारित हुनुपर्ने उल्लेख गरे।

राईले संसद्ले छलफल नै गर्न नपाई संसद्‌मा दर्ता मात्रै भएको आधारमा केही सरोकारवाला निकायहरुले आपत्ति जनाएको बताए। उनले संविधान जारी भएको आठ वर्षसम्म पनि विद्यालय शिक्षा ऐन बन्न नसकेको भन्दै ढिलै भए पनि शिक्षा विधेयक संसद्‌मा प्रवेश गरेको बताए।

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्