राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश नयाँ पुस्तामा पुर्‍याउन आवश्यकः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल। फाइल तस्बिर।

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताएका छन्।

मंगलबार भक्तपुरमा गणेशमान सिंहको प्रतिक अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्। उनले राष्ट्र निर्माणको लागि जीवन समर्पण गर्ने आदर्श त्याग र निष्ठावान नेता गणेशमानको सन्देश वर्तमान र भावि पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताए।

सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नु भन्दासमेत अस्वीकार गरेको राष्ट्रपति पौडेलले स्मरण गरे।  उनले प्रतिकसहितको गणेशमान पार्कले उनको आर्दशपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्‍याउने विश्वास लिएको बताए।

राष्ट्रपति पौडेलले गणेशमानको साथ र समिप्यता आफ्नो राजनीतिक जीवनमा पनि पाएको स्मरण गरे। उनले गणेशमानको समिप्यताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको उल्लेख गरे।

उनले लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाएको बाटोमा हिँड्नसक्नु उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए।

उनले गणेशमानजस्तो महापुरुषको नाममा स्थापना गरिएको १७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्त जीवनशैलीका उपत्यकाबासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्तस्थल बन्नसक्ने बताए। गणेशमान पार्कलाई नेपालमा आउने पर्यटकहरुलाई नेपालको जानैपर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्न पनि उनले आग्रह गरे।

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्