संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुक्योः झलनाथ खनाल

फाइल तस्बिर।

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुकेको बताएका छन्। मंगलबार नेकपा एमालेले आयोजना गरेको ‘सुवास र संविधान’ विषयक कार्यक्रमलाई एमाले पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले संविधान बनाउँदा नेतृत्व वर्ग सचेत भएजस्तो कार्यान्वयनको बेलामा भने हुन नसकेको जिकिर गरे। उनले बहुलजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक देशको रुपमा संविधानमा उल्लेख भएअनुसारको मर्म र भावनालाई जनतासमक्ष बुझाउन नसकिएको स्पष्ट पारे।

उनले संविधानको मर्म र भावनालाई जनतामा बुझाउन नसक्दा अहिले कोशी प्रदेशमा पहिचानको नाममा आन्दोलन भइरहेको बताए। उनले संविधान बनाएर पनि आम जनताको बीचमा राम्रोसँग शिक्षित, प्रशिक्षित गर्न नसक्नु नेतृत्वको कमजोरी भएकाले अब सबैले संविधानको कार्यान्वयन गर्न आवश्यक रहेको बताए।

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्