भोजपुरका ९२ वर्षीय बलिमान राईले पाए राष्ट्रिय परिचयपत्र

मोरङ – भोजपुरमा एकजना ९२ वर्षीय वृद्धले राष्ट्रिय परिचयपत्र पाएका छन्। जिल्ला प्रशासन कार्यालय भोजपुरले मंगलबार भोजपुर नगरपालिका–१० का ९२ वर्षीय बलिमान राईलाई परिचय पत्र उपलब्ध गराएको हो।

राईलाई भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले राष्ट्रिय परिचय पत्र हस्तन्तरण गरेका थिए। सोही क्रममा राईले परिचय पत्र सहज रुपमा हासिल गर्न पाउँदा खुशी लागेको बताएका थिए।

त्यसैगरि, प्रजिअ घिमिरेले परिचय पत्रको लागि विवरण दर्ता गराउने नागरिकहरुको छपाइ भएर आएको हुँदा वितरण सुरु गरिएको जानकारी दिए। उनका अनुसार डिजिटल कार्डको रुपमा रहेको परिचयपत्रमा नागरिकका उपलब्ध सबै विवरण समावेश रहेको छ।

राष्ट्रिय परिचयपत्रले नागरिकता, लाइसेन्स, फोटोसहितको मतदाता परिचय पत्र र जग्गाधनी पुर्जाजस्ता सामग्री बोकेर हिड्नुपर्ने बाध्यताको अन्त्य हुने बताए।

जिल्ला प्रशासन कार्यालय, भोजपुरमा यसअघि संकलन भएका २४ हजार १५ जनाको विवरणमा हाल ९ हजार ७ सय ७१ जनाको राष्ट्रिय परिचय पत्र तयार भएको उनले बताए। जिप्रकाका अनुसार हालसम्म ७१ हजार १ सय ९३ जानको विवरण संकलन भइसकेको छ। भोजपुरमा २०७७ साल श्रावण १७ गतेबाट राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन सुरु गरिएको हो।

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्