भारतले पनि निष्काशन गर्‍यो क्यानडाका कूटनीतिज्ञलाई

काठमाडौँ- भारत र क्यानडाबीचको विवाद गहिरिँदै गएको छ।

क्यानडाले सिख मूलका हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि ‘भारत विरोधी गतिविधि’ गरेको भन्दै भारतीय सरकारले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको छ।

सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले एक सिख अभियन्ताको हत्यामा भारतीय संलग्नताको आरोप लगाएका थिए भारतको विदेश मन्त्रालयले क्यानडाको यो आरोप अस्वीकार गरेको थियो ।सोमबार क्यानडाको विदेश मन्त्रालयले निज्जर हत्याको विषयमा अनुसन्धान चल्दै गर्दा भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई पाँच दिनभित्रै देश छाड्नुपर्ने सूचना जारी गरेको थियो ।

क्यानडाको संसद् प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यहाँका सिख नेता हरदीपसिंह निज्जरको हत्याको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएपछि दुई देशबीचको सम्बन्धमा तिक्‍तता बढेको छ ।

क्यानडाको संसद्‌मा ट्रुडोले भनेका थिए‚ ‘हाम्रो देशको जमीनमा क्यानडेली नागरिकको हत्याको पछाडि विदेशी सरकारको संलग्नता हुनु हाम्रा लागि अस्वीकार्य छ । यो हाम्रो सम्प्रभूताको उल्लंघनसमेत हो ।’

उनले हालै सम्पन्न जी-२० सम्मेलनमा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो विषय अवगत गराएको बताएका थिए । उनले यो विषयको उचित अनुसन्धानका लागि भारतमाथि दबाब सिर्जना गर्नेसमेत बताएका छन् ।

जसको जवाफ स्वरूप भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानडाका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराएको छ । निष्कासन गरेका क्यानाडाली कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्नसमेत आदेश दिइएको छ ।

गएको जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियामा सिख पृथकतावादी अभियन्ता हरदीप सिंह निज्जरको हत्या गरिएको थियो । ब्रिटिस कोलम्बियाको सरे सहरमा सिख मन्दिरबाहिर ४५ वर्षीय निज्जरको गोली हानी हत्या गरिएको थियो । भारतको पञ्जाब राज्यलाई टुक्र्याएर एक अलग सिख देश ‘खालिस्तान’ बनाउनुपर्ने माग राख्दै सुरु गरिएको आन्दोलनका निज्जर प्रमुख अभियन्ता भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय अधिकारीले खोजी गरिरहेका निज्जरलाई सन् २०२० जुलाईमा ‘आतंकवादी’ घोषणा गरिएको थियो ।

 

 

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्