संसद्‌मा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न तयार छौँः उपप्रधानमन्त्री खड्का

फाइल तस्बिर।

काठमाडौँ – उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको संविधानले परिकल्पना गरेको शिक्षा व्यवस्थाको प्रतिकूल नहुने गरी संसद्‌मा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न सरकार तयार रहेको बताएका छन्।

मंगलबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उनले मुलुकको अर्थतन्त्रले धान्न नसक्ने मागहरु र मुलुकको संविधानले परिकल्पना गरेको शिक्षाको व्यवस्थाको प्रतिकूल नहुने गरी यी दुई कुराबाहेक सबै कुरामा सरकार संसद्‌मा दर्ता भएको विधेयकका बारेमा छलफल गर्न, समाधान निकाल्न तयार रहेको बताएका हुन्।

उनले छलफल र सहकार्यबाट समाधान सबै कुरा समाधान गर्न सकिनेमा जोड दिए। कार्यवाहक प्रधानमन्त्री खड्काले मुलुकको वर्तमान अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा रहेकाले अहिलेको अर्थतन्त्रले धान्न नसक्ने मागलाई सम्बोधन गर्न नसकिने स्पष्ट पारे।

उनले सकरारले शिक्षा क्षेत्रमा रुपान्तरणको आवश्यकता महशुस गरेको बताए। प्राथमिक तहदेखि विद्यालय तहसम्मको भौतिक पूर्वाधार सुधार, पाठ्यक्रम परिमार्जन, अध्ययन, अध्यापनको पद्धतिमा सुधार, परीक्षा प्रणालीको नतिजा व्यवस्थापनमा सुधारका प्रयासहरु भइरहेको उनको भनाइ थियो।

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्