शेखर समूहको बैठकमा कानुनमन्त्री गुरुङले भने- मैले न्यायाधीशमा देउवाले दिएका नाम पारिनँ

काठमाडौँ-  कांग्रेसका देउवाइतरका नेता डा. शेखर कोइरालाले मंगलबार गरेको आफू पक्षका नेताहरुको बैठकमा सरकारको चर्को आलोचना भइरहँदा कानुनमन्त्री धनराज गुरुङले भने आफूले राम्रो काम गरेको दाबी गरेका छन्।

डा. कोइरालाले उनको सम्पर्क कार्यालय विशालनगरमा गरेको बैठकमा प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम नगरेको भन्दै आलोचना भएको थियो। नेताहरुले सरकारका क्रियाकलाप र गतिविधिहरुप्रति असन्तुष्टि प्रकट गरेका थिए।

बैठकमा सहभागी कानुनमन्त्री गुरुङले भने आफूले राम्रो काम गरेको भन्दै करिब ८ वर्षपछि उच्च अदालतमा न्यायाधीश नियुक्त गरेको बताएका थिए। ‘मैले उच्च अदालतमा न्यायाधीश नियुक्ति गरेँ, शेरबहादुर देउवा दाइले दिएको नाम पनि मानिनँ, छानेर सक्षमलाई मात्रै नियुक्ति दिलाउन पहल गरेँ,’ उनले बैठकमा दिएको अभिव्यक्ति उद्धृत गर्दै सहभागी एक नेताले देशसञ्चारसँग भने। उनले देउवाले दिएका नामहरु नराखी सक्षम व्यक्तिलाई मात्र न्यायाधीशमा नियुक्ति दिलाएको बताएका थिए।

बैठकबाट बाहिरिएपछि मन्त्री गुरुङले न्यायाधीशका लागि शेखरले पनि एकपछि अर्को एसएमएस गरेको बताएका थिए। ‘शेखरदाइको पनि नाम सिफारिस गर्दै एसएमएस आएको आयै गर्थ्यो, तर न्यायालयको अडान र धेरैजसो जिल्लाका न्यायाधीशहरु बढुवामा परेकाले यसपालि कसैले नाम घुसाउन पाएन,’ उनले भने।

उच्च अदालतमा करिब ८ वर्षपछि २७ जना न्यायाधीशहरु नियुक्त भएका छन् भने २३ जना न्यायाधीशको पद अझै खालि छ।

नियुक्तिमा परेका एक जना न्यायाधीशले यसपटक सबै नामहरु सक्षम नै परेको र यसमा न्यायालयको अडानले प्रमुख भूमिका खेलेको बताए। शेखर समूहको बैठकमा कानुनमन्त्री गुरुङले एकल जस लिएको भए पनि ती न्यायाधीशले भने प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायालयको अडान र अधिकांश जिल्ला न्यायाधीशहरु परेकाले राजनीतिक नामहरु पर्न नसकेको खुलाए।

देउवाको अवज्ञा गरेको बैठकमा सुनाएका मन्त्री गुरुङले आफ्नो कामको प्रशंसा गरिरहँदा बैठकमा प्रचण्ड सरकारका अन्य मन्त्रीहरुको भने आलोचना भएको थियो। ‘खासगरी अर्थमन्त्री प्रकाशशरण महतको आलोचना भएको थियो,’ सहभागी एक नेताले भने।

उता कोशी प्रदेशमा पनि सरकार बनाउने क्रममा कांग्रेसको क्रियाकलाप अन्यायपूर्ण भएको भन्दै बैठकमा आलोचना भएको थियो।

कांग्रेस केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा डाकिएको शेखर समूहको बैठकमा महासमिति बैठकबारे पनि चर्चा भएको थियो भने पार्टीलाई विधिअनुसार चलाउन जोड दिनुपर्ने कुरा नेताहरुले निकालेका थिए।

मन्त्री धनराज गुरुङसँगै बैठकमा महामन्त्री गगन थापा, सहमन्त्रीहरु बद्री पाण्डे  र जीवन परियार तथा नेता मिनेन्द्र रिजाल सहभागी थिए। अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने बैठकमा सहभागी भएनन्।

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्