शेखर समूहको बैठकमा सरकारबारे गुनासै गुनासो

काठमाडौँ-  नेपाली कांग्रेसका देउवाइतर नेता डा. शेखर कोइरालाले राखेको बैठकमा सरकारबारे असन्तुष्टि छताछुल्ल पोखिएको छ। त्यस्तै आगामी केन्द्रीय समिति बैठक र महासमिति बैठकलगायत विषयमा पनि छलफल भएको छ।

बैठकबारे जानकारी गराउँदै नेता दिलेन्द्र बडूले भने-  ‘पार्टीलाई थप क्रियाशील पार्ने र आगामी कार्यदिशाबारे छलफल भएको छ ।’

बैठकमा आगामी कांग्रेस केन्द्रीय समिति बैठक र  महासमितिको बैठकबारे पनि छलफल भएको बडूले जानकारी दिए।

उनले पार्टीले एक्लै लडेर पनि आगामी चुनावमा कांग्रेसले बहुमतको सरकार बनाउन सक्ने गरी तयारी गर्नेबारे बैठकमा छलफल भएको जानकारी पनि दिए।

बैठकमा दलको नेता परिवर्तनबारे कुरा नउठेको र सरकारका कामबारे समीक्षा भएको जानकारी पनि उनले गराए। प्रचण्ड नेतृत्वको सरकारबारे असन्तुष्टि पनि बैठकमा छताछुल्ल पोखिएको सहभागी एक नेताले बताए। त्यस्तै कोशी प्रदेशको सरकार पनि न्यायसंगत रुपमा गठन नभएकोबारे पनि बैठकमा छलफल भएको थियो।

बैठकमा कानुनमन्त्री धनराज गुरुङ स्वयं उपस्थित थिए। उनकै उपस्थितिमा सरकारका कामकारबाहीबारे बैठकमा विरोध भएको हो।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय नेता प्रदीप पौडेल अनुपस्थित थिए।

महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरु बद्री पाण्डे, जीवन परियार र नेता मिनेन्द्र रिजाललगायत बैठकमा सहभागी थिए।

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्